२७ मंसिर २०८१ बिहीबार
image/svg+xml
कला

कला क्षेत्रमा पैसावाला हावी

यस्ताे पनि!

बेलायतमा निम्न मध्यम वर्गीय (वर्किङ क्लास)का कला आकांक्षीहरूलाई संघर्ष गर्न गाह्रो हुँदै जान थालेको छ। सटन ट्रस्टले गरेको एउटा अध्ययनमा उच्च वर्गीय र मध्यम वर्गीय परिवारका सन्तानको ठूलो भिड कला क्षेत्रमा हुन थालेपछि मजदूर परिवारले काम पाउन हम्मे हुन थालेको देखिएको हो। हुनेखानेहरू कला क्षेत्रमा छिरेपछि हुँदाखानेहरूको संघर्ष पहिलेको तुलनामा कठिन हुन थालेको अध्ययनले देखाएको छ।

बेलायतमा ७ प्रतिशत शिक्षितहरूले मात्र निजी स्कूलमा अध्ययन गर्छन्। तीमध्ये ४३ प्रतिशत बेलायती प्रख्यात शास्त्रीय संगीत र ३५ प्रतिशत बाफ्टा नामांकनमा पर्ने फिल्म तथा टेलिभिजन अभिनेताहरू यस्तै निजी स्कूलमा अध्ययन गरेको पाइएको छ।

यस्तै आधाभन्दा बढी शास्त्रीय संगीतज्ञहरूले विशेष किसिमको संगीत विश्वविद्यालयमा अध्ययन गर्ने गरेका छन्। चारमध्ये एक जनाले त रोयल एकाडेमी अफ म्युजिकमा अध्ययन गर्ने गरेका छन्। यस्ता प्रख्यात संस्थालाई विद्यार्थीका बाआमाले ठूलो रकम दानमा दिने गरेका छन्। दान दिएका परिवारका सन्तानले बढी महत्व पाउने हुनाले अक्सफोर्ड वा क्याम्ब्रिजजस्ता प्रख्यात संस्थाबाट मजदूर वर्गका सन्तानले विरलै अध्ययन गर्ने अवसर पाउने गर्छन्।

चर्चित कलाकारहरूमध्ये ६४ प्रतिशतले विश्वविद्यालय अध्ययन गरेका छन्। २९ प्रतिशतले त विशेष किसिमका कला संस्थानहरूबाट अध्ययन गर्ने अवसर पाएका छन्। अक्सब्रिजजस्तो संस्थाबाट अध्ययन गर्नेहरू ९ प्रतिशत र रसेल ग्रुप इन्स्टिच्युटमा अध्ययन गर्नेहरू ६ प्रतिशत खानदानी व्यक्तिहरू छन्।

यद्यपि पप स्टारहरू भने यो मामिलामा भाग्यमानी देखिएका छन्। प्रख्यात पप स्टारहरूमध्ये ८ प्रतिशतले मात्र निजी स्कूलमा अध्ययन गरेका छन् भने २० प्रतिशत विश्वविद्यालयसम्म पुगेका छन्।

‘सिर्जनात्मक क्षेत्रमा प्रस्ट रूपमा धनीमानीका सन्तानको भिड देखिएको छ र खासगरी टेलिभिजन त उनीहरूकै कब्जामा देखिन्छ,’ अध्ययन समूह सटन ट्रस्टको निष्कर्ष छ। यसको अर्थ, गरीव परिवारका क्षमतावान तथा सिर्जनशील युवाहरूलाई शुरुमै बाटो रोकिन्छ र उनीहरूले कला क्षेत्रमा आफ्नो करियरलाई फैलाउन सक्तैनन्।

अक्सफोर्ड, क्याम्ब्रिज, किंग्स कलेज लन्डन र बास कलेजका आधाभन्दा बढी क्रिएटिभ कोर्सका विद्यार्थीहरू उच्च वर्ग तथा उच्च मध्यम वर्गका नै हुने गरेका छन्। यस्ता कलेजमा निम्नमध्यम वर्गीय परिवारका विद्यार्थी निकै कम हुने गरेका छन्। उदाहरणक लागि गरीव परिवारका विद्यार्थीहरू क्याम्ब्रिज र बाथमा चार प्रतिशत, अक्सफोर्ड र ब्रिस्टल कलेजमा पाँच प्रतिशत र म्यानचेस्टरमा ७ प्रतिशतले भाग अध्ययन गर्न पाउने गरेका छन्। 

प्रकाशित: २९ कार्तिक २०८१ ०६:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App