२२ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
राजनीति

आगो लगाउनेहरू हार्नेछन्, गणतन्त्र ल्याउनेहरू जित्नेछन्: प्रचण्ड

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी निर्वाचनमा मुलुकमा अस्थिरता निम्त्याउने, भ्रष्टाचार र कुशासनलाई प्रश्रय दिने शक्तिहरू पराजित हुने दाबी गरेका छन्।

जनयुद्धको ऐतिहासिक थलो रुकुम पूर्वको चुनबाङमा शनिबार आयोजित जनभेटघाट तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले ध्वंस मच्चाउनेहरू नभई परिवर्तनका संवाहकहरूले नै मुलुकको नेतृत्व गर्ने बताए।

‘सिंहदरबार, संसद् भवन र सर्वोच्च अदालत जलाउनेदेखि व्यक्तिका निजी सम्पत्तिमाथि आगजनी गर्नेसम्मका गतिविधि हामीले देख्यौं,’ उनले भने, ‘अब जनताले आगो लगाउने र ध्वंस मच्चाउनेहरूलाई तिरस्कार गर्नेछन्। गणतन्त्र र ऐतिहासिक परिवर्तन ल्याउने शक्तिहरूको नै जित हुनेछ।’

सम्बोधनका क्रममा संयोजक प्रचण्डले हालै सम्पन्न बङ्गलादेशको निर्वाचनको प्रसङ्ग जोड्दै स्थिरता र शान्तिको पक्षमा जनमत हुने उल्लेख गरे।

‘बङ्गलादेशमा पनि चुनावका बेला आगो लगाउनेहरू नै जित्छन् भन्ने हल्ला थियो, तर परिणाम उल्टो आयो,’ उनले भने, ‘त्यहाँ नजलाउने र स्थिरता चाहनेहरूले जिते। सामाजिक सञ्जालमा लाखौं फलोअर्स भएकाहरू चुनावमा तेस्रो स्थानमा खुम्चिए। नेपालमा पनि हल्लाखोरहरूको हिसाब जनताले गरेर बसेका छन्।’

प्रचण्डले आगजनी, कुशासन र दमनकारी शक्तिलाई रोल्पा-रुकुमका जनताले राम्ररी चिनेको भन्दै अब देशभरका जनता सचेत भइसकेको सुनाए।

रुकुम पूर्वको विकासका सन्दर्भमा बोल्दै उनले यस क्षेत्रलाई समृद्धिको नयाँ नमुना बनाउने प्रतिबद्धता व्यक्त गरे।

‘तपाईंहरूले चितवनको भरतपुर मोडेल देख्नुभएकै छ,’ उनले भने, ‘अब रुकुम पूर्वमा पनि विकास र समाजवादको नयाँ मोडेल स्थापित गर्नेछौं।’

प्रकाशित: २ फाल्गुन २०८२ १८:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App