अमेरिकामा डोनाल्ड ट्रम्प प्रशासनले एक कलेज छात्रालाई भूलवश देश निकाला गरेकोमा अदालतमा माफी मागेको छ। तर यसले उनको मुद्दालाई असर नगर्ने भन्दै बचाउ पनि गरेको छ।
म्यासाचुसेट्सको बाब्सन कलेजकी १९ वर्षीया प्रथम वर्ष छात्रा लुसिया लोपेज बेलोजालाई थ्याङ्क्सगिभिङमा परिवारलाई सरप्राइज दिन घर उडान गर्ने क्रममा नोभेम्बर २० मा बोस्टन विमानस्थलबाट हिरासतमा लिइएको थियो। दुई दिनपछि उनलाई होन्डुरस निकाला गरियो।
नोभेम्बर २१ मा अदालतले कम्तीमा ७२ घण्टा म्यासाचुसेट्स वा अमेरिकामा राख्ने आदेश दिएको थियो।
उनको परिवार सन् २०१४ मा होन्डुरसबाट अमेरिका बसाइँ सरेको थियो। उनी हजुरबा हजुरआमासँग बसेर टाढाबाट अध्ययन गर्दै थिइन्। हाल उनी हिरासतमा छैनन् र एल साल्भाडोरमा काकीलाई भेट्न गएकी थिइन्।
मंगलबार बोस्टन संघीय अदालतको सुनुवाइमा सरकारले माफी माग्दै एक अध्यागमन अधिकारीले गल्ती गरेको बताएको छ।
‘सरकारको तर्फबाट हामी इमानदारीपूर्वक माफी माग्न चाहन्छौं,’ सहायक अमेरिकी वकिल मार्क साउटरले न्यायाधीश रिचर्ड स्टर्न्ससमक्ष भने। उनले थपे, ‘उल्लङ्घन एक व्यक्तिले अनजानमा गरेको गल्ती थियो। अदालतको आदेश उल्लङ्घन गर्न भनेर जानाजानी गरिएको कार्य होइन।’
सरकारले निर्वासन वैध भएको तर्क गर्दै सन् २०१६ मा अध्यागमन न्यायाधीशले उनलाई देश निकाला गर्ने आदेश दिएको र सन् २०१७ मा पुनरावेदन खारेज भएको उल्लेख गरेको छ।
उनका वकिल टोड पोमेरलेउले अदालतको आदेशको स्पष्ट उल्लङ्घन भएको र उचित प्रक्रियाबाट वञ्चित भएको बताए। न्यायाधीश रिचर्ड स्टर्न्सले गल्ती स्वीकार गरेकोमा प्रशंसा गर्दै यसलाई दुःखद नोकरशाही गल्ती भने।
उनले भने, ‘यो कसैको गल्ती नहुन सक्छ, तर उनी यसको शिकार थिइन्।’ सम्भावित समाधानका रूपमा विद्यार्थी भिसा दिएर अध्ययन पूरा गर्न अनुमति दिन सकिने सुझाव दिएका छन्। एजेन्सी
प्रकाशित: २ माघ २०८२ ०८:१२ शुक्रबार





