२३ भाद्र २०८१ आइतबार
image/svg+xml
कला

प्रज्ञाको ‘विषाणु ऋ’ उपन्यासमा धारावाहिकवाद

पाठक्यौली

एक साँझ, समकालीन साहित्य प्रतिष्ठान, बेलायतका अध्यक्ष तथा पुस्तकका प्रकाशक कृष्ण बजगाईको फोन बाजा बज्यो ‘प्रज्ञाले लेखेको र समकालीन साहित्य प्रतिष्ठान बेलायतले प्रकाशन गरेको ‘विषाणु ऋ’ उपन्यासकाे आफ्नो विचार राखिदिनु न’। यो पत्याइका लागि हार्दिक आभार टक्य्राएँ कृष्ण बजगाई सर।

२०८० सालमा प्रकाशित यो पुस्तकको अग्रभागमा घाइते रूखका बिम्बमा विषाणुका खाटा देखिन्छन्। पश्चभागमा उपन्यासकार प्रज्ञाको तस्वीर र अति छोटो अपुग परिचय छ। यसले उपन्यासकारमा परिचय विमुख हुने रहर देखिन्छ।

उपन्यासकार प्रज्ञासँग मेरो चिनाजानी छैन। यद्यपि त्रिभुवन विश्वविद्यालय, नेपाल कमर्स क्याम्पसमा प्राध्यापन गराउँदै आउनुभएको तथा हाल उच्च शिक्षा अध्ययनका लागि अस्ट्रेलियामा रहनुभएकी प्रज्ञाले साहित्य, सङ्गीत तथा भ्रमण अनुसन्धानमा रुचि राखेको बताउँछ कृति आवरणले।

उपन्यास मूलतः अठार पाठमा विभाजित छ। उपन्यासको मृष्टभूमिका रूपमा ‘म’ शीर्षकमा मनोरोगी म पात्रको अन्तर्य तथा सामाजिक विसङ्गति, महिलालाई गरिने विविध खाले शोषणबाट आत्तिएको अवस्थालाई टङ्कण गरिएको छ।

मनोरोगी म पात्र पूर्वजीवन विशेषज्ञ डा. शंकर नै उपन्यासका प्रमुख पात्र हुन्। डा. शंकरले मनोरोगी म पात्रलाई हिप्नोटाइजका माध्यमबाट पूर्व जीवनमा पुर्याउने र त्यो बेलाको जनजीवन तथा असङ्गत परिदृश्य हेर्ने क्रमका कडीमा उपन्यास बुनिएको छ। पन्ध्र दिनका सेसनका आधारमा देखिएको पूर्वजन्मका घटनाहरूलाई लिपिबद्ध गरिएको छ।

पहिलो दिनको सेसनमा स्वैरकल्पनाका माध्यमबाट पूर्वजन्मका घटना ढुङ्गेधाराको संस्मरण गरिएको छ। दोस्रो दिन पहाडी बाटोमा पानी पनि नपाइने वातावरण, ग्रामीण परिवेश, हजुरआमाको माया तथा परिवेशलाई चित्रण गरिएको छ। तेस्रो दिन बालमनोविज्ञानमा असम्वेदनशील मान्छेको बेहोरा देखाइएको छ। पहाड र मधेसको फरक जीवन उल्लेख गरिएको छ। स्कुलमा दिइने भौतिक तथा मानसिक दण्ड, ट्रमाका कारणले बच्चा स्कुल नजाने र यातनामा पर्ने जस्ता शैक्षिक विसङ्गति देखाइएको छ।

चौथो दिन विभुति र चन्द्रा पात्रका माध्यमबाट बाल यौनमनोविज्ञानका जिजीविषा प्रष्ट पारिएको छ। पाँचौं दिन मालाको मृत्यु र त्यसले पारेको प्रभाव उल्लेख गरिएको छ। त्यसपछि सेसनबाहेकको एकदिन छ शून्य दिन, जसमा पारिजातको ‘शिरिषको फूल’ को पात्रका जिन्दगीसँग याने पारिजातको शून्यवादी थिममा बतासिएर चिन्तन गरिएको छ।

छैटौं दिन प्रेममा जातले गर्दा विछोड भएको मार्मिक दृश्य देखाइएको छ। सातौं दिन भूत तथा महिनावारी हुँदाको मनोविज्ञान तथा अन्धविश्वास, महिला पुरुषको विभेदलाई उजागर गर्ने प्रयत्न गरिएको छ।

आठौं दिन स्कुलमा गरिने बालबालिकाप्रतिको दण्डसजाय र त्यसले पार्ने प्रभावलाई उल्लेख छ। नवौं दिन माओवादी र सरकारी द्वन्द्व र मान्छे बच्चा मारिएको कारुणिक दृश्य समावेश गरिएको छ। दसौं दिन प्रेममा विछोड र त्यसले पारेको प्रभावबारे चित्रण गरिएको छ।

एघारौं दिन मुखिया बाले गाउँलाई कब्जामा लिएको, सिमान्तीकृत जनजाति र महिलाको त श्वास जेनतेन चलेको, पुलिसको शोषण, सामाजिक विभेद, माओवादी विद्रोहका सुरुका अग्रगामी कार्य, तर परिणाम नकारात्मक आदिको चर्चा छ।

बाह्रौ दिन मुसाको चटनी र सिद्राको अचारको माध्यमबाट पहाडबाट बसाई सराइ र मधेसमा वन फँडानी, मधेसको जनजीवन, थारु संस्कृतिको परिचय आदि व्यक्त्याइएको छ। तेह्रौं दिन सर्वसत्व प्रेम र मातृत्वको दृश्य देखाइएको छ। बच्चा जन्माउन नचाहने आमा तथा छोरीपछि छोरा जन्माउनै पर्ने पारिवारिक तथा सामाजिक बाध्यतालाई प्रकट गरिएको छ।

चाैधौं दिन पारिवारिक प्रेम र वैदेशिक रोजगारी, प्रेम र विछोड छन्। पन्ध्रौं दिन कृति शीर्षक समेत रहेको विषाणु ऋ पाठमा वनस्पतिले आफ्नो सुरक्षाका लागि निकाल्ने विशेष चोप ऋ नामक विणाणुको चर्चा गरिएको छ। यो मानवका लागि घातक हुने बताइएको छ।

प्राकृतिक विनाशप्रति तीव्र विद्रोह र चिन्ता गरिएको छ। पृथ्वीको उर्वरा शक्ति ह्रास भएको, वनस्पतिले जीवको थेटा वेभ पढ्ने कल्पना गर्दै मान्छेले पृथ्वीको नेतृत्वकर्ता हुँ भनेर सोच्न छोडेर आन्तरिक यात्रामा परिस्कृत हुनु जरुरी छ भन्ने सन्देश प्रवाह गरिएको छ।

अन्तिमको ‘अहिले’ शीर्षकमा वनस्पतीउन्मुख भएर याने वनस्पति र प्रकृति समुन्द्रको सम्वाद बुझौं भन्ने सन्देश प्रवाह गरेर उपन्यास सकिएको छ।

उपन्यास लेखन लेखकको साधाना, पठन, चिन्तन, मननको उत्कट अभिलाषा तथा क्रियाबाट जन्मन्छ। उपन्यास आख्यानको विश्वप्रसिद्ध तथा स्थापित सिद्धान्तको कडीमा लेखिने हो। जसमा द्वन्द्व प्रधान कुरा हो। दुई विपरीत धारका घटनाका माध्यमबाट द्वन्द्व गराउने र उपन्यासकारलाई ठिक लागेको पात्र वा विचारलाई विजय गराउने क्रिया द्वन्द्व हो।

यसैगरी कथानक निर्माणले द्वन्द्वको उठान, विकास र समापन गर्दछ। कथालाई अभिव्यक्त गर्न मानव वा मानवइतर पात्रको व्यवस्था गरिने हुन्छ। उपन्यासकारलाई सबैभन्दा चुनौती शिल्प भनेको बुनौट हो।

उपन्यासमा वर्णित समय, ठाउँ, वातावरण, जीवन पद्धति, कथाको सम्वेदनशीलता, पाठकको पठनमा मुड बनाउन प्रयोग गरिने सम्वेदनशील तरीका आदिको व्यवस्थापन निकै चुनौती हो। यसो भए पनि उपन्यासकारको केन्द्रीय विचार, सन्देश, प्रयोजन तथा थिम नै उपन्यासको श्वास हो।

माथिका आधारबाट हेर्दा उपन्यास ‘विषाणु ऋ’ शीर्षकनै एकदम आकर्षक देखिन्छ। कृतिको आवरणको पश्चभागमा लेखिएको उपन्यासको अंश ‘ मभित्र अनन्त भोक छ, ...मेरो पाइतालामुनि पुरुष अहङ्कार लम्पसार शव भएको छ। .. मेरो योनिबाट असङ्ख्य जीवहरू जन्मिरहेका छन्। .... म एक्लै सर्जक र विनाशक भएर उभिइरहेकी छु’ ले पाठकलाई आश्चर्यचकित बनाउँछ र पुस्तक पढ्न मोहनी लगाउँछ।

सरल शब्द चयन भएका छन्। सरल र ग्रामीण, बुझिने कथावस्तु तथा परिवेश छन्। कार्यपीठिका नेपालको सुदूर पश्चिमको पहाड तथा तराई रहेका छन्।

उपन्यासकारमा विषयवस्तु सङ्कलन, कल्पना तथा प्रस्तुतीमा शिल्प देखिन्छ। उपन्यासकारको अध्ययनको घेरा सायद फराकिलो हुनुपर्छ। बुनौटमा कथावस्तुलाई चाहिने वातावरण गजबसँग बनाइएको छ। अर्थात् यो उपन्यासमा कथानकलाई चाहिने भौतिक, मानसिक तथा प्राकृतिक वातावरणको चित्रण सुन्दर तरिकाले प्रायोजित गरिएको छ।

उपन्यासको बुनौट शैलीमा स्वप्न शैली, पूर्वदीप्ति शैली, अचेतन मनका कथा भनेर वर्तमानका असंगतिमाथि प्रहार गर्ने शैली आदि छन्। प्रस्तुती शैलीमा आत्मपरकता, मनोवादात्मकता, कल्पनाशीलता, तिलस्मी आदिले प्रधान भूमिका खेलेका छन्। कथा प्रस्तुतिको मूल आधार स्वैरकल्पना देखिन्छ।

नेपाली साहित्यका फेन्टासी लेखक कुमार नगरकोटीको जस्तो विश्वसाहित्यका कथाको कथ्य, पात्र, परिवेशको उद्धरण गर्ने शैली उपन्यासकारमा देखिन्छ। पारिजातको ‘शिरिषको फूल’ का पात्रसँग कथानक जोडेर शून्यवादको छाया पनि देखाइएको छ।

विश्वका विविध कृतिको प्रसङ्ग ल्याएर आफ्नो कथानकलाई दर्बिलो बनाउने प्रयत्न गरिएको छ। उदाहरणका लागि  विश्वप्रसिद्ध भर्जिनिया उल्फको ‘इफ सेक्सपियर ह्याड अ सिस्टर’ को उद्धरणलाई लिन सकिन्छ।

यो मानव जीवनका सबै पाटामा धेरथोर दृष्टि पुर्याएको उपन्यास हो। उपन्यासकारकै शब्द सापटी लिने हो भने ‘प्रस्तुत उपन्यासमा विषयवस्तु केही विशेष नभएर हामी वरपरकै प्रसङ्गहरू छन्।

विशेषत: विद्यार्थीकालीन भोगाइ, शिक्षण, प्रेम बिछोड, बाल्यावस्था, नारी, मनका भावना एवं भोगाइ, वातावरण, अध्यात्म, मृत्यु र नेपाली सामाजिक परिवेशका कथाव्यथाहरू मिसाएर पस्केकी छु’ ले यही कुरा पुष्टि गर्छ। आत्मपरकता उपन्यास प्रस्तुतीको आधार रहेको छ। अर्थात् प्रथम पुरुष दृष्टिविन्दुमा कथानक भनिएको छ। शिल्पमा कल्पनाशीलता, तिलस्मीपन देखिन्छ। आधुनिकमाथि उत्तरआधुनिक थिममा कल्पना गरिएको छ।

यद्यपि सर्जकको सिर्जनामा द्रष्टाचक्षु नपुग्न पनि सक्छ। पर्याप्त नहुन सक्छ। सर्जकले निर्माण गरेको कथ्य वैशिष्ट्यको उच्च विन्दु अभेद्य पनि हुन सक्छ। तथापि सर्सर्ती उपन्यास पढ्दा कथाको थिम आदर्शवादी देखिन्छ। विज्ञानका सूत्रहरू ल्याएर आदर्शवादी जीवनलाई पुष्टि गर्न खोजेको जस्तो लाग्छ।

पुनर्जन्म र पूर्वजन्मका विचारलाई स्थापित गर्न खोजेजस्तो लाग्छ। धर्म दर्शन तथा अध्यात्मको जस्तो लाग्छ उपन्यास तर सो मान्यताको स्थापना पनि भएको छैन। पात्रहरू कारुणिक छन्। विरोध वा विद्रोह छैन। यथास्थितिको चित्रण छ।

यद्यपि नेपाली भाषामा शुद्ध लेख्नु फलामका चिउरा नै हो। तथापि पाठकले भने शुद्धाशुद्धि पनि खोज्ने अधिकार राख्दो रहेछ। कृतिभित्र अति सामान्य तरीकाका शुद्धाशुद्धिको समस्या नभएको भए हुने भनेर लाग्न सक्छ। पूर्व जन्मका कुरा छन्। तर त्यो बेला कथानकको कार्यपीठिकामा पनि बोर्डिङ स्कुलको चर्चा छ।

उपन्यासको कथावस्तुमा उपन्यासकारले प्रवाह गर्न खोजेको केन्द्रीय विचार सन्देश पनि छिरोलिएको छ। कथावस्तु छरिए जस्तै द्वन्द्व व्यवस्थापन पनि छरिएको छ। यस्तो उपन्यासको संगठनमा पाठक अभ्यस्त नभइरहेको अवस्था हो।

उपन्यास वास्तवमा जोगी तरकारी भएको जस्तो लाग्छ। अर्थात् उपन्यासका पाठ एकाइ अलग थिममा तर समग्रमा स्वरूपमा एक भएको देखिन्छ। उपन्यासभित्र महिलाको अवस्था, शैक्षिक विसङ्गति, पृथ्वी तथा वनस्पतिको सुरक्षा, माओवादी तथा सेनाको अत्याचार, वैदेशिक रोजगारी, बालयौन मनोविज्ञान, भूत, महिनावारीको मनोविज्ञान जस्ता अनेक विषय एकै ठाउँमा पकाएको जस्तो लाग्छ।

यो उपन्यास कुन विषय वा थिममा लेखिएको हो र कुन प्रकारको उपन्यासकार हुन् भन्ने अन्यौल पाठकमा रहिरहन्छ। बरु सेसनका कथावस्तुलाई अलगअलग कथा बनाएको भए बोधीय हुने थियो भन्ने लागेको छ।

अन्त्यमा, उपन्यासको बुनौट उम्दा छ। प्रयोगलाई नमन। यो प्रयोग नेपाली साहित्यमा नौलो नै होला भन्ने लागेको छ। अङ्ग्रेजी साहित्यको सिरियालिज्म अर्थात् धारावाहिकवादको धरातलमा यो उपन्यास तयार गरिएको छ।

अर्नोल्ड स्कोनबर्गले सन् १९२३ मा अङ्ग्रेजी साहित्यमा प्रयोग गरेको शैली अर्थात् अलगअलग टिप्पणीहरूको शृङ्खलालाई एकत्रित गरेर लेखिने रचना, घटना वा टिपोट यो शैलीको चुरो हो। यही भएकाले उपन्यास पूर्वजन्म तथा पुनर्जन्मवादका आधारमा लेखिएको छ। यसले शैलीमा मात्र रोचकता पस्केको छैन; विषयवस्तुको प्रचुरतामा पनि योगदान पुर्‍याएको छ।

वास्तवमा मान्छेको जीवन धारावाहिक घटनाहरूले निर्मित भएको छ। ती घटनाहरू अलगअलग प्रकृतिका हुन्छन्। तर जीवन एक हुन्छ। त्यसैले उपन्यासमा वर्णित कथावस्तुका विविधता तथा व्यापकताबाट संक्षिप्तताको सिद्धान्त अर्थात् आगमन सिद्धान्तमा उद्धृत भएका छन्। र, सारमा निकै शिल्पीय तथा मनमोहक छ उपन्यास।  

प्रकाशित: १२ पुस २०८० ०४:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App