coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

मारुनी नाच संरक्षणमा स्थानीय

डडेल्धुरा – मगर समुदायमा परम्परादेखि नै विभिन्न शुभकार्यमा देखाइने गर्रा अर्थात मारुनी नाच देशका विभिन्न स्थानमा अहिले लोप हुने अवस्थामा पुगेको छ।

देशभरी नै लोप हुने अवस्थामा पुगेको मारुनी नाच अहिले आलीताल गाउँपालीकास्थित डोला गाउँका मगर समुदायले भने जिवितै राखेका छन्। त्यहाँ विशेष गरेर तिहारको बेला भैली खेल्ने ख्यालीको प्रदर्शन हुने गर्दछ। अन्य समुदायमा देउडा भाका गुन्जीने समयमा त्यहाँ झ्याली  र मादलसँगै मारुनीको गीत गाइने परम्परा छ।  

मगर समुदायका विभिन्न कार्य न्वारन, ब्रतबन्ध, बिबाह लगायत शुभकार्यमा देवीदेवताको आराधना गर्दै यो नाच नचाउने गरिन्छ। मारुनी नाचमा दुई मारुनी, दुई देखि तीन मादले, एक पुरसीङ्गे र ६ देखि १० जनासम्म गायक हुन्छन्। पुरसीङ्गेले महिलाको कपडा लगाएको हुँदैन। यदि मारुनी नाचमा तीन मादले अथवा एक मात्र मारुनी छन् भने त्यहाँ पुरसीङ्गेलाई एक मादलेसँग नाच्ने जिम्मा दिइन्छ। पुरसीङ्गे एकपछि अर्को गर्दै नाच्न सकिन्छ। गायकमा एक गुरु हुन्छन, जसलाई मारुनी नाचका बारेमा सबै जानकारी हुन्छ। मारुनी नाचको मुखियालाई रौरा भनिन्छ।

मादले कम्मरमा मादल भिरेर मारुनीसँगै नाच्छ।  मारुनी नाचको मुख्य पात्र पुरुषलाई सिङ्गार पटार गरी महिलाको कपडा एवं गहना लगाइन्छ। मारुनी मादलेको अघि र पछि घुमेर नाच्छन्। मारुनी नाचमा विशेषगरी पुरुषहरूले गीत गाउने, नाच्ने, मादल बजाउने गरेतापनि महिलाहरूले नाच सम्बन्धी अन्य व्यवस्थापकीय कार्य गर्छन। 

मारुनी नाच नेपालको परम्परागत नाच हो। पुरुषलाई महिलाको कपडा पहिराएर मारुनी बनाएर मादलको तालमा पुराना पौराणीक कथामा आधारित गीत गाएर नाचिने यो नाच नेपालका मगर, गुरुङ, तामाङ, लिम्बू जातिको मुख्य संस्कृति पनि हो।

पौराणीक कथामा आधारित गीतका साथ मादलको तालमा नाचिने मारुनी नाच लोपन्मुख अवस्थामा छ। आलीताल गाउँपालीकाको वडा नं ८ मा रहेको बस्ती डोलामा अहिले यो नाच देख्न पाइन्छ। तर नयाँ पुस्ताले यसलाई बिर्सीरहेकोप्रती स्थानीय बुद्धीजिवीहरूले चिन्ता व्यक्त गर्ने गरेका छन्। 

स्थानीय वृद्ध कर्णबहादुर थापामगर भन्छन, यो हाम्रो पुरानो पुर्खाको परम्मपरा लोप हुने अवस्थामा छ। उनले भने, कोही साथी कता गए कोही कता गए यो पुरानो सांस्कृतिक परीपाटीलाई अली छोड्दै गएको महसुस भएको छ। सबै सरोकारवालले यसलाई राम्रोसँग जगेर्ना गर्न उनले नयाँ पुस्तालाई आग्रह गरे। 

अर्का वृद्ध खिम्मनबहादुर रानामगरले अहिलेको पुस्ताले पहिलेको संस्कृती विर्सेकोप्रति दुखेसो पोख्दै भने, हाम्रो पुरानो पुर्खा बुवा बाजेले धेरै राम्रो गर्नुहुन्थ्यो तर आजभोली एक दुई जनाले अली अली गर्छन तर पहिलेको जस्तो जान्दैनन्।’
पहिले नाचीने मारुनी नाच र अहिले नाचिनेमा धेरै भिन्नता भएकोप्रती स्थानीय मगर जातीका युवा पुस्ताले समेत चिन्ता व्यक्त गरेका छन्।

बुढापाकाबाट सिकेको यस परम्परालाई जोगाउनु सरकार तथा सरोकारवालाहरूको दायीत्व रहेको उनीहरूको भनाई छ। ‘मगर समुदायमा मारुनी नाच लोप भइ नसकेपनि लोप हुने अवस्थामा पुगेको छ एक युवा लक्ष्मण डालामगरले भने, यसलाई जगेर्ना गर्न हामीले हाम्रा बुढापाकाबाट सिक्न आवश्यक छ। पहिले हामी सानो हुदा १०–१२ वटा मादल चार–पाँच झ्याली र १०–१२ वटा मुरली हुन्थ्ये उनले भने, झ्याम झ्याम गरेर यो पुरै आलिताल उपत्यका थर्कीन्थ्यो, त्यो वातावरणको आजभोली कल्पना पनि गर्न सक्दैनौ। 

 

प्रकाशित: ३१ श्रावण २०७५ ०८:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App