१ चैत्र २०८१ शुक्रबार
image/svg+xml १०:१८ पूर्वाह्न
कला

आफ्नै बन्धु चुसीचुसी ढाडिएका किन?

मुक्तक

१) मुक्तक

किन आको छुच्चो खुशी चारै दिनमा जाने भए

यो छातीमा पैल्यै भाको खुशी लुछी लाने भए

दुख झेल्न सक्छु अझै हिम्मत छ शैल जत्रो

नआ नजिक सम्झनाले कलेजी यो खाने भए।

२) मुक्तक

सागरमा डुबेर मोती टिपौं भन्छु सक्दिनँ

नील, मणि, पद्म झिकौं भन्छु सक्दिनँ

मयलपोस ढल्काउँदैमा ठूलो होइन्न रैछ

त्यही कुर्सीमा बस्न सिकौं भन्छु सक्दिनँ।

३) मुक्तक

श्राप सप्रेको छ देशमा अकर्तव्य फाँड्न मन छ

खेत बाँझो राख्ने गफाडीको श्रम डाँड्न मन छ

कसले बनायो देश कतै वृद्धाश्रम, कतै निर्जन

असारमा दाँदेले झैं अनधिकृत झार माड्न मन छ।

४) मुक्तक

जनमुक्ति हुन्छ भन्दै गर्‍यौं जनयुद्ध

मुक्तिकामी मिली आफैं गर्छन् धनयुद्ध

आस्था मर्‍यो किन हाम्रो पर्‍यौं रनभुल

टाढाबाट देख्दाचाहिँ लाग्छ डनयुद्ध।

५) मुक्तक

यौटा बोलेँ साँचो भन्छ अर्को झुठ ठान्छ

साँचो झुठो दुवै भन्ने हावा गुट ठान्छ

अचम्ममा परें म त ठानौं साँचो कुन

मतदाता हाँस्न थाल्छ लुटै लुट ठान्छ।

६) मुक्तक

घुलमिल नभैकन खुल्न सकिंदैन

श्रमबिना बगैंचामा फुल्न सकिंदैन

सिर्जनाले मन छोई उसै गोडिदिन्छ

सम्झेपछि हृदयले भुल्न सकिंदैन।

७) मुक्तक

बासीतासी खानेको त देहै गल्न थाल्छ

देह गल्न थाल्यो भने मन जल्न थाल्छ  

तन मन गल्दा जल्दा बाँकी रहन्छ के

समयले जिन्दगीमा ढाँट्छ छल्न थाल्छ।

८) मुक्तक

खानेबेला जैले पनि औजस् लगाएर

यस्तो जाबो बनाएको भन्दै कराएर

भान्छेले नि निज तर्क फर्काउँछन् ठाडै

पैला जस्तो आज किन बस्थे डराएर।

९) मुक्तक

समाजका सबै अङ्ग टाढिएका किन

आफ्नै बन्धु चुसीचुसी ढाडिएका किन

यस्तै चाला चल्यो भने देश रहन्छ र

गरीब चै गरीबीमै गाडिएका किन।

१०) मुक्तक

वल्लोघर पल्लोघर चिन्न छाडे आज

कसरी हो देखापर्ने समाजको माझ

घरभित्र बस्छन् सारा एसी चलाएर

हुनै छाड्यो थाहा पनि बिहान र साँझ।

प्रकाशित: १ फाल्गुन २०८१ १३:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App