१४ श्रावण २०८३ बिहीबार
image/svg+xml
खेल

विश्वकप फाइनलको १० दिनपछि प्रशिक्षणमा फर्किए मेस्सी

अर्जेन्टिनाका कप्तान तथा फुटबल सुपरस्टार लियोनेल मेस्सी विश्वकप फाइनलमा पराजय भोगेको १० दिनपछि आफ्नो क्लब इन्टर मियामीको प्रशिक्षणमा फर्किएका छन्।

यस महिनाको सुरुमा भएको विश्वकप फाइनलमा अर्जेन्टिना अतिरिक्त समयमा स्पेनसँग १–० ले पराजित भएको थियो।

फाइनलपछि मेस्सीले केही समय विश्राम लिएका थिए र अब उनी पुनः क्लब फुटबलका लागि अभ्यासमा फर्किएका हुन्।

दुई पटकका डिफेन्डिङ मेजर लिग सकर (एमएलएस) मोस्ट भ्यालुएबल प्लेयर (एमभीपी) मेस्सीले विश्वकप ब्रेकपछि इन्टर मियामीका शिकागो र मोन्ट्रियलविरुद्धका पहिलो दुई खेल गुमाएका थिए। यद्यपि मियामीले दुवै खेल जित्दै आफ्नो लगातार जितको संख्या छ खेल पुर्‍याएको थियो।

३९ वर्षीय मेस्सीले बुधबार राति चार्लोटमा आयोजित लिगा एमएक्स अल–स्टार खेलमा पनि सहभागी नहुने निर्णय गरेका थिए। उनले त्यसको सट्टा आफ्नो बुबा जर्ज मेस्सीसँग समय बिताएका थिए।

यस वर्षको विश्वकप मेस्सीको करियरको रेकर्ड छैटौं विश्वकप थियो। उनले प्रतियोगिताभर आठ गोल र चार असिस्ट गर्दै उत्कृष्ट प्रदर्शन गरे। तर अर्जेन्टिना उपाधिबाट एक जित टाढा रह्यो र १९५८ तथा १९६२ पछि लगातार दुई विश्वकप जित्ने पहिलो टोली बन्ने अवसर गुमायो।

प्रतियोगिताको दोस्रो खेलमा आफ्नो १७औँ विश्वकप गोल गर्दै मेस्सीले मिरोस्लाभ क्लोसको विश्वकप करियर गोलको कीर्तिमान तोडेका थिए। यद्यपि गोल्डेन बुटको दौडमा फ्रान्सका युवा स्टार केलियन एमबाप्पेले २२ गोलसहित मेस्सीलाई पछि पारे।

एमएलएसमा इन्टर मियामी हाल २४ खेलबाट ३७ अंकसहित पूर्वी सम्मेलनको दोस्रो स्थानमा छ। टोली शीर्ष स्थानमा रहेको न्याशभिल एससीभन्दा दुई अंकले मात्र पछाडि छ।

शनिबार कोलम्बस क्रुविरुद्ध हुने घरेलु खेलमा मेस्सी मैदानमा फर्किने वा नफर्किनेबारे भने क्लबले अझै कुनै आधिकारिक जानकारी दिएको छैन।

विश्वकपपछि मेस्सीले अन्तर्राष्ट्रिय फुटबलसँगै क्लब फुटबलबाट पनि सन्यास लिने चर्चा चलेको थियो। तर उनी प्रशिक्षणमा फर्किएसँगै ती अनुमानलाई केही समयका लागि विराम लागेको छ।

बार्सिलोना र पेरिस सेन्ट–जर्मेनका पूर्व फरवार्ड मेस्सी आफ्नो करियरमा आठ पटक बालोन डी’ओर जित्ने विश्वकै सर्वाधिक सफल खेलाडीमध्ये एक हुन्।

प्रकाशित: १४ श्रावण २०८३ १३:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App