६ मंसिर २०८१ बिहीबार
image/svg+xml
कला

फुर्बाको कम्प्युटर

कथा

भाइब्रेसनले थर्काउँदै फुर्बाको मोबाइलमा नेपाली कर्णप्रिय गीत गुन्जियो, “नेपाली हामी रहौंला कहाँ,नेपालै नरहे ...।”

फोन आएकाले फुर्बाले मोबाइलमा नम्बर हेर्‍यो। नम्बर घरकोजस्तै लागेकाले हत्त न पत्त रिसिभ गर्‍यो, “हेल्लो!”

उताबाट झन् बेतोडले आवाज आयो, “हेलो!”

फोन उसकी श्रीमती अस्पराले गरेकी रहिछे।

“क्यान फोन गारेको? साञ्चै छ?” उसले हतारिएर सोध्यो।

“यहाँ साह्रो पर्‍यो। ज्यानमा सञ्चो छैन। महिना दिनपछि दसैं पनि आइसक्यो। त्यसैले हजुर तुरुन्तै स्वदेश फर्कनुपर्‍यो।”

“केको बिसाञ्चो हो?”

“खोई, जिउ गल्ने, टाउको दुख्ने, रिङ्गटा लाग्ने ...। उठ्न बस्नै गाह्रो पर्‍यो। हजुर एकदुई दिनमै नआए त मेरो मुख पनि देख्न पाउनु हुन्न नि!”

“भार्खर छ माहिना भो, विदेश आको। भिसा र भाडाको खार्च बाल्ल त उठ्यो ...!” बोल्दा बोल्दै मोबाइलमा लाइन काटिएको टुँट् ... टुँट ... टुँ...ट आवाज आयो।

उसले भन्यो, “ला! फोन नि काटिसकेछ। साह्रै गाह्रो पार्‍यो क्यार, आबु ज्यानकै लागि पैसा कामाउनुपार्ने हो, ज्यानै नारहे पैसाको क्या काम! महिना दिनपछि दसैं पनि आइसाक्यो, आब टिकेटसिकेट मिलाएर भोलिपर्सि नै जानुपर्ला!”

तीन दिनको दिनमा ऊ घरमा पुग्यो। घरआँगनमा सानो फूलबारी ऊ जानेबेला जस्तो सफा र चिटिक्क अहिले थिएन। थरीथरीका फूलका बोटहरू र सानो दुबोको चौर घाँसले डसेको होइन बरु फूलको बोटले घाँसलाई डसेको जस्तो प्रतीत हुन्थ्यो किनकि त्यहाँ फूलको भन्दा घाँसको उपस्थिति बाक्लो थियो।

उसले मनमनै सोच्यो,“साँच्चै, अप्सरे ता बिरामीले साह्रै थला परिछ क्यारे! त्यै भाएर बगैंचा पनि बिरामी पो छा त!”

ऊ भित्रभित्रै आत्तियो। मूलढोका भित्रैबाट बन्द थियो। तसर्थ उसले घण्टी थिच्यो। ‘टिङटिङ’ एकैछिनमा ढोका खुल्यो। अप्सराले अचानक आफ्नो अगाडि लोग्नेलाई देखेर अचम्म मान्दै, सपनामै छु कि जस्तो गरी एकपलका लागि अपत्यारिलो नजरले हेर्दै झ्याम्म अँगालो मार्दै बोल्छे, “आम्मै, कत्ति छिट्टो! कस्तो सप्रराइज! एयरपोर्टमा लिन आइजो भन्नु पर्दैन?”

बिरामी छे भनेकी श्रीमती त हट्टाकट्टा,अझ पहिलेभन्दा केही मोटीघाटी देखेर फुर्बा छक्क परेर हेरी नसक्दै जहानको प्रश्नको जवाफ दियो, “तिमी बिरामी छौ भानेर नि! बिरामीलाई किन दुःखा दिऊँ भानेर भन्दै नभनी सिधै आएँ।”

“हजुर पनि मलाई कत्ति माया गर्नुहुन्छ। अस्तिअस्ति त हो नि झन्डै हजुरले मेरो मुखै देख्न नपाकाे। बल्ल हिजोबाट त उठेको। जाऊँ भित्र!”

मनभित्रका पीडा र डरलाई हल्का मुस्कानले छोप्दै अप्सरा जवाफ दिन्छे। भुइँमा राखिएका उसको सुटकेस र झोला एक अर्काले बोकेर घरभित्र पसे।

ऊ फर्केको पन्ध्रौं दिन बित्यो। त्यतिका दिनसम्म आरामसाराम, साथीभाइ, छरछिमेकलाई भेटेरै बितायो। बिहानी समय थियो, बगैंचामा बसेर फुर्बा चिया पिउँदै थियो। यी दिनहरूमा उसको मेहनतको कारण बगैंचामा जेलिएका घाँसहरू करिबकरिब सबै हराइसकेकाले दसैंको स्वागत उसले राम्ररी गरिरहेझैं लाग्थ्यो। त्यति नै खेर अप्सरा आएर भन्छे, “फुर्बा, हेर्नोस् न। हजुर आइपुग्दा मेरो मैना पुगेको थियो। आज पन्ध्र दिन नाघिसक्यो, पिरेड भएन।”

“क्यान भाएन त? त्यै हुनलाई पो आस्तिआस्ति बिरामी पारेको हो कि?”

“कुन्नि त मलाई  के था’! एकचोटि जँचाउन जाऊँ न प्लिज! मेरो पेट नि दुखेको दुख्यै छ।”

फुर्बाले भन्यो,“हुन्छा, जाऊँ!” 

डाक्टरले अप्सराको दुखेको पेट छाम्दै सोधे, “महिनावारी रोकिएको कति भयो?”  

“त... ती... होइन, डेढ महिना भयो।”

अप्सराले अकमकिंदै जवाफ दिई। फुर्बा यी सबै दृश्य कुतूहलवश हेरिरहेको थियो।

“चक्कर आउँछ? उल्टी हुन्छ?” डाक्टरको प्रश्नको उसले जवाफ दिई, “कहिलेकाहीं आउँछ।”

डाक्टरले  भने, “खासै  केही देखिन्न। एकपटक ‘पिसाब चेक’ गरेर हेर्नुपर्‍यो। यो चेक गर्नुहोला।”

“हुन्छ।”

उनीहरूले पिसाब परीक्षण गरेर डाक्टरलाई देखाए। डाक्टरले रिपोर्ट हेरेर भने, “बधाई छ! तपाईं आमा बन्दै हुनुहुन्छ।”

यो सुनेर उनीहरू खुसी भएर एक अर्कालाई हेर्दै मुस्कुराए। अप्सराको मुस्कानभित्र कताकता डराएको जस्तो भाव झल्किएको कसैले पनि वास्ता गरेनन्।

“धन्यवाद डाक्टर साब!” फुर्बाको धन्यवादको जवाफ अलिकति शिर झुकाउँदै डाक्टरले भने, “धन्यवाद! अब अर्को महिना आउनुहोला। त्यतिबेला भिडियो एक्सरे गरेर हेर्नुपर्दछ। अहिलेलाई नियमित यो आइरन चक्की सेवन गर्नु होला।”

“हस् डाक्टर!” यत्ति भन्दै उनीहरू ओठमा मधुर मुस्कान लिएर घर फर्किए।

पत्नी दुई जिउ भएकीले फुर्बा अत्यन्तै खुसी भयो। तसर्थ सन्तानको बाबु हुन आँटेको, अनि घरमा कोही नभएकाले घरगृहस्थीका काम आफैँ गर्न थाल्यो। दसैँ आउन लागेकाले अघिपछिभन्दा सफासुग्घरका कामहरू अलि बढी नै थिए। त्यसैले श्रीमानले मात्रै  काम गरेको अप्ठेरो मानेर अप्सराले सहयोग गर्न खोज्दा ऊ भन्थ्यो, “नागर, नागर! बिहे गारेको यातिका वर्षपछि बाल्ल त हामी सन्तानको बाबुआमा बन्दै छ। पहिलाको जास्तो फेरि खेरा गयो भने ...!” भनरे गर्न नै दिंदैन थियो। विदेशमा काम छोड्नु परेर धन हानि भए पनि स्वदेशमा सन्तान सुख हुन लागेकाले ऊ मनमनै हर्षित थियो।

सोच्थ्यो, “यही सन्तानको सुख दिनालाई सायद भगवान्ले मलाई स्वदेश बोलाएका राहेछन् क्यारे!”

दसैँ आयो। गर्भमा  रहेको सन्तानले यो संसारको सुख देख्न पाउने आशा गर्दै उनीहरूले हर्षोल्लासपूर्वक दसैं मनाए। आफूले मान्यजनको हातबाट टीका लाउन नपाए पनि आफ्नो सन्तानलाई भने रातो टीका र पहेंलो जमरा लगाइदिंदै आशिष दिएको कल्पना गरे।

हुन त उनीहरूको मातापिता गाउँमै थिए। अन्तर्जातीय विवाहका कारण उनीहरूलाई समाजले अस्वीकारेकाले गाउँमा चाहेरै पनि जान सक्ने थिएनन्। त्यसैले फुर्बाले बाबुआमाको मन्जुरीमा गैह्रीखेत र घरपाटो चलनचल्तीभन्दा दोब्बर सस्तो मूल्यमा बेचेर यता शहरको चर्को भाउ तिरेर सानो घडेरी किनी त्यसैमा आफूलाई पुग्ने गरी घर बनाएको थियो।

स्वदेशमा राजनीतिक अस्थिरताका कारण भएका कलकारखाना पनि बन्द हुँदै गएकाले रोजगारीको अवसर थिएन। त्यसैले बुढेसकालका लागि धनको जोहो गर्न ऊ विदेश हानिएको थियो।

पहिलोपटक डाक्टरलाई भेटेको महिना दिन पुगेको केही दिनमै तिहार आइरहेको थियो। तिहारलाई चाहिने झिलिमिलीका सामानहरू पनि किन्नुपर्‍यो अनि डाक्टरलाई पनि भेट्नुपर्‍यो भनेर उनीहरू क्लिनिक गए।

डाक्टरले बेडमा पल्टिएकी अप्सराको टिसर्ट नाभीभन्दा माथि सार्न लगाए। फराकिलो कम्मरपेटीले छोपेको पाइन्ट केही तल सार्न लगाए। अब नाभीभन्दा तलसम्मको गोरो पेट प्रस्ट देखिन्थ्यो।

डाक्टरले कम्प्युटरको मोनिटरमा हेर्दै भिडियो एक्सरेको प्रोब अप्सराको पेटमाथि घुमाउन थाले। मोनिटरमा केही डल्लो आकार देखिन्थ्यो। यो दृश्य उभिएरै फुर्बाले पनि हेरिरहेकै थियो। जीवनमा पहिलोपल्ट देखेको दृश्यले उसमा कुतूहल छाएको थियो।

डाक्टरले सोधे, “महिनावारी रोकिएको कति भयो?” “साढे दुई महिना!” निर्धक्क भएर यसपल्ट फुर्बाले जवाफ दियो।

“अरे, भिडियोमा त चार महिनाको जत्रो देखिएको छ। कहीँ तपाईंले बिर्सनु पो भयो कि?”

“डाक्टरसाब, म विदेशबाटै फार्किएको डेढ माहिना भो भाने कासरी चार महिना हुन्छा?”

, “ए हो र! मेसिनको गडबडी भयो होला।” एकछिन रोकिएर डाक्टरले फेरि भने, “तपाईं एकैछिन बाहिर जानोस् न! यहाँ बिरामीलाई अप्ठेरो भो!”

डाक्टरको  आदेशले  फुर्बा  बाहिर निस्कियो। बाहिर निस्केपछि फुर्बाको मन आत्तियो। उसले के भयो होला भन्दै घरीघरी ढोकाबाट चिहाउन थाल्यो। डाक्टर केही कुरा सोध्दै  गरेको देखिन्थ्यो। केही क्षणपछि अप्सरा बाहिर निस्कनासाथ फुर्बाले सोध्यो, “म बाहिर निस्केपछि डाक्टरले के भने?” अप्सरा केही क्षणसम्म बोलिन।

“भन न!” ऊ हल्का झस्किई र भनी, “डाक्टरले भन्दै थिए, पेटमा बच्चा उल्टो बसेको छ रे! अनि अर्को हप्ता आउनुपर्छ रे!”

“ए! कासरी त्यास्तो भाएछ? आब के गर्ने होला?” फुर्बाले अलि आत्तिएर बोल्यो।

“आत्तिनु पर्दैन रे, दबाई खाएर र हल्का शारीरिक व्यायाम गरेमा ठीक हुन्छ रे!”

झकिझकाउ बजारको माझबाट तिहारको किनमेल सकेर घरमा पुगेपछि पनि फुर्बालाई चिन्ताले सताइरह्यो। “चार महिनाको जात्रो छ” भन्ने डाक्टरको भनाइ उसको दिमागमा घुमिरहन थाल्यो; जसरी बलेसीमा परेको पानी बग्दा पानीको फोका घुम्दै बग्ने गर्दछ। ऊ घरी यता, घरी उता गरिरह्यो। दिमाग भारी भएर आलसतालस हुन थालेपछि ऊ आराम गर्न एउटा छुट्टै कोठाभित्र छिर्‍यो। त्यस कोठामा सानो टेबलमाथि कम्प्युटर थियो। एक साइडमा सानो आकारको लोपेटले कोठा शान्त भएको झल्को दिइरहेको थियो। आक्कलझुक्कल मात्रै त्यस कोठाभित्र पस्ने ऊ विदेशबाट फर्केपछि आजै पहिलोपल्ट पसेको थियो। भित्र कोठामा धुलोको कण जमेको देखिन्थ्यो। कहिल्यै कोठा नखोलेकाले, अर्कै खाले ग्याँस पनि आइरहेको थियो।

बिस्तारै त्यस कोठाको ग्याँस बाहिर निस्कने क्रममा उसले जमेका धूलोहरू पुछेर बस्नलाई रहरलाग्दो बनायो। पङ्खा चलायो। कोठा ताजा भएपछि ढोका थुनेर बस्यो। प्रायः जसो त्यस कोठमामा ऊ एक्लै बस्दथ्यो, दुईतीन घण्टा।

यस पटक त ऊ पहिले भन्दा धेरै, पाँच घण्टा बसेर निस्कियो। त्यस कोठाबाट निस्किँदा सधैं अनुहारमा कान्ति छाएर, पूर्ण रूपमा ताजा भएर निस्कने फुर्बाको मुहार त्यस दिन मलिन थियो। कताकता के हराए जस्तो, के गुमाए जस्तो, के नपुगे जस्तो, के नपाए जस्तो उसलाई महसुस भइरहेको थियो।

उता अर्को कोठामा अप्सरा जिउ भारी भएर असजिलो भएकोले पल्टिरहेकी थिई। भित्रभित्र छटपटी र डाहाले भरिएको तथा पहाडैले थिचेजस्तो गरी गह्रुङ्गो भएको छाती लिएर फुर्बा अप्सरा सुतेको कोठामा आएर सोध्यो, “अप्सरा! म गाएपछि हाम्रो घरमा तिम्रा र मेरा मिल्ने साथीहरू आए होलान् हगि?”

पेटभित्र  सललल्ल भ्रूण चली अप्ठेरो भएर पल्टेकी अप्सराले नमीठो मुख लाउँदै, “आए।”

“कोको?”

“यही मेरो साथी उमा, रीता, अनि हजुरको साथी रमेश!”

“त्यति मात्रै आरू पनि त आए होलान् नि! त्यो बाहुनको बच्चा उमेश आएना?”

“हँ! (झस्किदै) कहिलेकाहीं आउनुहुन्थ्यो। किन सोध्नुभएको?”

“काहिलेकाहीं रमेशले अनलाइनमा उसले तिम्रो हालखबर बुझेर आएको भान्दथ्यो। त्यही भाएर...! अनि साथीहरूलाई सत्कार त राम्रैसँग गारी होलिऊ नि!” 

“गरेँ। घरमा आएको पाहुना देवता समान हुन्छ भन्छन्। आफ्नो इज्जत जोगाउन भए पनि उनीहरूको मान त राख्नै पर्‍यो नि!”

“गुड! अनि मान राख्न केके गार्‍यौ? भान त!” अनायास फुर्बाको प्रश्न सुनेर अप्सराको मनमा भुइँचालो गएकोजस्तै कम्पन भयो। केही काँप्दै भनी, “केही पनि गरिनँ। तर चिसो, तातो, खाना,खाजाचाहिं राम्रै खुवाएँ। ... होइन हजुर यस्ता कुरा किन गर्नुहुन्छ? नगर्नोस् न प्लिज! मेरो पेट दुखिरहेको छ के!”

“हेर कुरा भार्खर सुरु भाएको छ। यसलाई अन्त्य त गर्नु नै पर्दछ। मेरो मनलाई शान्ति दिना पनि यो कुरा खुलस्ता गार्नुपर्छ। तिम्रो पेट दुख्ने कारण म होइना, तिमी स्वयं आफैँ हौ।”

“अँ,मेरो मात्रै कारण होला नि! हजुर नभएको भए मेरो पेटमा बच्चा कसरी आयो?”

“त्यो बच्चा मेरो होइना। गिराइदेऊ त्यसलाई। यदि हाम्रो सम्बन्धमा कुनै गडबडी नल्याउने हो भने!”

“आम्मै, हजुर त कस्तो, छ्या! लोग्नेमान्छे भएर नि यस्तो नामर्द जस्तो कुरा गर्छन् त? कसरी हजुरको होइन यो बच्चा? भन्नोस् त!”

“आघि डाक्टरले भान्दै थियो नि चार महिना जास्तो देखिन्छ भानेर। अनि चार महिना अघि म विदेशमा थियो। के त्यो प्रमाण होइना?”

“डाक्टरले त कहिलेकाहीँ भिडियो एक्सरे मेसिनले गल्ती देखाउँछ नि त भन्दै थिए नि!”

“त्यो, त्यसको भनाइ हाम्रो दाम्पत्य जीवनमा फाटो नआओस् भानेर आएको हुनुपर्छ।”

“अहँ, हुँदै होइन। मेसिनले गल्ती देखायो भनेरै त हजुरलाई बाहिर पठायो नि डाक्टरले!”

“अँ हुन्छा नि काहीं नपाएर। तिमी बाहुनीहरू कति छिटो कुरा बदल्न साक्छौं हँ? कति छिटो पाप गरेर धर्म गरेँ भन्न सक्दछौं। तिम्रै रूपको कारण मैले मेरो परिवार, सेर्पा समुदाय नै परित्याग गरेँ। आफ्ना बाआमा गाउँमा एक्लै छोडेर यास आन्जान शहरमा बसें। तर तिमी भाने...! आब तिमीले यस बच्चाको नामोनिशान मेटाउनै पार्दछ। अनि  आबदेखि हामी स्वदेश,विदेश जहाँ भए पनि सँगसँगै बास्नुपर्छ।”

“होइन, कहिल्यै रक्सी नखाने हजुरले आज किन मातेको कुरा गर्नुहुन्छ? रक्सीको सुरमा ख्यालख्याल गर्दा गर्दै आफ्नै जहान काटेको पत्तै नपाउने अरू सेर्पाभन्दा भिन्न स्वभाव भएकैले त मैले हजुरसँग बिहे गरेँ नि! मैले पनि त आफ्नो सबै परिवार त्यागेकै छु नि! कसले पो मलाई राम्रो भन्दछ र?”

“म मातेको होइना अप्सरा! मातेको सुरमा तिमीले चाहिं आरूकै पाप बोकेकी छ्यौ।”

एक सासमा आक्रोशले भरिएको फुर्बाको आवाज सुनेर अप्सरा पनि भित्रभित्रै डराएर झोक्किँदै भन्दछे,“मैले कसको पाप बोकेँ? के प्रमाण छ यसको हजुरसँग?”

“तिमी प्रमाण चाहन्छौं? आऊ कम्प्युटर कोठामा।”

दुवै जना कम्प्युटर कोठामा पसेपछि फुर्बाले भन्यो, “तिमी याद गर! म विदेश जानुभन्दा छ महिना अगाडि यस घरमा चोर पासेर हाम्रो धनमाल कति हराएको थियो! त्यसैको फलस्वरूप मैले यास घरमा सर्तकता अपनाएको थियो।”

अप्सराले मौन सहमति जनाई। उसले कम्प्युटर ‘अन’ गर्‍यो। कम्प्युटर खुलेपछि एउटा फाइलमा क्लिक गर्‍यो। एकैछिनमा त्यहाँ बितेका घटनाहरू एकएक गर्दै चल्न थाले। बैठक कोठामा छुट्टिने बेला उनीहरू दुवैको अश्रुधारा बगेको दृश्य चल्यो। ऊ विदेशिएपछि उदास अनुहार लगाएर अप्सरा धेरै दिनसम्म सोफामा पल्टिरहेको दृश्य चल्यो। उनीहरूका साथीहरू कहिलेकाहीँ आएर रमाइलो गरेका दृश्यहरू चले।

अप्सरा छक्क मान्दै यी दृश्यहरू हेर्दै थिई। उसलाई थाहै थिएन यी दृश्यहरू कसरी आए होलान् भनेर। त्यत्तिकैमा एकदिन अप्सराको पुरुष साथी आएर टिभी हेर्दै गरेको दृश्य चल्यो। टिभी अप्सरा र त्यो साथी एउटै लामो सोफामा बसेर हेर्दै थिए। उत्तिखेरै त्यो साथीले आफ्नो मोबाइल झिक्यो अनि भन्यो, “मसँग विदेशी नायिका लगायत हाम्रै देशका चर्चित नायिकाहरूको ‘रोमान्टिक सिन’ छ, हेर्छ्याै अप्सरा?”

नेपाली नायिकाको अश्लील सिनको बारेमा धेरै सुनेकी अप्सराले अप्ठेरो मान्दै कुतूहल जनाई, “नेपाली त्यो चर्चित नायिकाको चाहिं एकचोटि हेरौँ न त!”

उनले त्यति भन्नासाथ उसले मोबाइलमा ती नायिकाको नग्न लीला देखायो। आँखा झिमिक्कै नपारी एकतमासले हेर्दै गर्दा अप्सरा र त्यो साथीको शरीरले एक अर्कालाई छोयो।

बिस्तारैबिस्तारै दुवैमा विवेक शून्यता छाउन थाल्यो। एक अर्काका शरीर बोल्न थाले। अप्सराले आफ्नो सिमाना बिर्सिन थाली। त्यो साथीले अप्सराको हातमाथि हात राख्यो। अप्सराले केही बोलिन। उसले हरियो बत्ती बलेको ठान्यो। बिस्तारै हात अघि सर्दै उनको छातीमा रगडियो।

यति हुँदा पनि अप्सराले कुनै प्रतिवाद नगरेपछि उसको हिम्मत बढ्यो। हेर्दा हेर्दै उनलाई पनि त्यो साथीले बिस्तारै नङ्ग्यायो ती नायिकालाई जस्तै गरी। अनि ठ्याक्कै नायक,नायिकाकै सिको गरी अप्सरा र त्यो साथीले यौवनको मज्जा लिइरहेको दृश्य चलिरह्यो। केहीबेरपछि दुवैको शरीर शिथिल भयो। अब बल्ल विवेकले काम सुरु गर्न थाल्यो।

अप्सराले रुँदै भनी, “आम्मै! मैले  तिमीलाई फुर्बाजस्तै देखेर ठूलो पाप गर्न पुगेँ।”

“यो पाप होइन, धर्म हो। शारीरिको भोक मेट्नु धर्म त हो नि! तिमी नडराऊ, म छँदै छु नि!” त्यो साथीले भन्यो।

“नाइँ मैले पहिलोपल्ट गल्ती गर्न पुगेँ। म फुर्बालाई धोका दिन चाहन्नँ थिएँ।”

“अब जे नहुनुथ्यो, त्यो भइसक्यो। बितेका पल फर्काउन सकिन्न।”

साथीको उत्तरले केही साम्य हुँदै उसले भनी, “केही गरी गर्भ बस्यो भने के गर्ने?”

त्यो साथीले स्वार्थवश सल्लाह दियो, “तिम्रो पिरेड भएन भने, बूढालाई बोलाऊ न  बिरामी परेँ भनेर! दुईतीन महिना ढिलो आए पनि फरक पर्दैन क्यारे! आखिर सात महिनामा पनि आइमाईले बच्चा पाएकै छन्।”

यी सबै दृश्य हेरिरहेकी अप्सरा अब उम्किने ठाउँ नदेखी जोडजोडले रुन थाली। अनि सोधी, “यो कसरी आयो कम्प्युटरमा?”

सम्हालिंदै गम्भीर भावमा फुर्बाले भन्यो,“चोर छिरेर धनमाल हाराएपाछि, फेरि आरू पस्यो भने चिनियोस् भनेर मैले बैठक कोठमा गोप्य रूपमा सीसी क्यामेरा जडान गरेको थियो। त्यही सीसी क्यामेराले आज चोर पाक्डियो।”

“मैले हजुरलाई धोका दिएँ। मलाई मार्नोस्!” भन्दै “ऊँ ... हुँ ... हुँ...” गरी रुन थाली।

रुँदै गरेकी श्रीमतीलाई सम्झाउँदै उसले भन्यो, “एक्काइसौँ शताब्दीमा तिम्रो पाप क्षम्य छ अप्सरा! यो तिम्रो दोष होइना, जवानीको दोष हो। हामीले बैंसमा एक अर्काबाट छुट्टिएर बास्नु नै हाम्रो गल्ती हो।

त्यसैले आफूलाई निश्चिन्त पार्न हामीले आआफ्ना मनभित्रका भ्रम हटाउनुपार्छ। पश्चात्तापको जलले तिमीबाट हुन गएको भूलको मैलो आवश्य पखाल्ने छ। म तिमीलाई धेरै माया गर्ने हुँदा तिम्रो जिउँदोजाग्दो जीवन नै तिमीलाई सजाय भो। ...तिम्रो जिउँदोजाग्दो जीवन नै तिमीलाई सजाय भो ...!”

(कथाकार पण्डितकाे आधुनिक माधवी कथासंग्रहमा सङ्गृहीत।)

प्रकाशित: १७ वैशाख २०८१ ०९:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App