गत वैशाख २५ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दर्ता नं. ६३८४ मार्फत एमएडब्लु समूहविरुद्ध भन्सार छली, भ्याट छली र कर छलीसम्बन्धी लगाइएका आरोपहरू पूर्णतः तथ्य, प्रमाण तथा कानुनी आधारविहीन रहेको समूहले जनाएको छ । उक्त उजुरी प्रधानमन्त्री तथा उनको टिमलाई दिग्भ्रमित पार्ने तथा कम्पनीको व्यापार–व्यवसायलाई जानाजानी क्षति पुर्याउने दुर्भावनापूर्ण उद्देश्यले गरिएको दाबी कम्पनीले गरेको छ।
उजुरीको आधारमा मात्र उद्योगी–व्यवसायीलाई दोषी ठहर गर्ने र मिडिया ट्रायल गर्ने कार्य अनुचित भएको उल्लेख गर्दै यसले व्यवसायीको मनोबल घटाउने तथा लगानी–व्यवसाय वातावरणमा दीर्घकालीन नकारात्मक असर पार्ने चेतावनी दिइएको छ ।
भन्सार छलीको आरोप तथ्यहीन
एमएडब्लु वृद्धि कमर्सियल भेहिकल्स प्रा.लि.ले फोटोन ब्रान्डका इभी सवारीसाधनहरू अन्तर्राष्ट्रिय मान्यताअनुसार सही एचएस कोडमा घोषणा गरी भन्सार कार्यालयबाट जाँचपास गराएर तथा तोकिएको सम्पूर्ण महसुल बुझाएर नियमानुसार आयात गर्दै आएको जनाएको छ ।
आर्थिक वर्ष २०८०/०८१ मा यसरी आयात गरिएका इभीहरूलाई महालेखापरीक्षकको कार्यालयले फरक एचएस कोडमा वर्गीकरण गर्दै बेरुजु देखाएको विषयलाई भन्सार छलीका रूपमा प्रस्तुत गरिएको दाबी समूहले गरेको छ । यसलाई प्रशासनिक बेरुजु मात्रै भएको र फौजदारी अपराधजस्तो रूपमा प्रस्तुत गर्नु गलत भएको उल्लेख गरिएको छ ।
सोही बेरुजुका सम्बन्धमा कम्पनीले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेको र अदालतले २०८२/०५/०८ मा भन्सार कार्यालयको पत्राचार कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश (स्टे अर्डर) जारी गरेको समेत जनाइएको छ । मुद्दा विचाराधीन अवस्थामा रहेको बेला भन्सार छलीको आरोप लगाइनु न्यायिक प्रक्रियामाथिको हस्तक्षेप भएको दाबी गरिएको छ ।
यस्ता प्रकारका बेरुजु समस्याहरू समग्र सवारीसाधन आयातकर्ता उद्योगमै देखिने साझा प्रकृति भएको पनि उल्लेख गरिएको छ ।
मोरङ अटो वर्क्ससम्बन्धी आरोप
वि.सं. २०६७ को प्रतिवेदनसँग जोडिएको भ्याट छलीको आरोपका सम्बन्धमा मोरङ अटो वर्क्सले आन्तरिक राजस्व विभाग र ठूला करदाता कार्यालयको निर्णयअनुसार निर्धारण गरिएको सम्पूर्ण कर, ब्याज र जरिवाना तिरी फछ्र्यौट गरिसकेको तथा कुनै दायित्व बाँकी नरहेको जनाएको छ । साथै, कम्पनी बन्द रहेको भन्ने दाबी पनि असत्य भएको र मोरङ अटो वक्र्स हाल पनि सञ्चालनमै रहेको स्पष्ट गरिएको छ ।
कानून र करप्रति प्रतिबद्धता
एमएडब्लु समूहका सबै कम्पनीहरू नेपालको प्रचलित कानुन र नियामक निकायको नियमनअनुसार सञ्चालन हुँदै आएको जनाउँदै सबै कर दायित्व समयमै बुझाइँदै आएको बताइएको छ । समूह कुनै पनि फौजदारी दायित्व आकर्षित हुने कार्यमा संलग्न नरहेको दाबी गरिएको छ ।
समूह नेपालका सबैभन्दा बढी कर तिर्ने कम्पनीहरूमध्ये एक भएको र विभिन्न सरकारी निकायबाट पटक–पटक सम्मान तथा पुरस्कार प्राप्त गरेको पनि उल्लेख गरिएको छ । आर्थिक वर्ष २०७९/०८० र २०८०/०८१ मा लगातार दुई वर्ष सेवा व्यवसायतर्फ सर्वाधिक आयकर दाखिला गर्ने कम्पनीका रूपमा एमएडब्लु हायर पर्चेज प्रा.लि.लाई आन्तरिक राजस्व कार्यालय, विराटनगरबाट विशेष सम्मान प्राप्त भएको जनाइएको छ ।
एमएडब्लु समूहले देशभर ५ हजारभन्दा बढीलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी प्रदान गर्दै आएको र आर्थिक वर्ष २०८१/८२ मा साढे ११ अर्ब रुपैयाँभन्दा बढी राजस्व राज्यलाई बुझाउँदै आएको समेत उल्लेख गरिएको छ ।
प्रकाशित: २९ वैशाख २०८३ २०:३२ मंगलबार





