१० मंसिर २०८१ सोमबार
image/svg+xml
कला

आञ्चलिकता र नेपाली साहित्य

कुनै निश्चित क्षेत्र विशेषमा केन्द्रित रहेर त्यहाँको प्राकृतिक, सामाजिक तथा सांस्कृतिक मौलिकता एवं विशेषता उजागर गर्ने प्रवृत्ति, सिद्धान्त वा मान्यतालाई ‘आञ्चलिकता’ भनिन्छ। कुनै व्यक्ति आफू जन्मे–हुर्केको, रहे–बसेको ठाउँ र समाजका प्रकृति एवं संस्कृतिबाट प्रभावित हुने गर्छ। कुनै विशेष ठाउँ, जाति, संस्कृति आदिले मान्छेलाई प्रभाव पार्छ। आफ्नो वरपरको पर्यावरण, कुनै जाति, क्षेत्र र संस्कृति विशेषलाई साहित्यमा उतार्न खोज्दा आञ्चलिक साहित्य जन्मिन्छ। आफ्नो जन्मस्थल, जाति, संस्कृतिलाई चिनाउने लहर, गाउँतिर फर्कने स्वच्छन्दतावादी आन्दोलनको प्रभाव, राष्ट्रियता र समाजवादी विचारधारा, पिछडिएको क्षेत्र, वर्गप्रतिको अनुराग आदिका कारण  साहित्यमा आञ्चलिकताले प्रश्रय पाएको देखिन्छ।  

आञ्चलिकता शब्द अंग्रेजी ‘रिजनालिजम्’ शब्दको नेपाली रूपान्तरण हो। यो समाजशास्त्र, राजनीतिशास्त्र, अर्थशास्त्र, साहित्य, कला आदि ज्ञान–विज्ञानका विविध क्षेत्रमा प्रचलित मान्यता वा सिद्धान्त हो। फ्रान्स, इटाली, बेलायत, जर्मन, पोल्यान्ड आदि देशमा केन्द्रीकृत राज्य व्यवस्थाका सट्टा स्थानीय स्वशासनको माग राखी भएका आन्दोलनका पृष्ठभूमिमा जन्मिएको यस शब्दलाई पछि साहित्यमा पनि प्रयोग गर्न थालिएको हो। सबै प्रकारका साहित्यमा स्थानीय रङ अथवा देश, काल, परिवेशको चित्रण हुन्छ, आञ्चलिक साहित्यमा भने यो साधनका रूपमा नभएर साध्यका रूपमा आउँछ। आञ्चलिक साहित्यमा कुनै अञ्चल वा क्षेत्र विशेष नै सिंगो विषयवस्तु हुन्छ। कुनै निश्चित र विशिष्ट अञ्चलको भौगोलिक तथा प्राकृतिक पर्यावरण, इतिहास, जीवनप्रणाली, लोकतत्व, संस्कृति, आर्थिक–राजनीतिक अवस्था, मनोभाव, सौन्दर्य, समस्या, भाषिक विशिष्टता आदिको चित्रण नै मुख्य विषयवस्तु हुने साहित्यलाई आञ्चलिक साहित्य भनिन्छ।  

सामान्य रूपमा क्षेत्रीय, प्रादेशिक र आञ्चलिक शब्दको प्रयोग समानार्थी भए पनि साहित्यिक क्षेत्रमा भने आञ्चलिक शब्द क्षेत्रीय र प्रादेशिकको पर्यायवाची अर्थमा नभएर निश्चित पारिभाषिक अर्थमा प्रयोग हुने गरेको छ। आञ्चलिकताका सन्दर्भमा आउने अञ्चल कुनै सरकार वा समुदायबाट निर्धारित नभई सामाजिक तथा सांस्कृति विशेषताका आधारमा स्वनिर्मित हुन्छ। सरकार वा समुदायद्वारा निर्धारित प्रदेश साहित्यिक प्रयोगको एउटा अञ्चल हुन सक्छ र नहुन पनि सक्छ। साथै यस्ता प्रदेशभित्र धेरैवटा अञ्चल पनि हुन सक्छन्। आञ्चलिक साहित्यका सन्दर्भमा आउने अञ्चल कुनै निश्चित र विशिष्ट भौगोलिक तथा प्राकृतिक अवस्था भएको, आफ्नै इतिहास भएको, विशिष्ट जाति, जनजाति वा विशिष्ट जीवन प्रणाली भएको, विशिष्ट संस्कृति (रहनसहन, प्रथा, चाडपर्व, धर्म, संस्कार आदि) भएको, विशिष्ट आर्थिक तथा राजनीतिक अवस्था भएको, विशिष्ट भाषा र अलग्गै मनोभाव भएको स्थान विशेष हो। 

पहिचानका नाममा भावना, आक्रोश, प्रतिशोध र तात्कालिक प्रतिक्रिया मात्रै व्यक्त गर्ने अनि आञ्चलिकताका नाममा कुनै भूक्षेत्रका खोला, वन, जाति आदिको सामान्य उल्लेखले मात्रै पुग्दैन। अरुले जे उत्पादन गरिरहेका छन्, त्यसैको सस्तो नक्कली माल उत्पादन गरेर ग्राहक झुक्याउन खोज्ने तहमा हामी छौँ। 

अधिकांश आञ्चलिक साहित्य ग्रामीण अञ्चलमा लेखिएका हुँदा सामान्यतः आञ्चलिकता ग्रामीण अञ्चलमा आधारित हुन्छ भन्ने मान्यता स्थापित छ। ग्रामीण अञ्चलमा पुराना परम्परा बाँचिरहेका हुन्छन्। विज्ञानको प्रभाव कम र ढिलो हुन्छ, शिक्षाको राम्रो विकास भएको हुँदैन, अन्धविश्वासहरू बढी हुन्छन्, खास जाति, संस्कृतिको विशिष्टता हुन्छ। सहरी अञ्चलमा कुनै खास जाति, वर्ग, संस्कृतिको प्रतिनिधित्व हुँदैन। बाहिरी जीवनको प्रभावले गर्दा सहरैपिच्छेका अलग आफ्नै मौलिकता र विशिष्टता पाउन कठिन हुन्छ। बाह्य प्रभाव, सूचना र सञ्चारको विकाससँगै सहरी जीवनमा मौलिकता बाँकी रहने अवस्था समाप्त हुँदैछ। त्यसैले आञ्चलिताको उर्वर भूमि ग्रामीण अञ्चल हो। तर, आञ्चलिकतामा सहरी अञ्चल आउनै सक्तैन भन्ने होइन। सहरसँग पनि केही मौलिक विशिष्टता बाँकी रहन सक्छन्। उदाहरणका लागि काठमाडौं उपत्यकाका पुराना बासिन्दासँग त्यस्ता थुप्रै मौलिक विशिष्टता छन्। सहरमा आधुनिक प्रविधिका अधिकांश विषय उही र उस्तै भए पनि त्यसको ऐतिहासिक पक्ष, भौगोलिक पर्यावरण, त्यहाँ बाँकी रहेका सांस्कृतिक आर्थिक विशिष्टतालाई अन्य सहरबाट छुट्ट्याउन सकिन्छ। त्यस्ता विशिष्टताको चित्रणमा केन्द्रित रही त्यसैलाई साहित्यको मुख्य विषयवस्तु र अभीष्ट बनाउँदा सहरिया कथाञ्चलमा पनि आञ्चलिक साहित्य जन्मिन सक्छ।  

आञ्चलिक साहित्य हुनका लागि केही आधारभूत अभिलक्षण छन्: भूगोल तथा प्रकृति, समाज, संस्कृति तथा लोकतत्व, आर्थिक तथा राजनीतिक अवस्था, ऐतिहासिक स्थिति, मनोभाव र सौन्दर्य, भाषा आदिमा रहेको विशिष्टता। एउटा अञ्चललाई अर्को अञ्चलबाट अलग्याएर हेर्ने पहिलो आधार उसको भौगोलिक सीमा र त्यसभित्रको भौगोलिक पर्यावरण नै हो। कुनै अञ्चलको नाम लिनासाथ त्यो अञ्चल भूगोलको कुन ठाउँमा पर्छ र त्यसको सिमानामा अरू कुन कुन अञ्चल छन् भन्ने जिज्ञासा जाग्छ। कुनै पनि अञ्चलको आफ्नो भौगोलिक सिमाना हुन्छ, आफ्ना अलग्गै विशिष्टता हुन्छ। भौगोलिक तथा प्राकृतिक पर्यावरणले त्यहाँको जीवन प्रणाली तथा सांस्कृतिक वातावरणलाई प्रभाव पार्छ। भौगोलिक तथा प्राकृतिक पर्यावरणले मानिसको पेसा, व्यवसाय, उनीहरूको लवाइखवाइ आदिलाई निर्देशित गरिरहेको हुन्छ। मौसम, हावापानी र त्यसले निर्देशित गर्ने पेसा, व्यवसायले मानिसका संस्कार, संस्कृति, उसको चेतनास्तर, आर्थिक उत्पादन प्रणाली, राजनीति र मनोभावलाई समेत निर्देशित गरिरहेको हुन्छ। अञ्चल विशेषमा आफ्नै खाले हावाहुरी, बाढीपहिरो, असिना, जाडो, गर्मीजस्ता हावापानी तथा मौसमसम्बन्धी समस्या हुन्छन्। सर्प, बाघ, भालु, दुम्सी, बाँदरजस्ता जंगली जनावरका कारण कुनै अञ्चलमा मानवीय सुरक्षा तथा खेतीपातीमा समस्या परेको हुन सक्छ। त्यसैले आञ्चलिक साहित्यमा कथ्य अञ्चलको भूगोल तथा प्रकृतिका त्यस्ता विशेषताको चित्रणप्रतिको चासो रहन्छ।  

अलग्गै अञ्चल हुनाका लागि त्यहाँका बासिन्दाको अलग्गै पहिचान आवश्यक हुन्छ। जाति वा जनजातिगत छुट्टै विशिष्टता भएमा कुनै पनि अञ्चल छिमेकी अञ्चलभन्दा विशिष्ट र फरक बन्छ। नेपालमा लिम्बुवान, किरात, ताम्सालिङ, तमुवान, नेवाजस्ता अलगअलग अञ्चलको चर्चा जाति वा जनजातिको विशिष्टता र उनीहरूको विशिष्ट जीवन प्रणालीका आधारमा खडा भएको देखिन्छ। सबै अञ्चलमा त्यस आफैँमा सीमित अलग्गै जाति वा जनजाति हुनैपर्छ भन्ने होइन। कतिपय अञ्चलमा त्यहाँ मात्र सीमित नभएका जाति, जनजाति पनि हुन सक्छन्। यस्ता जातजातिका इतिहास र संस्कृति अञ्चल विशेषको विशिष्टतामा सीमित नहुन सक्छ। र पनि अञ्चल विशेषको भौगोलिक तथा प्राकृतिक पर्यावरण, आर्थिक प्रणाली, अन्य जाति वा जनजातिसँगको सम्पर्क आदिका कारण हरेक अञ्चलमा आफ्नै प्रकारको विशिष्ट सामाजिकता हुन्छ। अञ्चलको विशिष्टताअनुसार सुत्ने, उठ्ने, हिँड्ने, खाने, काम गर्ने, आराम वा मनोरञ्जन गर्ने जस्ता दैनिक जीवनचर्यामा केही न केही भिन्नता र विशिष्टता भइहाल्छ।  

हरेक अञ्चलको अलग्गै संस्कृति हुन्छ। अञ्चलको विशिष्टताअनुसार आफ्नै प्रकारका संस्कार, चालचलन, रीतिथिति, चाडपर्व, उत्सव, जात्रा आदि हुने गर्छन्। विशिष्ट संस्कृतिले नै कुनै अञ्चललाई छिमेकी अञ्चलभन्दा फरक बनाउँछ। अञ्चल विशेषको अलग्गै लोकतत्व पनि हुन्छ। अञ्चल विशेषका आफ्नै लोकविश्वास, लोकरीति, लोकसाहित्य आदि हुने गर्छन्। हरेक अञ्चलको अलग्गै आर्थिक प्रणाली हुन्छ। अञ्चलको विशिष्ट भौगोलिक तथा प्राकृतिक पर्यावरण र संस्कृतिले त्यहाँको उत्पादन प्रणाली निर्धारण गरिरहेको हुन्छ। अञ्चल विशेषको भूमि, जलस्रोत, जंगल, मौसम, हावापानी आदिले मानिसका पेसा, व्यवसायलाई निर्देशित गरिरहेको हुन्छ। साथै, मानिसका सांस्कृतिक मूल्य–मान्यताले पनि मानिसका पेसा, व्यवसायलाई प्रभाव पारिरहेका हुन्छन्। भूगोल, वातावरण र आर्थिक अवस्थाले त्यस अञ्चलको राजनीति समेत विशिष्ट बन्न सक्छ। अञ्चल विशेषको संस्कृति अनुसार पनि राजनीतिलाई क्षेत्रीयता, जातीयता आदिका आधारमा निर्देशित गर्ने अवस्था रहन सक्छ। नेपालमा लिम्बु बाहुल्य क्षेत्र, मधेस, उपत्यका, कर्णाली आदिमा फरक–फरक समस्या हुनु यसको एउटा दृष्टान्त हो। आञ्चलिक साहित्यमा यस्ता विषयको चित्रण गरिन्छ।  

अञ्चल विशेषको आफ्नै इतिहास हुन्छ। कुनै अञ्चल सधैँ उही रूपमा रहँदैन, समय क्रममा परिवर्तन भइरहन्छ अर्थात् हरेक अञ्चल निरन्तर गतिशील हुन्छ। अञ्चल विशेषमा बाढी–पहिरो, भुइँचालोजस्ता प्राकृतिक विपत्तिको अलग्गै इतिहास हुन सक्छ। अञ्चलको विशिष्टताअनुसार वर्गसंघर्ष, जनसंघर्षका अलग्गै इतिहास पनि हुन सक्छ। आञ्चलिक साहित्यमा कथाञ्चलका यस्ता इतिहास विशेषको चित्रण हुन्छ। अञ्चल विशेषका मानिसको आफ्नै प्रकारको सामूहिक मानसिकता, सोचाइ, बुझाइ हुन सक्छ। अञ्चल विशेषमा त्यहाँका बासिन्दाले बोध गर्ने आन्तरिक मनोभावना हुन्छ। अञ्चलभन्दा बाहिरकाले त्यस अञ्चललाई बुझ्ने र त्यहाँका मानिसप्रति कस्तो व्यवहार गर्नुपर्छ भन्ने बाह्य मनोभाव पनि हुन सक्छ। कर्णालीवासी र तराईवासीको मनोभावमा फरक पाइन्छ। पहाडमा बस्नेले तराईमा बस्नेलाई अनि पहाडमा बस्नेलाई तराईमा बस्नेले हेर्ने–बुझ्ने मनोभाव फरक देखिन्छ। काठमाडौं उपत्यकाका नेवारले आफूलाई र बाहिरका मानिसलाई हेर्ने अनि बाहिरका मानिसले उपत्यकाका नेवारलाई हेर्ने मनोभाव अलग देखिन्छ। आञ्चलिक साहित्यमा सम्बद्ध अञ्चलको यस प्रकारको मनोभावको चित्रण गरिन्छ। त्यस्तै, अञ्चल विशेषका मानिसको सौन्दर्य चेतना पनि विशिष्ट हुन सक्छ। अञ्चल विशेषसँग प्राकृतिक, जातीय, सांस्कृतिक, ऐतिहासिक आदिमा देखिने बाह्य सौन्दर्य अनि त्यहाँको विशिष्टता अनुसार त्यहाँका मानिसले कुनै पनि वस्तुलाई हेर्ने–बुझ्ने सौन्दर्य चेत फरक र विशिष्ट हुनसक्छ। आञ्चलिक साहित्यमा यी पक्ष पनि समेट्न सकिन्छ।  

प्रत्येक अञ्चलको आफ्नै भाषा हुन्छ। कुनै अञ्चलमा त्यस अञ्चलको सीमाभन्दा व्यापक क्षेत्रमा फैलिएको भाषाको प्रयोग हुने भए पनि अञ्चलपिच्छे अलग्गै भाषिका वा बोलचालको भाषामा भिन्नता र विशिष्टता हुन्छ। आञ्चलिक साहित्यमा पाठकलाई रोमाञ्चित तुल्याउन नभएर प्रामाणिकता, स्वाभाविकता र यथार्थ बोधका लागि स्थानीय भाषाको प्रयोग गर्नुपर्छ। खासगरी पात्रको संवादमा त्यस अञ्चल विशेषमा बोलिने कथ्य भाषाको प्रयोग गर्ने प्रचलन छ। अञ्चलको विशिष्टिता जनाउने स्थान, वस्तु, संस्कृति आदिलाई बुझाउने शब्द वा पदावली, स्थानीय उखान टुक्का, लोकगीतको प्रयोग बढी प्रभावकारी हुन्छ।  

आञ्चलिक साहित्यमा उल्लिखित सबै पक्षको सघन चित्रण नहुन सक्छ। अञ्चलका सबै पक्ष समान रूपमा विशिष्ट नहुने हुँदा त्यहाँका विशिष्टतामध्ये केही पक्षमा केन्द्रित भएको भएर पनि आञ्चलिक साहित्य लेख्न सकिन्छ। कुनै अञ्चलमा भौगोलिक तथा प्राकृतिक पर्यावरण बढी विशिष्ट हुन्छ। त्यसले त्यहाँको जीवन र संस्कृतिलाई निर्देशित गरिरहेको छ भने स्रष्टाले त्यहाँको भौगोलिक तथा प्राकृतिक पर्यावरणको चित्रणमा बढी जोड दिन सक्छ। कुनै अञ्चलमा जाति विशेष, कुनैमा संस्कृति विशेष, कुनैमा आर्थिक विशेष, कुनैमा भाषा विशेषले मुख्य रूपमा त्यस अञ्चललाई अरू अञ्चलभन्दा पृथक् र विशिष्ट बनाइरहेको हुनसक्छ। यस्ता अञ्चललाई कथाञ्चल बनाउँदा तत्तत् विशिष्टतालाई मुख्य र अरू विशिष्टतालाई सहायक रूपमा चित्रण गर्न सकिन्छ। यसमा स्रष्टाको रुचिले पनि प्रभाव पार्ने देखिन्छ।  

कुनै निश्चित र विशिष्ट अञ्चल वा क्षेत्रको भौगोलिक तथा प्राकृतिक पर्यावरण, इतिहास, जीवनप्रणाली, लोकतत्व, संस्कृति, आर्थिक–राजनीतिक अवस्था, मनोभाव, सौन्दर्य, समस्या, भाषिक विशिष्टता आदिको चित्रण नै मुख्य विषयवस्तु हुने साहित्यलाई आञ्चलिक साहित्य भनिन्छ।

आञ्चलिकता साहित्यका सबै विधामा समान रूपमा आएको पाइँदैन। अञ्चलको समग्र पक्षको चित्रणका लागि उपन्यास, कथा, खण्डकाव्य, महाकाव्य र नाटकजस्ता आख्यानात्मक रचना बढी उपयोगी हुने देखिन्छ। उपन्यास, महाकाव्य, नाटकजस्ता साहित्यमा जीवन भोगाइका सबै पक्षलाई समेट्न सकिने भएकाले तिनमा कुनै अञ्चल विशेषका सबै विशिष्टतालाई देखाउन सकिन्छ। कथा, एकांकी, निबन्ध र खण्डकाव्यजस्ता साहित्यका मझौला रूपमा जीवनभोगाइको एउटा महत्वपूर्ण पक्ष समेटिने भएकाले यी विधामा अञ्चलका विशिष्टतामध्ये प्रमुख विशिष्टता मात्र चित्रण गर्न सकिन्छ। फुटकर कविता, गजल, गीतहरूमा अञ्चलका विशिष्टतालाई सूत्रात्मक रूपमा संकेतसम्म गर्न सकिन्छ। मुक्तक, हाइकुजस्ता साहित्यका लघुतम रूपमा भने अञ्चल विशेषको कुनै खास विशिष्टतालाई प्रतीकात्मक रूपमा सूक्ष्म संकेतसम्म गर्न सकिने देखिन्छ।  

उपन्यास, महाकाव्य र पूर्णांकी नाटक जीवन भोगाइका विस्तृत पक्ष समेट्ने साहित्यका विधा हुन्। जीवन–जगत्का हरेक विषयको विस्तृत पक्ष समेट्न सकिने भएकाले यिनमा आञ्चलिकता पनि समेटिनुपर्ने हो। तर, महाकाव्यको परम्परागत स्वरूप फरक छ। यसले इतिहास प्रसिद्ध राजा–महाराज, देवताजस्ता पात्रको नायकत्व खोज्छ। पछिल्लो समय सामान्य मान्छेका जीवनलाई पनि महाकाव्यमा समेट्न थालिएको छ, तर त्यो प्रभावकारी हुन सकेको छैन। खण्डकाव्य, महाकाव्य जस्ता कवितात्मक विधामा घटना र विषयको वर्णनभन्दा लय, विम्ब, प्रतीकको विशेष महत्व हुन्छ। त्यसैले आञ्चलिक जीवनलाई महाकाव्य र खण्डकाव्यले त्यति राम्रोसँग आत्मसात् गरेको पाइँदैन। नाटक संवादात्मक विधा भएकाले यसमा घटना र परिवेशभन्दा बढी चरित्र हाबी हुन्छ। नाटक मूलतः अभिनय र विचार प्रवाहका लागि बढी प्रभावकारी विधा हो। त्यसैले हुन सक्छ, नाटकले पनि आञ्चलिकतालाई आत्मसात् गर्न सकेको देखिँदैन। निबन्ध र नियात्रामा आञ्चलिकता आउन सक्छ। कतिपय नियात्रा कृतिमा आञ्चलिकता निकै फस्टाएको पनि छ। तर, निबन्ध र नियात्रा बढी निजात्मक हुने हुनाले आञ्चलिक जीवनका वस्तुगत र सामूहिक तथ्य सर्जकको अनुभूतिमा अर्कै–अर्कै भएर आउन सक्ने सम्भावना उत्तिकै हुन्छ। त्यसैले आञ्चलिकता मूलतः आख्यान र त्यसमा पनि उपन्यासमा बढी फस्टाएको पाइन्छ। त्यही कारण कतिपय समालोचकले आञ्चलिकता भनेको उपन्यास विधा विशेषको प्रवृत्ति समेत भनेका छन्। यद्यपि आञ्चलिकता सबैभन्दा बढी उपन्यासमा प्रयोग भए पनि अरु विधामा पनि यसको सम्भावना भने रहन्छ।  

बेलायती लेखक ओलिभर गोल्ड स्मिथको ‘द डिजर्टेड भिलेज’ (इ. १७७०) बाट सुरु भएको भनिएको आञ्चलिकताको थालनी, विकास र विस्तार उपन्यास विधामा भएको पाइन्छ। बेलायती उपन्यासकार मारिया इजवर्थ (इ. १७६७–१८४९) को कासल -याकरेन्ट (इ. १८००) उपन्यासबाट विकास र विस्तार भएको आञ्चलिक लेखनलाई बेलायतका वाल्टर स्कट, सार्लेट ब्रन्टी, जर्ज इलियट, थमस हार्डी, अर्नाल्ड बेनेट, एन्थोनी ट्रोलोप आदि, फ्रेन्चका जर्ज सान्ड, म्यारी बेजिन, रुसी साहित्यकार लियो टोल्सतोय, मिखाइल सोल्खोभ, डेनमार्कका स्टेन स्टिनसेन ब्लाइचर, फ्रान्सका गुय डी मोँपासा, इटालीका लियोनार्दो साइकिया, गोइभानी भर्गा, ब्राजिलका फ्रान्कलिन टाभोरा, अल्फ्रेडो डि स्क्राग्नोल टाउने, जोस डि एलेनकार, भारतका फणीश्वरनाथ रेणु, नागार्जुन, रामदरश मिश्र, रांगेय राघव, राजेन्द्र अवस्थी, शिवप्रसाद मिश्र ‘रुद्र’ आदि उपन्यासकारले थप विकास र विस्तार गरेको पाइन्छ।  

अन्यत्र जस्तै नेपाली साहित्यमा पनि आञ्चलिकताको सघन प्रयोग उपन्यास विधामै भएको छ। नेपाली साहित्यमा आञ्चलिकताको थालनी र सघन प्रयोग शंकर कोइरालाको ‘खैरिनीघाट’ (२०१८) उपन्यासबाट भएको हो। विनोदप्रसाद धितालको ‘उज्यालो हुनुअघि’ (२०२८), शंकर कोइरालाको ‘हेलम्बु मेरो गाउँ’ (२०३२), प्रकाश ए. राजको ‘रोदी घरको सम्झना’ (२०३३), ध.च. गोतामेका घामका पाइलाहरू  (२०३५) र यहाँदेखि त्यहाँसम्म (२०४२), रमेश विकलको ‘अविरल बग्दछ इन्द्रावती’ (२०४०), ध्रुवचन्द्र गौतमको ‘अलिखित’ (२०४०), दौलतविक्रम विष्टको ‘हिमाल र मान्छे’ (२०४५), खगेन्द्र प्रधानाङ्गको ‘हारी’ (२०५०), भीमबहादुर श्रेष्ठको ‘नौमती’ (२०५१), नयनराज पाण्डेका ‘उलार’ (२०५५) र ‘लू’  (२०६७), रविकिरण निर्जीवको ‘कालो कर्णाली सेतो छाया’ (२०५६), कृष्णराज सर्वहारीको ‘गन्तव्य’ (२०५६) आदि उपन्यास नेपाली आञ्चलिक साहित्यका उल्लेख्य कृति हुन्। कतिपय नेपाली उपन्यासमा प्रेम, नियति, स्वच्छन्दता, छुवाछुत, पहिचान जस्ता विषयको पृष्ठभूमिमा आंशिक रूपमा आञ्चलिक पृष्ठभूमिको चित्रण पाइन्छ। ताना शर्माका ‘ओझेल पर्दा’ (२०२३) र ‘मेरो कथा’ (२०२३), असीत राईको ‘नयाँ क्षितिजको खोज’ (२०३७), इन्द्र सुन्दासको ‘नियति’ (२०३९), हिरण्य भोजपुरेको ‘छिटेन’ (२०५४), शिवकुमार राईको ‘क्षितिजपारिमा’ (२०५२), खगेन्द्र संग्रौलाको ‘जूनकीरीको सङ्गीत’ (२०५६), राजन मुकारुङका ‘हेत्छाकुप्पा’ (२०६५) र ‘दमिनीभीर’ (२०६९), बुद्धिसागरको ‘कर्नाली ब्लुज’ (२०६७), बखतबहादुर थापाको ‘जङ्गे’ (२०७१) आदि उपन्यास यसका उदाहरण हुन्।  

उपन्यासपछि आञ्चलिकताले मलजल पाएको विधा कथा हो। नेपाली कथामा आञ्चलिकताको सघन चित्रणसहित सामाजिक यथार्थको उद्घाटन गर्ने कथाकारहरूमा भवानी भिक्षु, मनु ब्राजाकी, इन्द्र सुन्दास, सनत रेग्मी, राजेन्द्र विमल, ऋषिराज बराल, पिटर जे कार्थक, इस्माली, नयनराज पाण्डे, हीराधन राई, विष्णु राई, महेशविक्रम शाह, राममणि पोखरेल, बखतबहादुर थापा, नवीन विभास, रामलाल जोशी आदि उल्लेखनीय छन्। भवानी भिक्षु, सनत रेग्मी, नयनराज पाण्डे, महेश विक्रम शाहका कथामा मध्यपश्चिम तराईको आञ्चलिक विशिष्टताको चित्रण पाइन्छ।  मनु ब्राजाकी, इस्माली, राजेन्द्र विमलका कथामा मध्य तराईका आञ्चलिकता झल्किन्छ। माक्र्सवादी दृष्टिकोणबाट कथा लेख्ने ऋषिराज बरालका कतिपय कथामा सिन्धुली तथा पूर्वी तराईका आञ्चलिकताको झलक पाइन्छ। पछिल्लो समय कथा लेखनमा आएका रामलाल जोशीका कथामा सुदूर पश्चिम क्षेत्रको आञ्चलिक विशिष्टताको चित्रण पाइन्छ। पिटर जे कार्थक, इन्द्र सुन्दास आदिका कथामा दार्जिलिङ, कालेम्पुङजस्ता नेपाली भारतीय नेपालीको घना बसोबास भएको क्षेत्रको आञ्चलिक विशिष्टता भेटिन्छ। राममणि पोखरेलका कथामा पहाड तथा भित्री मधेस, नवीन विभासका कथामा मध्यपश्चिमका पहाडी क्षेत्र र बखतबहादुर थापाका कथामा कर्णाली प्रदेशका पहाडी अञ्चलका विशिष्टताको सघन चित्रण पाइन्छ। विष्णु राई तथा हीराधन राईका कथामा पूर्वी पहाडी जिल्ला खोटाङको भूगोल, संस्कृति, आर्थिक तथा सामाजिक अवस्था आदिको सघन चित्रण गरिएको छ।  

नेपाली साहित्यमा आञ्चलिकताको विषयलाई जोड दिने अर्को विधा नियात्रा पनि हो। यात्रा वर्णन मात्रैले आञ्चलिकता त हुँदैन, त्यसलाई आञ्चलिक बनाउन भने सकिन्छ। नियात्रामा कुनै न कुनै स्थान विशेषको धेरथोर चित्र आइहाल्छ, यसमा निजात्मक अनुभूति, आग्रह र गन्थनले पनि उत्तिकै प्रश्रय पाउँछ। सामान्यतः नियात्राहरूमा स्थानीय रंगको चित्रण हुन्छ, तर सचेत नियात्राकारले त्यसलाई आञ्चलिक बनाउन पनि सक्छ। नेपाली नियात्राहरूमा कतिपय आञ्चलिक विशेषताको चित्रण पाइन्छ। सचेत रूपमा आञ्चलिक नियात्रा लेख्ने काम भने नगण्य मात्रामा भएको छ।  

नेपाली कवितामा आञ्चलिकताका संकेत प्रशस्त पाइन्छन्। आञ्चलिक भूगोल, संस्कृति, जाति, इतिहास, आर्थिक, सामाजिक विशिष्टता, भाषिकाको प्रयोग आदिबाट खास अञ्चलका विशेषताको उजागर गर्ने कविता प्रशस्त लेखिएका छन्। खासगरी कर्णाली, किरात, ताम्सालिङ, थारुवान्, सुदूर पश्चिम, लिम्बुवान्, नेवा, मगरात, मधेसजस्ता क्षेत्रीय, जातीय, ऐतिहासिक विम्बको प्रयोगमा आञ्चलिकताको संकेत पाइन्छ। आञ्चलिकताको तहमा रहेर सचेततापूर्वक कविता, काव्य लेख्नेतिर भने कविको ध्यान जान सकेको देखिँदैन। समग्रमा हेर्दा नेपाली आञ्चलिक साहित्यको मुख्य मानक भनेको उपन्यास र त्यसपछि कथा विधा देखापर्छ। त्यसैले नेपाली आञ्चलिक साहित्यको मानक र मूल्यांकन पनि नेपाली आञ्चलिक उपन्यास र कथाकै आधारमा गर्नु उचित हुन्छ।

नेपाली आञ्चलिक साहित्यमा ग्रामीण अञ्चलमा जोड दिने तर सहरी अञ्चलको प्रयोग गरिने प्रवृत्ति पाइन्छ। भौगोलिक विविधता र विकटताको चित्रण, प्राकृतिक सौन्दर्यको चित्रणमा चासो, नदी किनार तथा जलासयको चित्रणमा रुचि, जातीय विविधतायुक्त समाजको चित्रण, जातीय तथा सांस्कृतिक सहिष्णुता र विभेदको चित्रण, गरिब तथा विपन्न वर्गप्रतिको सहानुभूति, कृषिमा निर्भर सामन्ती अर्थतन्त्रको चित्रण गर्ने प्रवृत्ति पाइन्छ। त्यस्तै, आर्थिक तथा राजनीतिक शोषण, लैंगिक विभेद, नारी उत्पीडन र यौनशोषण, दलितमाथि विभेद, उत्पीडन र छुवाछुत प्रथाको चित्रण, क्षेत्रीय विभेद र उत्पीडन र त्यस्ता उत्पीडनबाट उन्मुक्तिको चाहना आदि नेपाली आञ्चलिक साहित्यका मूल विशेषता हुन्। प्रेम, विवाह र यौनको चित्रणमा पनि नेपाली आञ्चलिक साहित्यको विशेष चासो देखिन्छ।  

नेपालका पूर्व, पश्चिम, मध्य क्षेत्र, कर्णाली, तराई, हिमाली क्षेत्रका साथै भारतको आसाम र दार्जिलिङ क्षेत्रको कथाञ्चलमा आञ्चलिक साहित्य लेखिएको छ। यीबाहेक नेपालका अधिकांश क्षेत्र र नेपालीको बसोबास रहेको भुटान, बर्मा र भारतका सिक्किम, देहरादुन आदि क्षेत्रको कथाञ्चलमा आञ्चलिक साहित्य लेखिएको छैन। नेपालको बारा, पर्सा, बाँके र कैलाली बाहेकको तराई क्षेत्र, मध्यपश्चिमाञ्चल तथा सुदूर पश्चिमाञ्चलको पहाडी क्षेत्र र मेची अञ्चलको पूरै क्षेत्रको कथाञ्चलमा आञ्चलिक साहित्य लेखिएको देखिँदैन। नेपाली आञ्चलिक साहित्यमा माझी, शेर्पा, कमैया थारु गुरुङ, आठपहरिया राई, लामा तामाङ, दलित, वादी, घर्ती (भुजेल) तथा भारतको आसाममा रहेका नेपालीका सामाजिक, सांस्कृतिक तथा भाषिक विशेषताको चित्रण भएको पाइन्छ। यीबाहेक अन्य जातजाति, संस्कृति विशेषमा केन्द्रित भएर लेख्ने काम बाँकी नै छ।  

नेपाली साहित्यमा सुरुदेखि आजसम्म करिब तीन हजार उपन्यास लेखिएका छन्, तीमध्ये करिब दुई दर्जनमा मात्रै आञ्चलिकताको सघनता पाइन्छ। नेपाली साहित्यमा हजारौँको संख्यामा कथा लेखिएका छन्, तीमध्ये केही दर्जन कथामा मात्रै आञ्चलिकतालाई स्थान दिइएको छ। हजारौँका संख्यामा लेखिएका नियात्रामध्ये केही नियात्राले मात्रै आञ्चलिकताको झलक दिन्छन्। नेपाली साहित्यका अन्यविधामा आञ्चलिकताको संकेत मात्रै छ, त्यतातिरको चासो छैन। पछिल्लो राजनीतिक परिवर्तनसँगै नेपाली साहित्यमा पहिचानको मुद्दा विशेष रूपमा उठिरहेको छ। आफ्नो क्षेत्र, जाति, संस्कृति, भाषाप्रतिको अनुराग बढ्दो छ। यसबीचमा कर्णाली, मधेस, सुदूर पश्चिमका समस्यामा आधारित केही आख्यान, नियात्रा र संस्मरण आएका छन्, तर ती आञ्चलिकताको कसीमा सबल रूपमा आउन सकेका छैनन्। अहिलेको नेपाली साहित्यमा पहिचान मुद्दाले प्रश्रय पाइरहेको छ। अहिले पहिचानका कविता निकै लेखिएका छन्। केही उपन्यास र कथा पनि लेखिएका छन्। यसरी जातीय, सांस्कृतिक, भाषिक, क्षेत्रीय अधिकारका कुरा सबल रूपमा उठिरहँदा आञ्चलिकता पनि जुरुक्क उठ्नुपर्ने हो तर त्यति राम्रोसँग उठेको देखिँदैन।

बजारमा जे बिकिरहेको छ, त्यही सामान उत्पादन गर्ने त्यति ठूलो कुरा होइन, बजारलाई प्रभावित गर्ने गरी अरुभन्दा भिन्न सामान उत्पादन गरेर बेच्नु महत्वपूर्ण हो। साहित्यको बजारमा पनि यो नियम लागू हुन्छ। विश्व साहित्य बजारमा हामीले बेच्ने कुरा हाम्रो मौलिकता हो। हामीले हाम्रो विविधता, पहिचान, आञ्चलिकताको साहित्यलाई विश्व बजारमा बेच्न सक्छौँ। तर, पहिचानका नाममा भावना, आक्रोश, प्रतिशोध र तात्कालिक प्रतिक्रिया मात्रै व्यक्त गर्ने अनि आञ्चलिकताका नाममा कुनै भूक्षेत्रका खोला, वन, जाति आदिको सामान्य उल्लेखले मात्रै पुग्दैन। अरुले जे उत्पादन गरिरहेका छन्, त्यसैको सस्तो नक्कली माल उत्पादन गरेर ग्राहक झुक्याउन खोज्ने तहमा हामी छौँ। विश्व बजारका चतुर ग्राहकले नक्कली माल परै चिनिहाल्छन्। त्यसैले हामीले आफ्नो मौलिक सक्कली माल उत्पादन गर्न आवश्यक छ। त्यो भनेको नेपालको भौगोलिक विविधता, विकटता र सौन्दर्य, जातीय तथा सांस्कृतिक विविधता, इतिहास आदिको कलात्मक प्रतिविम्बन नै हो। हाम्रा यस्ता मौलिक सम्पत्तिलाई गहिरोसँग नजिकबाट चिन्न नसक्दासम्म नेपाली साहित्य विश्व साहित्यको समकक्षी बन्न सक्दैन।  

परिवर्तनशील दुनियाँमा हामीसँग अहिले रहेका मौलिकता र विशिष्टता सधैँ उस्तै रहँदैनन्। बढ्दो बसाइँसराइँ, प्रविधिको विकास, भूमण्डलीकरण र उपभोक्तावादी संस्कृतिको दबदबा अनि सुखी र सभ्य हुने लोभसँगै आफ्नो खानपान, वेशभूषा, भाषा, पहिचान, संस्कृति, मौलिकता भुल्दै र छाड्दै गइरहेको अबको अवस्थामा अरुभन्दा भिन्न हुने हाम्रो पहिचान धेरै समय टिक्न सक्तैन। परिवर्तनको तुफानी वर्तमानमा हिजोसम्म रहेका हाम्रा मौलिक विशिष्टतामध्ये आज कति हराए, कति फेरिए, भोलि अझै हराउँछन्, बदलिन्छन्। त्यसैले आञ्चलिक साहित्यको भविष्य त्यति सुखद छैन। तर हरेक कुराका राम्रा र नराम्रा पाटो भएजस्तै आञ्चलिकताका सन्दर्भमा एउटा सुखद पाटो पनि छ, आज हामीले लेखेको आञ्चलिक साहित्य भोलि हामीलाई नै नौलो लाग्न सक्छ। आञ्चलिक साहित्यको शक्ति र सीमा भन्नु नै यही हो। परिवर्तनको आँधी हुरीलाई हामी रोक्न सक्दैनौँ र परिवर्तन आफैँमा नराम्रो कुरा होइन। हामीले आफू बाँचेको युगको यथार्थलाई सुरक्षित गर्ने भनेको साहित्य, कलामा हो। आञ्चलिक साहित्य लेखन त्यस्तै सुप्रयत्न हो। 

प्रकाशित: १७ श्रावण २०७७ ०२:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App