१४ माघ २०८१ सोमबार
image/svg+xml
कला

बीच जंगलमा नाटक क्यानभास

‘पर्यावरणीय’ नाटक महोत्सवका लागि मञ्चनस्थल तयार गरिँदै। तस्बिर: भीम/नागरिक

सखुवैसखुवाले भरिएको चुरेको जंगलमा एक महिनादेखि १५–२० युवा खटिएका छन्। कोही भुईँको पतकर टिप्दै छन्, कोही त्यसैबीच खेतको गरामा गोलाकार तयार गरी सिँगारपटार गर्दैछन्। परिपरि रहेका कान्ला र ढिस्कनामा कतै माटो पोतिएको छ, कतै विभिन्न आकृति बनाइएका छन्। नजिकै परालको थुप्रो बनाइएको छ, त्यहाँ पुगिने बाटाका लहरै रुखमा नौ तला बनाएर डोरी टाँगिएको छ।

खेतको भित्तो कोपरेर आकर्षक कलाकृति बनाइएको छ। नजिकै तीन–चार सय मान्छे अटाउने बाँसको प्यारपिट बनाउन अर्को टोली खटेको छ। न कुनै रुख–बिरुवा काटिएको छ, न झारपातको ‘अर्ग्यानिक’ सौन्दर्यलाई बङ्ग्याइएको छ।

‘पर्यावरणीय’ नाटक महोत्सवका लागि मञ्चनस्थल तयार गरिँदै। तस्बिर: भीम/नागरिक 

दिनहुँ १०–१५ युवा एकातिर कुनै कार्यक्रमको भव्य तयार गर्दैछन् भने अर्कातिर एक हुल किशोर–किशोरी त्यही खेतमा बनाइएको गोलाकारभित्र नाटकको रिहर्सल गरिरहेका छन्। ‘झ्याउँकिरी र चराचुरुङ्गीको चिरबिर आवाजले गाउँले पारा झल्काउन कुनै कन्जुस्याइँ गरेका छैनन्।

यो दृश्य हेर्न पुग्ने जो–कोहीलाई लाग्ला–यतिको मेहनत किन गरिएको होला। कृत्रिम सामग्रीलाई करिब–करिब निस्तेज गरी सबै स्थानीय प्राकृतिक वस्तु प्रयोग गर्दै यहाँ बनाइँदैछ– नाटकको प्राकृतिक क्यानभास।

जिल्ला सदरमुकामभन्दा भौगोलिक हिसाबले धेरै टाढा रहेर पनि नाट्यकर्ममा प्रशंसा बटुलिरहेको चुलाचुली रङ्गमञ्चले गाउँमै नाट्य महोत्सव आयोजना गर्दैछ। माघ १४ र १५ मा चुलाचुली गाउँपालिका ३ मा ‘पर्यावरणीय’ नाटक महोत्सव आयोजना गर्न लागिएको हो।

स्कुलका विद्यार्थीलाई लक्षित गरी रङ्गमञ्चले तेस्रो संस्करणको चुलाचुली पाठशाला नाट्य महोत्सव आयोजना गर्न लागेको रङ्गमञ्च संयोजक चेतन आङ्थुपोले जानकारी दिए। उनका अनुसार परिपरि जंगलैजंगल रहेको खेतको गरामा आयोजना गरिने यो महोत्सवलाई ‘पर्यावरणीय नाटक महोत्सव’ नाम दिइएको छ।

महोत्सवमा आठ नाटक, दुई ओपन पर्फमेन्स, दुई प्यानल डिस्कसन, पाँचदिने नाट्य कार्यशाला र चित्रकला कार्यशाला आयोजना गरिनेछन्। महोत्सवमा हेटौंडाबाट कलाक्रान्ति समूहको डार्क स्याडो, मोरङको सुविजिमुर मेमोरियल बोर्डिङको ऊ जुनेली, रिलायन्स बोर्डिङको मौनताको कथा, चुलाचुली बालज्योति माविको द रुट, पञ्चबुद्ध एकेडेमीको कर्मको फल, अमृत बोर्डिङको द ल्यान्ड अफ मंकी, जनता माविको वातावरण र होम प्रोडक्सन भुमरी मञ्चन गरिने उनले जनाए।

‘इलामकै चेतना नाट्य समूहको र चुलाचुलीस्थित कुलुङ भाषा संस्कृति उत्थान संघका दुई ओपन पर्फमेन्स पनि हुनेछन्,’ रङ्गमञ्च सचिव सन्तोष गिरीले भने, ‘शिक्षाको क्षेत्र र नेपाली रङ्गमञ्च तथा नाटकको विषयमा दुई प्यानल डिस्कसन पनि हुनेछन्।’ महोत्सवले विद्यार्थीको सिकाइप्रणाली थप फराकिलो बनाउन पनि सघाउने उनको भनाइ छ।

‘विशेषगरी विद्यार्थीको सिकाइप्रणाली फराकिलो बनाउन चेतनास्तर बढाउन यसले सघाउले आशा छ,’ उनले भने, ‘अहिले प्रविधि प्रयोगका कारण बालबालिका प्रकृतिबाट टाढा भएझैं लाग्छ, कला–संस्कृतिप्रतिको बुझाइ फराकिलो बनाउनुपर्छ,’ उनले भने, ‘त्यसैले, प्रकृतिको सुन्दर थलो, पर्यटकीयस्थल जंगलभित्रै कार्यक्रमस्थल बनाइएको छ।’ सहरको व्यवस्थित संरचनाभन्दा प्राकृतिक परिवेशमा नाटकको सौन्दर्य थप प्रभावकारी हुने आयोजक बताउँछ।

२०६९ सालमा स्थापित रङ्गमञ्चले समाज रूपान्तरणलाई आफ्नो उद्देश्य बनाएको छ। ‘स्थापनादेखि अहिलेसम्म हामी ग्रामीण समुदायमा निकै चुनौतीपूर्ण हिसाबले नाट्य क्षेत्र संरक्षणमा सक्रिय छौं,’ संयोजक आङ्थुपो भन्छन्, ‘यो महोत्सव त प्राकृतिक सहअस्तित्वको सन्देश फैलाउन सालको रुखमुनि नाटक महोत्सवलाई प्रेरणाको स्रोतमा लिएर नेपालमै पहिलो पटक पर्यावरणीय नाटक महोत्सवको प्रयोग गरिएको हो।’

सन् २००८ मा भारत असमको गोलापारा जिल्लाको रामपुरमा बडुङडुप्पा कलाकेन्द्रका संस्थापक शुक्रचार्य राभाले सुरु गरेको अन्डर द सल ट्रि (सालको रुखमुनि) रङ्गमञ्च महोत्सवबाट प्रभावित भएर यो पर्यावरणीय महोत्सवको अभ्यास गरिएको उनको भनाइ छ।

प्रकाशित: १२ माघ २०८१ २१:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App