१) रेड लाइट
आज पनि सुटुक्क क्विन्सको रूजावेल्ट एभेन्यू पुगेको छ डेभिड। डेबिडलाई देखेपछि मार्थाले भनी, “थाहा छैन तिमीलाई डेभिड, मैले ग्राहक सेवा एक हप्तादेखि बन्द गरेकी छु। निमोनिया भएको छ, मलाई। एक हप्ता पनि कुर्न सक्तैनौ? तिमी लोग्ने मान्छेहरूको मनमा त्यही कुरा मात्र हुन्छ। माया, दया, प्रेम ममता पटक्कै हुँदैन, हो?”
ऊ उभिइरह्यो। केही बोलेन।
मार्था नै भन्दै गई, “पैसा पनि दिने होइन, जहिले पनि उधारोमा काम चलाउँछौ। लाज लाग्दैन?” डेभिड ढुङ्गा जस्तो भएर उभिइरह्यो। उसको मुखमा शब्दको खडेरी परेको जस्तो देखियो।
मार्था नै बोली, “मेरो एक वर्षदेखिको रकम जोड्ने हो भने तिमीसँग लिनुपर्ने बाँकी दुई हजार डलर हुन्छ। लाज र सरम छैन? कहिले दिन्छौ डेभिड?”
डेभिडको शरीरमा अब अलिकता गति आएको छ। उसले बल्ल वाक्य फुटाएको छ, “मार्था मलाई थाहा छ, म सधैंझैं रेडलाइट एरियामा छु तर तिमी कहाँ आज त्यो कामले आएको होइन। आज तिम्रो स्वास्थ्य अवस्थाबारे सोध्न र तिम्रो स्वास्थ्य लाभको कामना गर्न आएको हुँ। कस्तो छ तिमीलाई?”
डेभिड गएको एक घण्टा भइसकेको छ। मार्थाको हातमा डेभिडले दिएको बुके छ। बुकेभित्र तीन हजार डलर छ। मार्था कहिले डलर त कहिले बुके हेरिरहेकी छे।
२) मनी माइन्डेड
“दाइ, मलाई मनी माइन्डेड भन्नु भए पनि हुन्छ। मेरो जीवनको उद्देश्य नै पैसा कमाउनु हो। म क्यानाडाबाट धेरै पैसा कमाउन भनेर नै अमेरिका आएको हुँ। यदि अलिकति परिश्रम गर्न जानेको छ भने यो पुँजीवादी देशमा पैसा कमाउन सजिलो छ। सामाजवादी हुन खोज्ने देश क्यानाडामा त्यस्तो सहज छैन।”
म गम्भीर भएर अमनको कुरा सुन्दै छु।
ऊ भन्दै छ, “पैसाबिनाको यो जीवन निर्रथक हो। यो संसारमा, आमाबाबु, दिदीबहिनी, दाजुभाइ, काकाकाकी सबै पैसा हुन्। पैसाले ठुलाठुला भवनहरू मात्र होइन, अटुट र प्रगाढ प्रेम सम्बन्ध पनि बनाउन सकिन्छ। पैसाले साँचोलाई झुठो र झुठोलाई साँचो बनाउन पनि सक्छ।”
म केही बोलेको थिइनँ, मेरो अनुहामा हेर्दै उसले भन्यो, “दाइले पैसाको महत्त्व नै बुझ्नुभएको छैन। माया, प्रेम, दया यी सबैको केही अर्थ छैन पैसा नभएमा। यो भएर नै मैले ओक्लहोमा सिटीमा तीन ओटा गैस स्टेसन, दुई ओटा मोटेल र एउटा भेप स्टोर चलाएको छु।”
“तपाई जस्तै तपाईकी वाइफ पनि व्यापारी नै हुन्?” मैले अनायास सोधेँ।
मेरो यस प्रश्नले अमनलाई गम्भीर पारिदियो तर पनि उसले सहज तरिकाले भन्यो, “दाइ, मेरो वाइफसँग डिभोर्स भएको पाँच वर्ष भयो । मेरा दुई सन्तान पनि उनीसँगै छन्।”
अमनको यो कुरा सकिन नपाउँदै तीनओटा कुकुर एकैपटक बैठक कोठामा पसे।
कुकुरलाई मुसार्दै अमनले भन्यो, “जीवनमा परिवार पनि चाहिने रहेछ दाइ। यी कुकुरहरूले मलाई अति माया गर्छन्। लाग्छ यिनीहरूको मायाले गर्दा नै म बाँचेको छु। मेरा वाइफ,छोराछोरी, परिवार यी सबै यिनै कुकुरहरू हुन् दाइ।”
३) मृत्युको समाचार
समाचार आइरहेको छ।
‘मत्युदण्ड सम्बन्धी सबै तयारी पूरा भइसकेको छ। दण्ड पाउने युवकलाई पहिले मास्क लगाइने छ। सुरुमा मास्कबाट अक्सिन पठाइने छ तर पछि क्रमिक रूपमा अक्सिजन कम गर्दै नाइट्रोजन दिइने छ र नाइट्रोजनको मात्रा वृद्धि गरी अक्सिजन बन्द गरिने छ। बढी नाइट्रोजन छातीमा पसेपछि कैदीको मृत्यु हुने छ। दोषीलाई बढी कष्ट नदिइकनै प्राणदण्ड दिने कार्य सम्पन्न भएको छ।’
म रेडियोमा समाचार सुनिरहेको छु।
‘देशको न्याय प्रणाली न्यायिक भएकाले पीडित परिवारले न्याय पाएको छ।’
अर्को दिन फेरि रेडियो सुन्दै छु।
‘पचासौं जना, डाक्टर, नर्स र सहयोगी प्राविधिक कमर्चारीहरू आज बिहानदेखि नै सवारी दुर्घटनामा परेका एक युवकलाई जोगाउन २४ घण्टादेखि अपरेसन थिएटरमा निरन्तर र अथक कार्य गरिरहेका छन्।’
आज पनि रेडियोमा सुन्दै छु।
‘एक जटिल शल्यक्रियापछि ती युवक जोगिएका छन् र अहिले खतरामुक्त छन्।’
मैले रेडियो बन्द गरिदिएँ। समाचार सुन्न मन लागेन।
समाचार सुन्न कसरी मन लाग्छ? आखिर मान्छेको मृत्यु भनेको एउटा विपर्यास समाचार त रहेछ।
४) अङ्ग्रेजी भाषा
नवीनको बैठक कोठामा म के पसेको थिएँ, मलाई देखेर उनको खुसीको सागर उर्लिएको छ। आफ्नी पत्नीतिर हेर्दै भन्छन्, “म्याडम, लुक, हु इज हिअर?”
म नवीनकहाँ एक हप्ता बस्ने गरी टोरन्टोबाट आएको छु।
“नवीन, अमेरिकाको बसाइ कस्तो छ?”
“अमेरिकाको बसाइ राम्रो छ भनौ भने म यहाँ सन्तुष्ट छैन। नेपाल फर्किने कल्पना पनि गर्न सक्तिनँ।”
के भनेका होलान् नवीनले म बुझ्न सकिरहेको छैन्। नेपालमा छँदा नवीन आफ्नी पत्नीलाई निला भन्थे। म पनि निला भाउजू भन्थेँ। अहिले अलमलमा परेको छु। नवीनकी पत्नीतिर हेर्दै प्रश्न गर्छु, “भाउजू, हजुरलाई अमेरिकाको बसाइ कस्तो लागेको छ?”
“अमेजिङ! रादर रिग्रेटिङ, ह्वाइ वि कम लेट हिअर।”
नवीन मेरो आगमनको खुसीले गर्दा कहिले किचेनमा पुग्दै छन्। कुनै बेला फ्रिज खोल्दै छन्। कुनै बेला बैठक कक्षमा उपस्थित हुँदै छन्।
“म्याडम, आज केदारका लागि बैकयार्डमा बारबीक्यु गरौँ है?”
“ओके डियर, ह्वाइ नट!”
निला भाउजू किचेनतिर गएको मौका छोपी नवीनको काननजिक पुगेर उनलाई भने, “नेपालमा हुँदा त तिमी भाषा आन्दोलनमा जिउज्यान दिएर लागेका थियौ। घरमा परिवारका सदस्यसँग आफ्नै मातृभाषा बोल्ने गथ्र्यौ तर यहाँ?”
“के गर्ने साथी! हाम्रा छोराछोरीहरु नेपाली बोल्न जान्दैन। उनीहरू हामीसँग अङग्रेजीमा कुरा गर्छन्। उनीहरुसँग अङग्रेजी बोल्दाबोल्दै अर्कासँग अङग्रेजी बोल्ने हाम्रो पनि बानी परिसक्यो। अनि, त्योभन्दा पनि महत्त्वपूर्ण कुरा–अमेरिकामा राम्रो पैसा दिने काम पाउन अङग्रेजी जान्नै पर्ने रहेछ।” नवीनले भने।
त्यसपछि हामी बारबीक्युको तयारीतिर लाग्यौँ।
प्रकाशित: १९ पुस २०८१ ११:४९ शुक्रबार