राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले शनिबार चितवनको भरतपुरबाट ‘जनयात्रा’ कार्यक्रम शुभारम्भ गरेको छ।
पार्टी सभापति रवि लामिछाने प्रहरी हिरासतमा रहेका बेला उपसभापति, सांसद र केन्द्रीय सदस्यहरूले भरतपुर–१० को गेष्ट हाउस चौरमा घण्टी बजाएर कार्यक्रमको औपचारिक सुरुवात गरेका हुन्।
यो अभियान पार्टीको केन्द्रीय समिति बैठकको निर्णयअनुसार जनतासँग जोडिन आयोजना गरिएको हो।
शुक्रबार साँझ बुटवल उच्च अदालतको तुलसीपुर इजलासले सभापति लामिछानेलाई थुनामा पठाउने आदेश जारी गरेपछि उनी हाल प्रहरी हिरासतमा छन्।
पक्राउ पर्नुअघि उनले जनयात्रा कार्यक्रम नरोक्न पार्टी नेतृत्वलाई निर्देशन दिएका थिए। शनिबारको कार्यक्रममा लामिछानेले सहभागी भएर सम्बोधन गर्ने र आफू गृहमन्त्री रहेको बेला दाहाल नेतृत्वको सरकार किन ढालियो भन्ने खुलासा गर्ने उद्घोष गरेका थिए।
तर, अदालतको आदेशका कारण उनी उपस्थित हुन सकेनन्।
रास्वपाले जनयात्रामार्फत जनताका मुद्दा उठाउने र पार्टीको सङ्गठन विस्तार गर्ने लक्ष्य राखेको छ। शुभारम्भ कार्यक्रममा उपस्थित नेताहरूले लामिछानेको निर्देशनअनुसार अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।
पार्टीले यो अभियानलाई देशव्यापी बनाउने योजना बनाएको छ। चितवनबाट सुरु भएको जनयात्राले जनतासँग प्रत्यक्ष संवाद र सहभागितामार्फत राजनीतिक सन्देश प्रवाह गर्ने रास्वपाको भनाइ छ।
प्रकाशित: २३ चैत्र २०८१ १५:२७ शनिबार