८ वैशाख २०८१ शनिबार
कला

महिला आत्मसम्मान पक्षमा नाटक ‘तीनकुने’

काठमाडौ– सामाजिक प्राणीको रूपमा परिभाषित मानिसको स्वभाव फरक हुन्छ। एक अर्काको सोच फरक भएकाले उनीहरूको भोगाइ र अनुभवमा भिन्नता हुने गरेको छ।  सा–सानो खुसीको आशा बाँचिरहेको रहेका भिन्न मानिसहरूको कथा कहिलेकाँही एक अर्कामा मेल खाने गरेको परिस्थितिलाई नाटक ‘तीनकुने’ राजधानीको टेकुस्थित कौशी थिएटरमा मञ्चन भइरहेको छ ।

निम्न वर्गीय महिलाको चरित्र चित्रण गर्दै दिवंगत कथाकार रमेश विकलले लेखेको ‘एउटी अवकाशप्राप्त वेश्याको आत्महत्या’, पोषण पाण्डेको ‘भिनाजुको स्वेटर’ र बीएस राईको ‘चम्पा’ मा भएको मनोविज्ञानसम्बन्धी कथावस्तुलाई समेटिएर रंगकर्मी सुलक्षण भारतीले नाटक तयार गरेका छन्।

गत असार २७ देखि सुरू भएको नाटकमा तीन वटा कथालाई केन्द्रित गरेर तीन फरक पात्रहरू, समय र  भोगाइलाई कथावस्तु बनाएका छन्। नाटकमा देखिएका पात्रहरू फरक भएपनि आत्मसम्मानको खोजी गर्न तत्पर देखिन्छन्। नेपाली समाजको प्रतिनिधित्व गर्ने भावनात्मक चाहना र आत्मियतामाथि केन्द्रित रहेको नाटकमा देखिएको छ।

सतिस (सुलक्षण भारती) को घरबाट सुरु भएको नाटकको कथामा पतिपत्नीबीच हुने झगडा, गर्भवती पत्नी र उनले पतिबाट आशा गरेको साथ, सतिशको अस्तव्यस्त लेखकीय जीवनलाई मनोवैज्ञानिक शैलीमा प्रस्तुत गरिएको छ। पतिको साथ नपाउँदा एक्लिएकी महिलाको मनोदशा नाटकमा चित्रण गरिएको छ। सतिशले पत्नीलाई वेवास्ता गरेको कारण दिदीलाई साथ दिन आएकी बहिनी बबिता (रोशनी कार्की) र भिनाजुबीचको घनिष्टताले सतिसकी गर्भवती पत्नीलाई परेको मानसिक प्रभाव नाटकमा समेटिएको छ। शंकाले लंका जलाउँछ भनेझैं बहिनी र पतिको घनिष्ठता उनलाई अपच हुन्छ। गर्भावस्थामा शारीरिक र मानसिकपरिवर्तनसँगै महिलाले भोग्नुपरेको भोगाईको पक्षमा नाटक तयार भएको छ।

नेपाली समाजले महिलाप्रति गर्ने विभेदलाई नाटकका पात्रहरू चम्पा (रेनु योगी) र रिता (सृजना अधिकारी) मार्फत चित्रण गरेर उनीहरूको आत्मसम्मानलाई मजबुत बनाएर प्रस्तुत गरेको छ। यी दुवै पात्रहरू उक्तिकै भावुक लाग्छ। तीन वटा पात्रहरुको मनोविज्ञान प्रस्तुत गरेर नेपाली सामाजिक अवस्थालाई नाटकमा चित्रण गरिएको छ। तीन वटा फरक कथाहरूलाई सिंगो नेपाली समाजको दृष्टिकोणबाट नाटकमा समेटिएको छ।

नेपाली समाजमा महिलाहरूले यौन दुव्र्यवहार, शारीरिक र मानसिक हिंसा र अपमानको सिकार हुने गरेका छन्। पुरुषवादी सोचका कारण उनीहरू हरेक पल शोषणमा परिरहेका हुन्छन्। जसका कारण उनीहरू पीडित हुन पुग्छन्। यस नाटकले समाजमा पीडा भोगका तीन प्रतिनिधि महिला पात्रहरूको अवस्था देखाउने प्रयास गरेको छ।

‘नेपाली समाजमा महिलाहरू स्वतन्त्र भएर आत्मसम्मानका साथ बाँच्न मुस्किल छ। उनीहरूले बढी दुव्र्यवहार र अपमान भोग्ने गरेका छन्। महिलाले भोग्नु परेको पीडालाई आधार बनाएर नाटक तयार भएको छ,’ निर्देशक सुलक्षण भारतीले भने ।नाटकमा सुलक्षण भारती, सृजना अधिकारी, रेनु योगी, रोशनी कार्की, सविना थापा, सरिता भुजेल, प्रकाश गुरागाईं, निशान खत्री, जयराम ढकाल, सौजन लिम्बु, प्रकाश बाँस्तोला, अरुण पौडेल, एलेक्स तामाङ, हिरा हमाल, कमल शर्मा, न्हुजः महर्जन र  सन्जिप योगी लगायत कलाकारहरुले अभिनय गरेका छन्। नाटक आगामी साउन १२ सम्म मञ्चन हुनेछ।

 

प्रकाशित: ८ श्रावण २०७६ ०५:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App