१) मुक्तक
तिम्रो प्रेम भाव पाउँदा तिमी प्रेम कोष जस्ती,
तिम्रो मधुर बोली सुन्दा तिमी मन्जुघोष जस्ती।
के भनौं प्रिय तिमिलाई म त शब्द नै पाउन्न,
मेरा हर इच्छा पूर्ण गर्दा तिमी आशुतोष जस्ती।
२) मुक्तक
अचेल तिमी नसामा देखेको छु मैले,
अस्तव्यस्त हालतमा भेटेको छु मैले।
समयले मान्छेलाई किन खेद्छ आज,
लेखेन त्यो चित्रगुप्तले लेखेको छु मैले।
३) मुक्तक
जितेपछि फुर्तिफार्ती किन झिक्छन् मान्छे,
सादा जीवन तिलान्जली किन दिन्छन् मान्छे।
स्वाङ झिक्दै बोलीचाली लवाइमा नक्कल,
मत दिनेको आस्थाबाटै किन गिर्छन् मान्छे!
४) मुक्तक
आज न्यानो छ खुशी मनाइरहेछौं,
हाम्रा देह यही धरामा सजाइरहेछौं।
हिजो या भोलिको जाडो गर्मी बिर्सेर,
न भूतो न भविष्यति भनेर रमाइरहेछौँ।
५) मुक्तक
पात्रहरू अनेक छन् बस्छन् ठाउँठाउँ,
कोही बस्ने मेरो गाउँ कोही आफ्नै गाउँ।
नाता पनि नौलै हुन्छन् बास अनुसार,
हृदयमा बस्नेलाई दिनु कस्तो नाउँ!
६) मुक्तक
सम्झनेको मुटुमा बसेको हुन्छ यादहरू पलेटी कसेर,
बिर्सनेको कक्रक्क सुकेको हुन्छ ओठहरू कलेटी परेर।
सम्झने त भाग्यमानी हुन् बिर्सनेहरू पो अभागी हुन्,
ठान्दैछु छातीको एक खण्डै खाली छ कलेजी झरेर।
७) मुक्तक
जुरुक्कै उठ्यौ हे पलेटी कसेसी,
तिमी दूर भाग्यौ म आई बसेसी।
नठान्नू मजाले तिमी चैन भोग्छ्यौ,
कहाँ भाग्न सक्छ्यौ हियो नै घसेसी।
८) मुक्तक
म आगो भएको सहेनौ कदापि,
म आगै उचाली दगुर्थेँ तथापि।
नदीको नाम विलीन समुद्र बेटेसी,
छाडिद्यौ रुन अब अलापीअलापी।
९) मुक्तक
चिन्नेका लागि साग नचिन्नेको लागि झार बन्छ,
हिजो सजाएको गलाको हार आज भार बन्छ।
यस्तै हो महोदय, यहाँ पाइलापाइलामा डर छ,
हिंड्न नजाने दैलाठेला पनि तरवारको धार बन्छ।
१०) मुक्तक
एक्लै पो गएछु म तिम्रो नजरमा,
र स्वार्थी भएछु म तिम्रो नजरमा।
सँगै त्यो सगरमा उडौंला म भन्थें,
झर्याम्मै खसेछु म तिम्रो नजरमा।
प्रकाशित: १८ पुस २०८१ ११:३४ बिहीबार