१६ वैशाख २०८१ आइतबार
image/svg+xml
कला

फेवामा खसेका कविता

पुस्तक

म कवि होइन। मलाई जति आख्यानले मोहनी लगाउँछ, त्यति कविताले लगाउँदैन। तीस वर्षको उमेर काटेपछि मैले कहींकतै पनि कविता/मुक्तक प्रकाशित गरेको छैन। मलाई लाग्छ, म कविता लेख्नका लागि उपयुक्त पात्र होइन तर कविता सुन्न चाहिँ मन पर्छ। म प्रायः यस्ता कार्यक्रमको अन्तिम पंक्तितिर बसेर चुपचाप सुनिरहेको हुन्छु।

निर्वृत्त प्राध्यापक समाज, पोखराले आयोजना गरेको केपी अर्यालको कवितासङ्ग्रह ‘हुरीले खसालेका पातहरू’ विमोचन कार्यक्रममा पनि हलको एउटा कुनामा बसेर कार्यक्रमलाई नियालिरहेको थिएँ। विभिन्न वक्ताले बोल्दैगर्दा वाचन गरिएका कवि अर्यालका केही काव्य पंक्तिले मलाई आकर्षित गरे।

मैले भेटेको छु

चार धामको तीर्थयात्रा सकी

गयाजीमा पिण्ड दिएर

मुडुलै घर फर्केका द्वन्द्वात्मक भौतिकवादीहरू !

यी पंक्ति मेरो कानमा गुन्जिरह्यो किनकि म चार दशक भन्दाबढी यस्तै भौतिकवादीको सङ्गतमा छु।

कवितासङ्ग्रहको पहिलो खण्डमा कविता, हाइकु र ताङ्का गरी तीस रचना सङ्कलग्न गरिएको पाइन्छ भने दोस्रो खण्डमा दश अंग्रेजी कविता समावेश गरिएका छन्।

सायद कवि प्राध्यापक भएर होला, आजका लेखकलाई ‘कविता कुनै पद वा शक्ति आर्जनका लागि स्तुतिगान गाएर लेखिने कुरा होइन, बरु निडर भएर आफूलाई लागेका कुरा प्रस्तुत गरी पाठक र समाजलाई सुसूचित र सचेत पार्ने कला हो’ भन्छन्।

लेखकीय धर्म र साहित्यिक मर्मको गलत प्रयोग नगर्न सल्लाह दिँदै सङ्ग्रहको सुरुमै ‘आजका कवि र लेखकसँग’ कविता  राखेका छन्।

भूगोलको वर्णन गर्दै कविले ‘फेवाको छालमा सलबलाएको माछापुच्छ्रे देख्दा’ र ‘बाहुनथानबाट चारदिशा नियाल्दा’ कविता लेखेका छन्। यस कवितामा कविले पोखराको प्राकृतिक सुन्दरता विशेषतः माछापुच्छ्रेको प्रतिबिम्ब फेवातालको आँगनमा देखिँदाको मनमोहक दृश्यलाई वर्णन गरेको पाइन्छ।

कर्मभूमि पोखराको सुन्दरता वर्णन गरेपछि कविले झ्याउरे छन्दमा लेखिएको ‘बाहुनथानबाट चारदिशा नियाल्दा’ कवितामा आफ्नो जन्मभूमि स्याङ्जाको गुलाबी सहर वालिङ र पेखुडाँडा बाहुनथोकबाट दृश्यावलोकन गर्दा देखिने मनोरम प्राकृतिक सुन्दरताको वर्णन गरिएको पाइन्छ।

नाटककार क्रिस्टोफर मार्लोको नाटक ‘डाक्टर फास्टस’को मुख्य पात्रले आफ्नो सुख भोग र शक्ति प्राप्तिका लागि आफ्नो आत्मा सैतानलाई बिक्री गरेको थियो। त्यसैगरी भ्रष्ट नेताले सहिदका सपना र वीरतालाई निजी स्वार्थमा बेचिरहेछन् भन्दै ‘शब्द–श्रद्धाञ्जली सहिदप्रति’ कवितामा विकृत राजनीति र दुराचारी नेतालाई झटारो हानिएको छ।

सङ्ग्रहका अधिकांश कविताले सामाजिक, धार्मिक, राजनीतिक, सांस्कृतिक, आर्थिक, शैक्षिक तथा पेसागत विसङ्गति बोलेका छन्। कविले तेत्तीस किलो सुन खोइ? भनेर राज्यसंयन्त्रलाई प्रश्न गरेका छन्। ‘सबाइ’ कवितामा रुघा लाग्दा पनि क्यान्सर रोग भनी देशको ढुकुटी कुम्ल्याएर उपचारका लागि विदेश जाने बेइमान नेताहरूलाई र्‍याखर्‍याख्ती पारिएको छ।

 ‘बेइमान’ कवितामा मासुभातका लागि भोट बेच्ने जनता, पदका लागि राष्ट्र बेच्ने नेता, चाकरीमा भविष्य देख्ने कार्यकर्ताप्रति व्यङ्ग्य प्रहार गर्दै आफ्नो र परिवारको हातमुख जोड्ने, आङ ढाक्ने जोहो गर्न खाडी पसेका युवाप्रति सहानुभूति प्रकट गरिएको छ।

डलर र आइसीमा बिकेका विभिन्न नामका अधिकारकर्मी, नागरिक समाजका अगुवाहरू नानाथरी प्लेकार्ड बोकी नारा अलाप्ने तर गम्भीर राष्ट्रिय मुद्दामा मौन रहनेहरूलाई कविले ह्युमन खसी भनेर व्यङ्ग्य गरेका छन्।

लोडसेडिङका बेला बिजुलीले सर्वसाधारणलाई घरीघरी खिसिक्क हाँसेर जिस्काउने अनि नेता, धनाड्य र शक्तिशालीसँग गोप्य प्रेम गाँसेर उतै मात्र लहसिन्छ भन्दै कविता ‘बिजुली’मा हास्य रसमा व्यङ्ग्य भाव प्रस्तुत गरेका छन्।

पछिल्लो समय टोपी लगाएर सामाजिक सञ्जालमा आफू खाटी नेपाली र राष्ट्रप्रेमी भएको स्वाङ देखाउनेहरूलाई टोपी र धोतीको विभाजन नदेखाउन बरु इमान्दार भएर देशको माटालाई माया गर्न ‘टोपी डे’ कवितामा सल्लाह दिइएको छ: 

तिमीले भन्दा ‘टोपी डे’

अर्कोले भन्ला ‘धोती डे’

मनमा भए नेपाल आमा

किन चाहियो ‘टोपी डे’?

किन चाहियो ‘धोती डे’?

कवि अंग्रेजी साहित्यका प्राध्यापक मात्र नभएर अंग्रेजी कविताका सर्जक पनि भएको कुरा कवितासङ्ग्रहमा झल्किन्छ। सङ्ग्रहको दोस्रो खण्डमा दशवटा अंग्रेजी कविता समावेश गरिएको छ। अंग्रेजी कविताहरू केही छन्दमा छन् भने अधिकांश कविता स्वतन्त्र छन्द अर्थात् फ्री भर्सनमा छन्। फ्री भर्सनमा लेखिएका कवितामा पनि अन्त्यानुप्रास मिलाउने प्रयास गरिएको छ।

सबै कवितामा आन्तरिक लय बलियो पाइन्छ। सुरुका दुई कविता ‘डिमोक्रेसी’ र ‘हेम्लेट टिचर’ पोखराको तत्कालीन प्रसिद्ध अंग्रेजी साहित्यिक पत्रिका ‘द हिमालयन हेराल्ड’का दुई छुट्टाछुट्टै अङ्कमा एक दशकअगाडि नै प्रकाशन गरिएका थिए।

अंग्रेजी खण्डका यी कविताले समीक्षक राजेन्द्र चापागाईंको नेतृत्वमा स्थापित ‘पोखरा इंगलिस लिटरेरी फोरम’ र यही फोरमबाट मासिक अंग्रेजी कविता-वाचनको पोखरेली जाँगरलाई स्मरण गराउँछ।

‘हेम्लेट टिचर’मा एक प्राध्यापक जो पुस्तकालय, सेमिनार र प्राज्ञिक गोष्ठीमा बिरलै देखिन्छ तर हेल्मेट लगाएर हस्याङफस्याङ गर्दै प्राइभेट स्कुलदेखि कलेज र ट्युसन/कोचिङ सेन्टरमा धाउने प्राध्यापकलाई हेल्मेट टिचरको संज्ञा दिइएको छ।

अंग्रेजी कवितामा अगस्तन युगका छन्दकवि अलेक्जेन्डर पोपदेखि बनारस हिन्दु विश्वविद्यालयका संस्थापक पण्डित महामनाको स्तुत्य कर्मको प्रशंसा गरिएको छ।

त्यस्तै ‘ह्वाट द कोभिड सेज’ कविताले कोभिड महामारीले संसार थला पार्दा आधुनिक विज्ञानले बनाएका हाइड्रोजन, एटम बम, मिसाइल, मेसिनगन अनि शक्तिशाली भनाउँदा राष्ट्रको अहङ्कार कहाँ थिए भनी प्रश्न गरेको छ। अन्य छोटा अंग्रेजी कवितामा मानव जीवन, हराउँदै गएको मानवीय संवेदना, विकृत हुँदै गएको राजनीतिक–सांस्कृतिक क्षेत्रमाथि व्यङ्ग्यात्मक दार्शनिक विचार राखिएका छ।

समग्रमा प्राध्यापक अर्यालको कवितासङ्ग्रह ‘हुरीले खसालेका पातहरू’ नेपाली समाजको सग्लो चित्र, कटु सत्यता र दार्शनिक विचारले भरिएको काव्यकृति हो। त्रिभुवन विश्वविद्यालयमा लामो समय प्राध्यापन गरी निर्वृत्त भएका कविले आफूलाई समयको हुरीले जेष्ठ नागरिक एवम् निर्वृत्त बनाइदिएको र त्यही समयको हुरीले कविको मनमा उब्जिएका भावलाई हृदयबाट खसाली पुस्तकका रूपमा राखिदिएकाले सङ्ग्रहको नाम ‘हुरीले खसालेका पातहरू’ नामकरण गरिएझैं लाग्छ।

‘द कोलाज’ अंग्रेजी कवितासङ्ग्रहका सर्जक राजेन्द्र चापागाई ‘आहत’ले लेखेको भूमिका पढ्दै जाँदा शंकर लामिछानेले ‘शिरीषको फूल’मा लेखेको भूमिका लेखनको शैली र मेहनतको आभास हुन्छ।

समग्रमा ‘हुरीले खसालेका पातहरू’ थकाली खानाको थालीजस्तो विभिन्न स्वाद, रस र रङको कोलाजजस्तो लाग्छ। केही कविता, हाइकु र ताङ्काहरूलाई परिमार्जन गरी अर्को संस्करण आउन सक्यो भने सुनमा सुगन्ध थपिएझैं हुनेछ।

-लेखक त्रिपाठी पृथ्वीनारायण क्याम्पस, पोखराका उपप्राध्यापक हुन्।

प्रकाशित: ७ पुस २०८० ०८:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App