१९ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
कला/साहित्य

प्रणय दिवसमा कलाकारहरूको रौनक: कसले कसरी व्यक्त गरे प्रेम ?

विश्वभर आज फेब्रुअरी १४ तारिख अर्थात् प्रणय दिवस (भ्यालेन्टाइन डे) उत्साहका साथ मनाइँदैछ।

प्रेमी-प्रेमिका र दम्पतीहरूले एक-अर्काप्रति प्रेम भाव व्यक्त गर्ने यस विशेष दिनमा नेपाली चलचित्र क्षेत्रका कलाकारहरूले पनि आ-आफ्नै शैलीमा खुसी साटेका छन्।

सामाजिक सञ्जालमार्फत आफ्ना जीवनसाथी र प्रशंसकहरूलाई प्रेमिल सन्देश दिँदै कलाकारहरूले यो दिन विशेष बनाएका हुन्।

लोकप्रिय अभिनेत्री प्रियंका कार्कीले श्रीमान् आयुष्मान देशराज श्रेष्ठ जोशीसँगका तस्बिरहरू सार्वजनिक गर्दै सुन्दर सन्देश लेखेकी छिन्।

आयुष्मानलाई आफ्नो जीवनको अद्भुत मान्छे बताउँदै उनले लेखेकी छिन्, ‘मैले उसलाई कहिल्यै भनेकी छैन, तर ऊ नै मेरो सबै जन्मदिनका मैनबत्तीहरू र ११:११ मा मागेका प्रार्थनाहरू हो। ऊ मेरो सधैँको भ्यालेन्टाइन र मनपर्ने मान्छे हो।’

अभिनेत्री रेखा थापाले भने प्रेमलाई अलि भिन्न दृष्टिकोणबाट परिभाषित गरेकी छिन्। एक भिडियो सन्देशमार्फत उनले अरूलाई प्रेम गर्नुअघि आफूले आफैँलाई प्रेम गर्नुपर्नेमा जोड दिएकी छिन्।

उनी भन्छिन्, ‘जो मान्छेले आफूले आफैँलाई अथाह प्रेम गर्छ, उसले मात्र अरूको भावना बुझ्न र प्रेम बाँड्न सक्छ। त्यसैले पहिलो प्राथमिकता आफूलाई प्रेम गर्नु हो।’

गायक तथा अभिनेता प्रकाश सपुतले आफ्नी श्रीमतीसँगको तस्बिर राख्दै प्रणय दिवसको शुभकामनालाई आसन्न निर्वाचनसँग जोडेका छन्।

उनले प्रेम र मतदान दुवैलाई जीवनको महत्त्वपूर्ण अनुभवका रूपमा व्याख्या गर्दै लेखेका छन्, ‘तपाईंको पहिलो भोट, पहिलो प्रेम जस्तै मिठो अनुभव होस्। पहिलो पटक प्रेममा परेका र पहिलो पटक भोट दिन लागेका सबैलाई शुभकामना।’

उनले आफ्नो सन्देशमा घण्टीको इमोजी समेत प्रयोग गरेका छन्।

युवा अभिनेता नाजिर हुसेनले पनि रातो पहिरनमा सजिएर हातमा फूल बोकेको तस्बिर सार्वजनिक गर्दै यस दिवसको माहोल तताएका छन्। उनको यो तस्बिरलाई सामाजिक सञ्जालमा प्रशंसकहरूले निकै रुचाएका छन्।

प्रणय दिवसको अवसरमा अन्य थुप्रै कलाकारहरूले पनि तस्बिर र सन्देशमार्फत आफ्ना प्रशंसकहरूलाई शुभकामना दिइरहेका छन्।

प्रकाशित: २ फाल्गुन २०८२ १८:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App