१) मुक्तक
जीवनमा उकाली ओराली देउराली भन्ज्याङ तर्नै पर्छ,
उचाइमा पुगे पनि धरातल बिर्सनु हुन्न भुइँमा झर्नै पर्छ।
मान्छेको चोला अजम्बरी छैन कोही पनि बाँचिन्न सधैँ,
व्यर्थै घमण्ड किन गर्नु हाँसेर बाँचौं एकदिन त मर्नैपर्छ।
२) मुक्तक
बाआमालाई मिठोमसिनो खान दिएर पाल्ने रहर छ,
गाउँघर, परिवार छोडेर विदेसिनु बाध्यताको कहर छ।
परदेशमा रातदिन परिश्रम गरी धनसम्पत्ति कमाउँदा,
मनमा पीडा लुकाउँदै बिताउन गाह्रो रातको पहर छ।
३) मुक्तक
सृष्टिकर्ता नारी, देवी सरस्वती दुर्गा रूप अनेक थरी,
डाक्टर बनी जीवन रक्षा गर्छिन् रोगीको उपचार गरी।
सहनशीलता धैर्य आत्मविश्वास र ममताकी प्रतीक,
नारी पूज्य छिन् स्वर्गकी अप्सरा हुन् कि धर्तीकी परी।
४) मुक्तक
जीवनमा स्नेह सद्भाव बाँड्न सके अमृत फल्छ,
रिसराग र घमण्डले आफ्नै कोमल हृदय जल्छ।
मान्छेले मान्छे भएर जीवन जिउन नजानेर यहाँ,
प्रकृतिले दिएको उपहार खुसी पनि अन्तै चल्छ।
५) मुक्तक
जिन्दगीमा केके न गर्छु भन्नेहरू कहाँ पुगे होलान्,
समयको चक्रसँगै दास बन्नेहरू कहाँ पुगे होलान्।
घुमीफिरी सबैको पालो आउँछ भन्ने जान्दा जान्दै,
प्रगति हेर्न नसकेर खेदो खन्नेहरू कहाँ पुगे होलान्।
६) मुक्तक
पैसामा मायाको व्यापार गर्नेहरू टिकेका छन्,
लगानीबिनै फाइदा कसरी हुन्छ सिकेका छन्।
आफ्नैले आफन्त नचिन्ने यो अचम्मको सहरमा,
सम्पत्तिको लोभमा मान्छे सजिलै बिकेका छन्।
७) मुक्तक
एक्लो देख्दा दुःख लाग्छ चौतारीमा वर पनि,
उमेरसँगै मर्दै जाने रहेछन् मान्छेका रहर पनि।
जवानीमा दौडधूप गर्दा गर्दै ठिक्क भए दिन,
उमेर गएपछि शून्य लाग्ने आफ्नै गाउँघर पनि।
८) मुक्तक
तस्बिर हेरेको वर्षौ भयो दिलको कुरा केर्नु छ,
मन खोलेर तिमीलाई न्यानो अँगालोमा बेर्नु छ।
प्रतीक्षाको समय साह्रै कठिन बन्दो रहेछ प्रिया,
घुम्टोभित्र सजिएको तिम्रो सुन्दर मुहार हेर्नु छ।
९) मुक्तक
मनमा उत्तम विचार सजाएर पाल्न सक्नुपर्छ,
श्रमको पसिनाले, चट्टानलाई पगाल्न सक्नुपर्छ।
असम्भव भन्ने कुरा केही पनि छैन यो संसारमा,
हर्षका आँसुले दुःखका दाग पखाल्न सक्नुपर्छ।
१०) मुक्तक
हिरामोती फलाउन सकिन्छ देशकै माटोमा,
स्वदेशमै पौरख गरी विदेश जानुको साटोमा।
विदेशी मिष्ठान्न भोजन भन्दा पोसिलो हुन्छ,
आफ्नै खेतबारीमा फलेको गहुँको आटोमा।
प्रकाशित: २७ पुस २०८१ ०८:५५ शनिबार