प्रतिनिधिसभा निर्वाचनअन्तर्गत धनुषा निर्वाचन क्षेत्र नं-३ बाट नवनिर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले आगामी दिनमा जनचाहनाअनुसार सैद्धान्तिक एवं व्याहारिक काम गर्दै जाने प्रतिबद्धता जनाएका छन्।
जनकपुरधाममा आज एक कार्यक्रममा उनले सबैको सहयोग, समन्वय र मागदर्शनबाट जनहित र मुलुकको लागि काम गर्ने बताए।
नवनिर्वाचित सदस्य झाले जनताले ठूलो अभिभारा र जिम्मेवारी दिएकाले त्यसलाई पूरा गर्न आफू सधैँ अग्रपङ्क्तिमा रहेर काम गर्ने धारणा राखे।
उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका विमलेन्द्र निधिसँगको भेटघाटमा झाले निधिको राजनीति तथा सामाजिक क्षेत्रमा पुर्याउनुभएको योगदानको चर्चा गर्दै आगामी दिनमा उनको सहयोग र मार्गदर्शन आफूलाई आवश्यक पर्ने बताए।
‘हारजित निर्वाचनमा एउटा प्रक्रिया हो। यसले लोकतन्त्रलाई मजबुत बनाउँछ। निर्वाचनको परिणाम सबैले स्वीकार गर्नुपर्छ’, उनले भने।
सोही भेटको क्रममा नेता निधिले नवनिर्वाचित प्रतिनिधिसभा सदस्य झालाई बधाई तथा शुभकामना व्यक्त गरे। उनले धनुषाको प्रतिनिधिसभा क्षेत्र नं-३ का जनताले ठूलो आशा, भरोशा र विश्वासका साथ निर्वाचित गराएकाले जनताको अपेक्षा, चाहना र आवश्यकतालाई पूरा गर्नुपर्नेमा जोड दिए।
यसअघि झाले आजै जानकी मन्दिरमा गई पूजाआराधना गर्नुभएको थियो ।
प्रकाशित: २३ फाल्गुन २०८२ २२:३८ शनिबार





