३ चैत्र २०८२ मंगलबार
image/svg+xml
राजनीति

महावीर पुनको ५६ लाखको हिसाब सार्वजनिक: चुनाव खर्च कटाएर बचेको २७ लाखले ५ वर्ष नि:शुल्क सेवा दिने

हालै सम्पन्न निर्वाचनमा म्याग्दीबाट स्वतन्त्र उम्मेदवार बनेर जितेका महावीर पुनले आफ्नो चुनावी खर्चको विवरण सार्वजनिक गर्दै २७ लाख बचत रहेको बताएका छन्।

पुनले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको तथ्यांक अनुसार चुनावी अभियानका लागि विभिन्न दाताहरूबाट कुल ५६ लाख ३७ हजार ८९३ आम्दानी भएको थियो। ४५ दिन लामो चुनावी प्रचारप्रसारका क्रममा २८ लाख ६८ हजार ८६८ रुपैयाँ खर्च भएको र अझै पनि बैंक खातामा २७ लाख ६९ हजार २५ रुपैयाँ बाँकी रहेको उनले बताएका छन्।

म्याग्दीको भौगोलिक विकटतालाई औंल्याउँदै पुनले चुनावी अभियान चुनौतीपूर्ण रहेको बताएका छन्। झापा वा काठमाडौं जस्तो सुगम क्षेत्रमा एक घण्टामै धेरै ठाउँ घुम्न सकिने भए पनि म्याग्दीको भूगोल फरक रहेको उनको तर्क छ।

१० देखि १६ जनाको टोली लिएर ४५ दिनसम्म बिहान ७ बजेदेखि राति १० बजेसम्म खटेर जिल्लाका सबै गाउँमा दुई पटकसम्म पुगेर प्रचारप्रसार गरेको उनले उल्लेख गरेका छन्। सोही अवधिमा भएको खर्च कटाएर बाँकी रहेको झण्डै २८ लाख रुपैयाँ अब जनताको सेवामा खर्च गर्ने उनको योजना छ।

बैंकमा बाँकी रहेको उक्त रकम आगामी ५ वर्षसम्म बेनीमा एउटा सम्पर्क कार्यालय सञ्चालन गर्न उपयोग गर्ने पुनले घोषणा गरेका छन्। विशेषगरी दुर्गम गाउँघरबाट सरकारी कामकाजका लागि सदरमुकाम आउने र विभिन्न प्रक्रियागत झन्झट बेहोर्नुपर्ने सर्वसाधारणलाई लक्षित गरी यो कार्यालय खोल्न लागिएको हो। उनका अनुसार कार्यालयमा दुई जना कर्मचारी, कम्प्युटर, फोटोकपी मेसिन र प्रिन्टर जस्ता आवश्यक उपकरणहरू राखिनेछन्। यस कार्यालयले सदरमुकाम आउने जो-कोहीलाई नि:शुल्क रूपमा सामान्य मद्दत र प्रशासनिक सहजीकरण प्रदान गर्ने उनले जानकारी दिएका छन्।

‘यो पैसा बेनीमा ५ वर्षको लागि मेरो सम्पर्क कार्यालय खोलेर गाउँघरबाट सदरमुकाममा सरकारी कामकाजले आउनेहरू र सहयोग चाहिनेहरूलाई नि:शुल्क सामान्य मदत गर्न खर्च गरिनेछ,’ पुनले भनेका छन्।

यो योजना उनले चुनाव प्रचारका क्रममा गाउँ-गाउँमा मतदाताहरूसँग गरेको प्रतिबद्धता भएको उनले बताएका छन्। ठुलो आर्थिक सहयोग गर्न नसके पनि सामान्य नागरिकले प्रशासनिक काममा भोग्नुपर्ने सानातिना समस्या समाधानमा यो कार्यालयले राहत पुर्‍याउने उनको विश्वास छ।

प्रकाशित: २९ फाल्गुन २०८२ १९:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App