१६ वैशाख २०८१ आइतबार
image/svg+xml
कला

मुख्यमन्त्री कार्कीले हेरे ‘गोर्खा वारियर’, मेयर साम्पाङ रोए

नेपाली चलचित्र गोर्खा वारियरको शनिबार धरानमा प्रिमियर शोमा कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की पनि सहभागी भएका छन्।

फिल्मको शनिबार धरान–८ स्थित फ्रेन्ड्स सिनेमामा रेड कार्पेटमा प्रिमियर शो गरिएको थियो। मुख्यमन्त्री कार्कीसँगै प्रदेशसभा सदस्यद्धय रमेश बस्नेत र विजय राई, मेयर हर्क साम्पाङ, उपमेयर अइन्द्रबिक्रम बेघाले पनि उक्त फिल्म हेरेका थिए।

प्रिमियर शो हुनुअघि धरानको छाताचोकदेखि बाजागाजासहित साँस्कृतिक र्याली पनि निकालिएको थियो। र्यालीमा मेयर साम्पाङसँगै चलचित्रका नायक रितेश चाम्स, नायिका रेविका गुरुङ, रेयर राईलगायत कलाकारहरु पनि सहभागी थिए।

र्‍यालीमा सहभागीहरुलाई फ्रेन्ड्स सिनेमाको आँगनमा रेड कार्पेटमा स्वागत गरिएको थियो। मलायाको जंगलमा भएको युद्धको वास्तविक घटनामा आधारित भएर तयार गरिएको चलचित्र हेर्दै गर्दा धेरैको आँखा रसाएको प्रतिक्रिया दिएका छन्।

लाहुरेहरुको सहर धरानका दर्शकहरुले आफ्नै बुबा, बाजेहरुले भोगेको र सुनाएको कथा चलचित्रमा पाएको प्रतिक्रिया दिए। मुख्यमन्त्री कार्कीले फिल्म हेरेपछि गोर्खालीहरुले देशको गौरव राखेको प्रतिक्रिया दिदै फिल्मले गोर्खा सैनिकहरुको इतिहास, गौरव र वीरताको इतिहासलाई जिवित राखेको बताए।

‘यो फिल्मले हाम्रो इतिहास, पुर्खाको गौरव र वीरतालाई जस्ताको तस्तै उतारेर नयाँ पुस्तालाई पुर्खाहरुको वीरताप्रति गौरव गर्ने ज्युँउदो इतिहास देखाइदिएको छ,’उनले नागरिकन्यूजसँग भने।

मेयर साम्पाङले फिल्मलाई व्याख्या गर्ने शब्द नभएको बताए। फिल्म हेरिरहँदा आफु धेरै जसो समय रोएको भन्दै उनले लाहुरेहरुको पीडा अनुभूत गरेको प्रतिक्रिया दिए।

‘आमा र श्रीमतिले पर्खनुपरेको पीडा, आमाले छोराको तस्बिर हेर्दै देह त्याग गर्नुपर्ने अवस्था। उता अनेक संघर्ष र पीडा सहेर लड्नुपर्ने अवस्था, साथीभाईलाई सद्गद गर्नुपर्ने अवस्था, यी सम्पुर्ण कुरालाई छोइरहेको थियो,’मेयर साम्पाङले भने,‘सबैले हेर्नुपर्छ, तर बिशेष गरेर लाहुरे परिवारको सदस्यले त हेर्नै पर्छ। हामी घर बनाउन गएका हौ नि, तर हेर्नुस् त कति दुःख रहेछ?’

वीर गोर्खा सैनिकहरुले युद्धको क्रममा भोग्नुपरेको दर्दनाक पीडा, यता गाउँमा आफ्नो छोराको बाटो हेरिरहेकी  बृद्धा आमा र लाहुरेको पर्खाइमा रहेकी श्रीमतिको पीडालाई गोर्खा वारियरले उनेको छ।

फिल्म हेरेपछि समाजसेवी गंगा लिम्बुले आफुलाई स्वर्गीय बुबाको याद दिलाएको बताइन्। यस्तै, समाजसेवी शिव वान्तवा राईले फिल्म हेरुञ्जेल आफुले बुबा र भाईलाई सम्झिएर रोएको बताइन्।

प्रकाशित: ६ फाल्गुन २०८० ११:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App