अमेरिकी अन्तरिक्ष इतिहासमा युजीन एन्ड्रयू ‘जीन’ सर्नन चन्द्रमामा पाइला टेक्ने अन्तिम मानवका रूपमा विश्वले सम्झिने गरेको छ। सन् १९७२ डिसेम्बर ७ मा प्रक्षेपण भएको अपोलो १७ मिसनको कमाण्डरका रूपमा उनले चन्द्रमाको टोरस–लिट्रो उपत्यकामा ऐतिहासिक अन्वेषण गरेका थिए।
अपोलो अन्तरिक्ष यानको अन्तिम मानवयुक्त चन्द्र अवतरण मिसन अपोलो १७ सन् १९७२ डिसेम्बर १९ मा सफलतापूर्वक भएको भयो। उक्त अन्तरिक्ष मिसनमा सर्ननसँगै भूगर्भशास्त्री तथा अन्तरिक्ष यात्री ह्यारिसन ‘ज्याक’ स्मिट चन्द्रमा को सतहमा पुगेका थिए। उनीहरू नै चन्द्रमामा पाइला टेक्ने अन्तिम मानव बनेका थिए। तेस्रो चालक दलका सदस्य रोनाल्ड इभान्स कमाण्ड तथा सेवा मोड्युलमा रहँदै चन्द्र कक्षामा परिक्रमा गरिरहेका थिए।
अपोलो १७ पहिलो रात्रिकालीन अपोलो प्रक्षेपण थियो। फ्लोरिडाको केनेडी स्पेस सेन्टरबाट शनि–५ रकेटमार्फत प्रक्षेपित उक्त मिसनले चन्द्रमामा करिब तीन दिनसम्म सतह अन्वेषण गरेको थियो। सर्नन अनुभवी अन्तरिक्ष यात्री भएको हुँदा यसअघि जेमिनी ९ मिसनमा सहभागिता जनाउँदै अन्तरिक्षमा हिँड्ने दोस्रो अमेरिकी बनेका थिए। त्यसपछि अपोलो १० मिसनमा चन्द्र अवतरणको अभ्यास उडान सम्पन्न गरेका थिए।
सन् १९३४ मार्च १४ मा शिकागो, इलिनोइसमा जन्मिएका सर्ननले पर्ड्यू विश्वविद्यालयबाट विद्युतीय इन्जिनियरिङमा स्नातक र अमेरिकी नौसेनाबाट एरोनटिकल इन्जिनियरिङमा स्नातकोत्तर गरेका थिए।
सर्ननको जीवन र अनुभवमाथि आधारित पुस्तक ‘ द लास्ट मुन अन द मुन’ सन् १९९९ मा प्रकाशित भएको थियो । जसमा २०१४ मा वृत्तचित्र पनि निर्माण गरिएको थियो। २०१७ जनवरी १६ मा टेक्सासको ह्युस्टनमा ८२ वर्षको उमेरमा उनको निधन भयो।
प्रकाशित: २ माघ २०८२ ०८:१४ शुक्रबार





