प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) संसद् बैठकबाट बाहिरिएको घटनामा जवाफ माग गरेको छ ।
प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेस संसदीय दलको प्रमुख सचेतक बासना थापाले प्रधानमन्त्रीसँग यस विषयमा जवाफ माग गरेकी हुन् । उनले संवैधानिक संस्कार, संसदीय परम्परा, राज्यको उत्तरदायीत्व र सरकारको गम्भीरता हुनुपर्ने बताइन्।
‘यस विषयमा स्पष्ट जवाफ दिइयोस्। यस्ता घटनाको पुनरावृत्ति नहोस्। लोकतन्त्रमा पदभन्दा ठूलो कुरा मर्यादा र मर्यादाभन्दा ठूलो कुरा जनविश्वास हो भन्ने कुरामा ध्यान जओस्,’ उनले भनिन्, ‘प्रतिपक्षी दलको तर्फबाट सम्माननीय प्रधानमन्त्रीज्यूको जवाफको माग गर्दछु ।’
लोकतान्त्रिक संसदीय अभ्यासको इतिहासमा सायद विरलै देखिने दृश्य संसद्मा देखिएको उनको भनाइ थियो ।
‘लोकतान्त्रिक संसदीय अभ्यासको इतिहासमा सायद विरलै देखिने दृश्य हिजो देखियो। राष्ट्रपतिज्यूबाट सरकारकै नीति तथा कार्यक्रम प्रस्तुत भइरहँदा प्रधानमन्त्रीज्यू संसद्बाट बाहिरिनु यो केवल सामान्य दृश्य होइन,’ उनले भनिन् ।
प्रकाशित: २९ वैशाख २०८३ १३:४४ मंगलबार





