सग्लो घर आफैंमा सिंगो एक संग्रहालय बन्छ। बनेको हुन्छ आफैंमा। आफैंसित विमर्श गर्नु पर्दो रहेछ। गरें। एकपटक होइन, बारम्बार, दोहोर्याई, तेहर्याई। लाग्छ, जीवन एक गतिमान ओहरदोहर। आउँछु, जान्छु। आयो, गयो। गतिमान चाल। गतिशील चालको चलायमान गति। गतिशील गति। मानौं क्षण, घडी, पलाका संग्रहणीय पल।
अमूर्त–मूर्तताका क्षणहरू। हामीमध्ये कोही कसैले मात्र हुन्छौं गरेका संग्रह। प्रायः गर्दैनौं। आउँदै आउँदो रहेनछ ज्ञान हतपत। संग्रहणीय क्षणहरूको चेत त सिर्जनात्मक क्षणका क्रियाशील। तिनै शील बोधिज्ञान तत्त्व बन्छ, बनेको छ।
झन्डै आठ दशक पर्यन्तका चेततत्त्व भनौं, बोधितत्त्वमाथि चेतनाले कसो कसो कुत्कुत्याए। यो क्षण! त्यस्ता सद्चेत, सद्विचार, सद्चिन्तनका कापकापबाट टप्किँदा रहेछन्। तथापि हामीले त्यस्ता सद्विवेकलाई आफैंले सँगाल्न सकिरहेका हुन्नौं। सक्नुपर्दो रहेछ हामीले। हामी बन्न आफैं। यो केवल आफ्नै जीवनको अनुभूति बन्यो। क्या जीवन आहा !
प्रत्येक पल–क्षण जीवन्त। तन्मय चिन्तन। मनग्य मगनमस्ती हाम्रै आफ्नै। हुन्छ चाहिएको लगाव। चिन्मय चाहना। चाहना मनैदेखिको सदाबहार। हार हुन्न कहिल्यै मन बहलिएसम्म। बहलाउन सक्नुमै हुन्छ बहार। हराभरा हरियो। बहारैबहार हरियो वासन्ती जीवन। पलपलमा हरियोपरियो यौवनमय जीवन बहार। हार होइन, बहार जीवन! मंगलमय गान ! गान मगनमस्त। मंगलगान। जीवन वरदान! सान जीवन वरदान। वरदान अनकन्टार।
भेट्नै कठिन, दुर्लभ सान–मान। हैरान लाग्दो प्रयासमय, उपलब्धिमय सान। जीवन्त जीवन सान। उपलब्धिमय जीवन सान। अत्यन्त महान्। महानताभित्र हुन्छ लुकेको महान् भावमय जीवनसार। हुन्छ लुकेको जीवनसार, मजाले सान। अद्यावधिक जीवनसार।
बस्छन् घरमा परिवार। बन्छ सहभावपूर्ण, सद्भावनापुञ्ज निष्ठा घर। घर निष्ठा, क्या आनन्ददायक। स्वर्गकै अनुभूति बन्छ सग्लोघर, सिंगो परिवार। हो, स्वर्गको बनेको आख्यान, त्यसैले जहाँ झल्किन्छ, झुल्किन्छ नापूँतापूँ लाग्दो– मन तान्दो सुमधुर घाम। कताकताको कहाँकहाँको अनकन्टार स्थल पुग्छन्। पुगेथें आफैं। पाइला चाल्दै। उचाल्दै आफैलाई। लहसिएर नबहकिएर।
मतापमा आफ्नै। लक्ष भाँपेर, उद्देश्य ताकेर। बैंसले उभारेको उहापोह। कहाली लाग्छ अहिले यो बैंस धारण गर्दागर्दै। उहिलेको साहस बैंस चढेको समयमा दुस्साहस जँचिन्छ आफैलाई यो समय। तासिर समयको।
लाग्छ कसैलाई केके! उपाय साधनामय जीवन वरदान। साधना योग। योग जीवन। योग विहीनता जीवन विमुखता। संयोग अनि वियोग आफ्नै मानस तत्परता। तत्परता विहीन बन्नु अल्छीपन !
संस्कृत वाङ्मयमा भनिएको छ, ‘आलस्य कार्य नासाय, निर्धनं बुद्धि नासाय !’ भनाइको रहस्य-अल्छी बने काम बिग्रन्छ, गरिब बने बुद्धि विनाश हुन्छ। अल्छी बने काम बिग्रन्छ। काम बिग्रे निराश भइन्छ। निराश मनस्थितिले भरङ्गिन्छ गति जीवनको। ‘विनाशकाले विपरीत बुद्धि’ भनिएको छ मात्र कहाँ हो र? बिगार्ने अरूले होइन, आफ्नै मति भ्रष्टताले! मति भ्रष्ट हुनबाट जोगिनु जीवनको श्रेष्ठता।
दीक्षित हामी रजपुत मल्लकालीन कुलघरानियाँ। उहिलेको कुरा खुइलिएका। दास हामी समय परिस्थितिका। यस बखतका परिस्थितिमा खुइलिएका। रहन्छ एक नास कहाँ र सदाबहार! प्रकृति पर्यावरण भूभौतिक संरचना यस्तै। ‘प्रकृति विरुद्धम् नाचरणीयम्’ भनिएको त्यसै किन हुँदो हो।
प्रकृति–पर्यावरणसित लहसिँदै हुर्किएका चेतभन्दा माथिका को हौं र हामी? ठिक यसैबेला ‘नागरिक दैनिक’ आइपुग्यो। अग्रपृष्ठमै आकर्षक शीर्षक ‘सरकारको एक वर्ष: लोक–रिझ्याइँमा सफल, जनअपेक्षामा असफल।’
आँखा लोभ्याउँदो, मन हल्लाउँदो समाचार सम्प्रेषण भएको पाएँ। पढ्दै, मनमनै विश्लेषण गरें। समाचारभित्र अत्यन्त पेचिला, घुइरो–घुइरो सुइरो मर्महरू पटाक्षेपपूर्ण अनुभूत गरें। सग्लो घर संग्रहालय-दीक्षित परिवारको मर्म बोधितत्त्व भेटिँदा रहेछन्, समाचार संहितामा पनि।
प्रकाशित: १४ पुस २०८० ०४:०८ शनिबार