जबरजस्ती करणी आरोपमा १० वर्ष कैद सजाय सुनाइएका फरार वृद्ध पक्राउ परेका छन्।
४ वर्षदेखि फरार रहेका जिल्लाको त्रियुगा नगरपालिका ७ कौवाईका ७० वर्षीय दिलबहादुर मिरिङचिङ मगर सोमबार राति पक्राउ परेका हुन्।
जबरजस्ती करणी आरोपमा मगरविरुद्धको मुद्दाउपर जिल्ला अदालत उदयपुरले ०७८ चैत १० गते १० वर्ष कैदको फैसला सुनाएको थियो। अदालतले दोषी करार गरे पनि भाग्दै आएका मगरलाई रौतामाई ७ स्थित अस्थायी प्रहरी चौकी संगमचोकको टोलीले हिँडडुल गरिरहेको अवस्थामा पेला पारि नियन्त्रणमा लिएको हो।
राति ८ः२० बजे पक्राउ परेका मगरलाई सदरमुकाम ल्याएर फैसला कार्यान्वयनका लागि मंगलबार बिहान जिल्ला अदालतको जिम्मा दिइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी चिरञ्जीवी थापाले बताए।
अदालतले पनि मगरलाई कैद सजाय भुक्तानका लागि मंगलबारै कारागार चलान गरेको प्रहरीले जनाएको छ।
प्रकाशित: २९ वैशाख २०८३ १३:४३ मंगलबार





