१७ माघ २०८१ बिहीबार
image/svg+xml
कला

कैदी

लघुकथा

ऊ कैदमा थिई। चारैतिरबाट पहराले घेरिएकी थिई। उम्कने र भाग्ने ठाउँ कतै थिएन।

कोठाका छेउकुनामा पहरेदार थिए। भर्‍याङका प्रत्येक खुड्किलाहरूमा पहरेदार। बरण्डाभरि पहरेदा। कौसीमा लहरै पहरेदार। यताउता चारैतर्फ पहरेदार नै पहरेदार। बेलाबेलामा म उसलाई भेट्न पुग्थें। पहरेदार छिचोल्दैछिचोल्दै जान्थे।

चुपचाप पहरेदार हेर्दै जान्थे र उसलाई भेट्थे। गफ पहरेदारमाथि नै हुन्थ्यो।

ऊ भन्थी, ‘म पहरेदारबाट उम्कनै सकिन।’

हो। उम्कन सक्दिन थिई पहरेदारहरूबाट। उसकाे चोरी ठुलै थियो। हाक्काहाक्की ऊ लुट्थी पनि र दिनदहाडै हत्या गरिदिन्थी। रेडियो, पत्रपत्रिका र युटुवहरूमा ऊ भाइरल हुँदै थिई।त्यसैले उसका पहरेदारहरूले उसलाई घरैमा घेरेर राखेका थिए।

-आखिर के बियो गरेकी थिई उस्ले ! जनता जान्न चाहन्थे।

-ऊ चिनेर/चिनेकाहरुको बारीबाट मलिलो माटो चोर्थी।

- झाडी र जंगलबाट हाक्काहाक्की पत्कर उठाउँथी।

- जतासुकैबाट बेर्नाहरूको अपहरण गर्थी।

- दिनदाहडै आलस्यपूर्ण समयको हत्या गर्थी।

उसलाई चोरी, डकैती, अपहरण र हत्याको महाअभियोग लागेको थियो। तसर्थ ऊ फूलै फूलहरूको पहरामा थिई। एउटा मनमोहक स्वप्न बगैंचामा ऊ आजीवन कैद थिई।

- कुरिलो घर,काठमाडाैं।

प्रकाशित: १७ माघ २०८१ ११:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App