२३ फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

नेपाली राजनीतिमा वामपन्थी विचार हाबी, कांग्रेस पनि त्यसकै संवाहक: कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता कमल थापाले नेपाली राजनीतिमा लामो समयदेखि वामपन्थी विचार र शक्तिहरूको वर्चस्व रहँदै आएको टिप्पणी गरेका छन्।

शनिबार राजधानीमा आयोजित पार्टीको चुनावी घोषणापत्र सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै नेता थापाले नेपाली कांग्रेससमेत वामपन्थी विचारधाराकै संवाहक बनेको दाबी गरेका हुन्।

सम्बोधनका क्रममा थापाले राजनीतिक शास्त्रको दृष्टिकोणबाट समाजवादलाई ‘लेफ्ट ओरिएन्टेड’ (वामपन्थी) विचारधारा मानिने भएकाले कांग्रेस पनि त्यसैको बाटोमा रहेको तर्क गरे।

उनले भने, ‘विगत ७० वर्षको वैचारिक यात्रामा उग्र साम्यवाददेखि प्रजातान्त्रिक समाजवादसम्मकै विचारहरू नेपालमा हाबी रहे।’

नेता थापाले नेपाली समाजको मौलिक चरित्र र राजनीतिक नेतृत्वको विचारधाराबीच ठुलो खाडल रहेको उल्लेख गरे। ‘एकातर्फ नेपाली जनमानस सनातन धर्म, संस्कृति, परम्परा र प्राचीन वैदिक मूल्य-मान्यताप्रति गहिरो आस्था राख्छन्, जुन नेपाली समाजको विशिष्ट चरित्र हो,’ थापाले थपे, ‘तर, अर्कोतर्फ राजनीतिक रूपमा भने त्यसको ठिक विपरीत साम्यवाद, मार्क्सवाद र समाजवादले हाम्रो समाजलाई नेतृत्व दिने काम गरिरहेको छ।’

नेपाली समाजको जग र राजनीतिको विचारधाराबीचको यो विरोधाभासले आफूलाई सधैँ झकझकाइरहेको बताउँदै थापाले यो विडम्बनाको अब अन्त्य हुनुपर्नेमा जोड दिए।

राप्रपाले अघि सारेको नयाँ मार्गचित्रले नेपाली माटो सुहाउँदो र मौलिक परम्परामा आधारित राजनीतिको प्रतिनिधित्व गर्ने उनको दाबी थियो।

प्रकाशित: २ फाल्गुन २०८२ १८:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App