शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलसँग संयुक्त राष्ट्रसङ्घका नेपालस्थित आवासीय संयोजक लीला पिटर्स याहियालगायत राष्ट्रसङ्घअन्तर्गतका विभिन्न नियोगका प्रतिनिधिमण्डलले शिष्टाचार भेटवार्ता गरेका छन् ।
सिंहदरबारस्थित मन्त्रालयमा सोमबार भएको भेटमा आपसी सम्बन्ध तथा द्विपक्षीय हितका विषयमा कुराकानी भएको थियो। संयुक्त राष्ट्रसङ्घीय नियोगहरूबाट नेपालको शिक्षा क्षेत्रमा हुँदै आएको सहकार्य र सहयोगका विषयमा पनि छलफल भएको थियो ।
शिक्षामन्त्रीसँगको उक्त भेटमा संयुक्त राष्ट्रसङ्घ बाल कोष (युनिसेफ)का निमित्त देशीय प्रतिनिधि जि हुनरा, विश्व खाद्य कार्यक्रम (डब्लुएफपी), संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (युएनएफपीए), अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आइओएम) लगायत राष्ट्रसङ्घका विभिन्न नियोगका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
भेटमा शिक्षामन्त्री पोखरेलले राष्ट्रसङ्घीय नियोगहरूले शिक्षा क्षेत्रमा पुर्याउँदै आइरहेको साथ र सहयोगका लागि धन्यवाद ज्ञापन गरे।
भेटका क्रममा विशेषगरी युनिसेफले नेपालको समावेशी शिक्षा, ‘इभिडेन्स बेस्ड लर्निङ’, प्रविधिको प्रयोग, दिगो विकास लक्ष्य कार्यान्वयनका लागि समन्वय तथा सहकार्य, साक्षरता र जीवनपर्यन्त सिकाइका क्षेत्रमा गर्दै आएको सहयोगका विषयमा छलफल भएको थियो। आइओएममार्फत विदेशमा रहेका विद्यार्थीहरूको मानसिक स्वास्थ्यजस्ता विषयमा ध्यान दिने सम्बन्धमा पनि उनीहरुबीच कुराकानी भएको थियो ।
त्यसैगरी, विश्व खाद्य कार्यक्रमअन्तर्गत विद्यालय दिवा खाजा कार्यक्रममा पौष्टिक खाजाका लागि स्थानीय कृषकले उत्पादन गरेका सामग्री प्रयोग गर्ने विषयमा छलफल भएको थियो। संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोषले नेपालको वृहत् यौनिक शिक्षा कार्यक्रम तथा ‘डिजिटल लर्निङ’ क्षेत्रमा गरेको कामका साथै, अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठनले सुरक्षित बसाइसराइका क्षेत्रमा पुर्याउँदै आएको सहयोग र भविष्यमा गर्न सकिने सहकार्यका विषयमा समेत केन्द्रित रहेर कुराकानी भएको थियो ।
शिक्षामन्त्री पोखरेलले आगामी दिनमा समावेशी शिक्षा, शिक्षकको पेसागत विकास, शिक्षा, विज्ञान तथा प्रविधिको प्रयोग, डिजिटल लर्निङलगायत क्षेत्रमा थप सहकार्य गर्न मन्त्रालय इच्छुक रहेको बताए।
आवासीय संयोजक याहियाले शिक्षा क्षेत्रमा संयुक्त राष्ट्रसङ्घीय नियोगहरूको प्राथमिकता रहेको उल्लेख गर्दै आगामी दिनमा पनि सहकार्य र सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गरे।
प्रकाशित: २८ वैशाख २०८३ १६:२९ सोमबार





