११ पुस २०८२ शुक्रबार
image/svg+xml
कला/संस्कृति

भान्सा

कविता

मेरो सानो संसार

मेरो जिन्दगी र भान्सा

उस्तै चलिरहेको छ आजकल

सखारै झिसमिसेमा

तातोपानी र चियाको बाफसँगै

मेरा रहरका बाफहरू उडान भर्छन्।

टुक्राटुक्रा सब्जीहरूमा

बाँडिएका सपनाहरूसँगै

विचरण नै गर्न नपाई

मेरा सम्भावनाका उचाइहरू

सागझैं चुडिन्छन्

खुशी साट्ने कल्पना

फलफूल पेलेझैं पेलेर

हरेक दिन जोश निकाल्छु

केलाएर फाल्तुका चाहनाहरू

फाल्छु किरा लागेका

काम नलाग्ने बहानाहरू

र पस्कन्छु अनेकन् परिकार 

फुस्रा पारेर आफ्नै हात

पकाएको छु घिउको भुटनमा

थकाइका सुस्केराको आवाजलाई

कुकरको सिठ्ठीभित्र दबाएकी छु

बेसारको रङ र मसलाको स्वादमा

आफ्ना इच्छाहरूलाई मिसाएर

मेहनतको नुन मिसाएको छु

मेरो पाकसीपमा  

कोही खुशी हुन्छन् बेस्सरी

र,आफ्नै औंलो चाटिरहन्छन्

जिब्रोको स्वाद नमिल्नेहरू

नाक खुम्च्याँउछन्

मुख बङ्याउँछन्

ठुस्स परेर टाउको कन्याउँछन्

कसैलाई अलिनो लाग्छ

कसैलाई चर्को लाग्छ

तैपनि

आफैंलाई सजाउन बिर्सेर

खानाको टेबल सजाइरहेकी छु।

- लक्ष्मी रेशमी

प्रकाशित: ४ वैशाख २०८२ ११:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App