३१ वैशाख २०८१ सोमबार
image/svg+xml
कला

अहिल्यै माओवादीमाथि फिल्म बनाउनु हतार हुने

दीपेन्द्र लामा-
माओवादी सशस्त्र विद्रोहमाथि आधा दर्जनजति नेपाली फिल्म बनिसकेको छ र बन्ने क्रम जारी छ। फिल्मकर्मीले यसलाई सधैं गतिलो विषयको रूपमा लिन्छन्। काठमाडौंमा चलिरहेको भारतीय फिल्म महोत्सवमा भाग लिन आएका फिल्मनिर्देशक गोविन्द निहलानी भने नेपाली फिल्मकर्मीले यसमा हतार गर्न नहुने विचार राख्छन्।

  'माओवादी सशस्त्र विद्रोह भर्खरै सकिएको हो तर यसको प्रभाव समाजमा अझै बाँकी छ, त्यसैले यो विषयमा अहिले फिल्म बनाउनु भनेको हतार गर्नु हो,' भारतमा बलिउडको सूत्रसँग असहमत भई 'अलग धार'को फिल्म बनाउने निहलानीले शनिबार नागरिकसँग भने, 'अहिले नै यसमा फिल्म बनाइयो भने भावुकताले बढी हस्तक्षेप गर्छ। तर, केही लामो समय पर्खेर बनाउने हो भने यसलाई समालोचनात्मक रूपमा देखाउन सक्छौं र त्यसो गर्दा विषयप्रति न्याय पनि हुन्छ होला।'

आफ्नो तर्क पुष्टि गर्न उनले आफ्ना दुई फिल्म सन् १९८७ को 'तमस' र २००४ को 'देव'को उदाहरण दिए। 'भारत-पाकिस्तान विभाजनको विषयमा ४० वर्षपछि 'तमस' बनाउँदा मैले सबै पक्षको अध्ययन गर्न पाएँ र फिल्मलाई क्रिटिकल बनाउन सकियो,' उनले भने, 'तर, 'देव'मा यस्तो रहेन, हिन्दु मुस्लिमबीचको द्वन्द्वमाथि यो फिल्म बन्दा गुजरात दंगा भएको दुई वर्ष पनि बितेको थिएन।'

महोत्सवमा शनिबार देखाइएको उनको फिल्म 'हजार चौरासी की मा'लाई सधैं कम्युनिस्ट फिल्मको ट्याग लाग्ने गर्छ। नक्सलिस्ट छोरा गुमाउँदाको पीडालाई एउटी आमाले कसरी शक्तिमा रूपान्तरण गर्छ भन्ने कथा यसमा समेटिएको छ। तर, निहलानी यो सदाबहार आरोप स्विकार्दैनन्। उनले शो सुरु हुनुअघि दर्शकसमक्ष भने, 'वास्तवमा यो एउटी आमाको कथा हो र यसका लागि सत्तरीको दशकमा कलकत्तामा हुर्कदै गरेको नक्सलिस्ट मुभमेन्टलाई आधार बनाइएको मात्र हो।'

भारतले माओवादी र नक्सलिस्टविरुद्ध कडा कदम चाल्ने सम्भावना रहेको अवस्थामा भारतीय सांस्कृतिक केन्द्रले आयोजना गरेको महोत्सवमा आफ्नो तथाकथित कम्युनिस्ट फिल्म समावेश हुनुलाई उनले हल्का रूपमा लिए र प्रष्ट पारे, 'महास्वेता देवीको उपन्यासमाथि बनेको यो फिल्म न कम्युनिस्ट हो न त राजनीतिक। त्यसैले कसैले आपत्ति जनाउनुपर्ने कारण छ जस्तो लाग्दैन।'

 

'मेरो फिल्म कम्युनिस्ट होइन'
'कुराकानी अंग्रेजीमा गर्ने कि हिन्दीमा?' छातीमा हात राखेर अभिवादन फर्काउँदै फिल्म निर्देशक गोविन्द निहलानी आफैंले प्रश्न सुरु गरे। 'तपाई सक्नुहुन्छ भने नेपालीमा गर्दा पनि हुन्छ,' यो ठट्टामा उनको प्रतिक्रिया थियो, 'नेपालमा पहिलोपटक आएको हुँ, मलाई नेपाली आउँदैन।'

भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डमा भइरहेको भारतीय फिल्म महोत्सवमा भाग लिन निहलानी काठमाडौं आएका हुन्। 'आक्रोश', 'अर्धसत्य', 'हजार चौरासी की मा'जस्ता गम्भीर फिल्मका सर्जक उनी शनिबार नागरिकसँग बातचित गर्न कार्यक्रम चलिरहेको हलबाट बीचमै बाहिरिए।

पर्यटन बोर्डको भित्री चोकमा रहेका दुई ठूला रुखको गुणगान गाउँदै आफ्नो प्रकृति प्रेम उनले प्रदर्शन गरिहाले। हल्का पहेँलो सर्ट पहिरिएका उनले ती रुखबाट प्राप्त भइरहेको शीतलता महसुस गर्दै भने, 'यसपालि हतारमा आएँ तर अर्कोपटक फुर्सदमा नेपाल राम्ररी घुम्नेछु।'

यसअघि तपाईलाई नेपाल आउने अवसर किन जुरेन?
नेपालको बारेमा धेरै तारिफ सुन्दै आएको छु। यहाँका फोटोहरूले सधैं आकर्षित गर्छ। प्राकृतिक र सांस्कृतिक पक्षले मलाई नेपालप्रति चासो जगाएको हो। सबैभन्दा बढी त पशुपतिनाथको बारेमा सुनेको छु। आउने मन धेरै थियो। तर, खोइ कसैले बोलाएनन्। यहाँ सुटिङ गर्ने अवसर पनि मिलेन।

तपाईको पछिल्लो फिल्म 'देव' रिलिज भएको ६ वर्षसम्म अर्को फिल्म बनेको छैन। किन?
म चार वर्षदेखि एउटा एनिमेटेड फिल्म 'कम्लु'मा व्यस्त छु। अझै काम सिद्धिएको छैन।

कस्तो कथा छ यसमा?
एउटा ऊँटको बच्चाको कथा हो यो, जसले आकासमा उड्ने लक्ष्य लिएको हुन्छ। ऊँट उड्न सक्दैन भन्ने सबैलाई थाहा छ। तर, मेरो फिल्ममा ऊँटले यो सफलता हासिल गर्छ।

हिन्दी फिल्म उद्योगलाई बलिउड भन्ने चलन तपाईलाई कस्तो लाग्छ?
म यो शब्दलाई एकदम घृणा गर्छु। हलिउडको नक्कल गर्ने आत्मसमर्पणवादी मानसिकताको उपज हो यो। भारतीय पत्रकारहरूले नै यो शब्द प्रयोग गरिरहेकोमा मलाई दुःख लाग्छ। बेलायती र अरू विदेशीले पनि प्रयोग गर्छन् तर उनीहरूले गीत, नृत्य र मेलोड्रामा भएको फिल्म भनेर बुझाउन अर्थात् नकारात्मक अर्थमा प्रयोग गरेका हुन्। कतिसम्म भने तमिलको फिल्म उद्योगलाई कलिउड र तेलुगुलाई तलिउड समेत भन्न थालिएको छ। यो प्रवृत्तिको धेरै विरोधीमध्ये म एक हुँ।

तपाईहरूले बनाउने फिल्म र सूत्रबद्ध हिन्दी फिल्ममा कस्तो अन्तर छ?
उनीहरूसँग ठूला स्टार छन् तर हामीसँग एक्टर। उनीहरूका कथामा अतिकल्पना हुन्छ भने हाम्रोमा यथार्थ। उनीहरूका प्रायः फिल्म संयोगान्त हुन्छन् भने हाम्रा वियोगान्त।

अहिले यी दुई खाले फिल्मको दूरी घट्दै गएको हो?
केही हदसम्म हो। बिगस्टारहरू पनि फरक खाले फिल्ममा कम पारिश्रमिकमा खेल्न तयार हुन थालेका छन्। मेरो 'देव'मा पनि अमिताभ बच्चनले खेले। पछिल्लो समयमा नयाँ खाले कथा र रियलिस्टिक फिल्म हेर्ने जमात पनि बढेको छ।

शाहरूख, आमिर वा सलमान खानलाई लिएर फिल्म बनाउने योजना छैन?
अहिले चाहिँ छैन। किनभने उनीहरूलाई सुहाउने कथा मसँग छैन। भविष्यमा त्यस्तो कथा भेटियो भने म उनीहरूकहाँ जरुर जानेछु।

राम्रो फिल्म बनाउन बजेट ठूलै चाहिन्छ भन्ने छ?
छैन। मैले १९८० मा 'आक्रोश' जम्मा तीन लाखको लगानीमा बनाएको हुँ, त्यो पनि १६ एमएममा। फिल्म राम्रो बनाउन कथा राम्रो चाहिन्छ।

भारतमा एक अर्बसम्मको लगानीमा फिल्म बन्न थालेको छ। तपाई कति सस्तोमा फिल्म बनाउनसक्नुहुन्छ? एक करोड?
एक त होइन दुई करोडसम्ममा म आरामले फिल्म बनाउनसक्छु। मैले सुनेको छु नयाँ फिल्म 'लभ सेक्स और धोका' जम्माजम्मी डेढ करोडमा बनेको हो।

मल्टिप्लेक्सले गर्दा सानो बजेटमा र फरक खालका फिल्म बनाउनेहरूलाई फाइदा भएको छ?
म त्यस्तो फाइदा देख्दिन। एक त मल्टिप्लेक्समा सबै वर्गका दर्शकले टिकट काट्न सक्दैनन्। अर्को कुरा ठूलो फिल्म पायो भने मल्टिप्लेक्सहरूले सानो फिल्मलाई बिहान वा अबेर रातिको शोमा मात्र चलाइदिन्छन्, दिउँसोको मुख्य शोमा मौका नै दिँदैनन्।

फिल्म आर्ट हो कि बिजनेस?
फिल्म आर्ट र बिजनेस दुवै हो। यो न आर्टबिना बन्नसक्छ न त पैसाबिना।

फिल्म चल्नलाई गीत र नृत्य अनिवार्य छ?
गीत र नृत्यबिना पनि फिल्म चल्छन्। जस्तै, 'ब्ल्याक' र 'अ वेडनस्डे'। गीत र नृत्य राख्नुलाई हिन्दी फिल्मको एउटा शैली मान्छु। हाम्रो कलापरम्परा रामलीला होस् वा रासलीला सबैमा गीत र नृत्य हुन्थ्यो। मैले पनि 'तक्षक'मा नाचगान राखेको थिएँ।

नेपाली फिल्मले भारतीय फिल्मबाट प्रभावित नरही आफ्नो छुट्टै पहिचान बनाउन के गर्न जरुरी छ?
त्यसका लागि फिल्मकर्मीले यहाँका स्थानीय सामाजिक जटिलता, गरिबी, शिक्षा वा राजनीति जस्तो विषयमाथि बनाउनुपर्छ। कथा मौलिक भयो भने फिल्म स्वतः मौलिक भइहाल्छ।

नेपालको १० वर्ष लामो माओवादी सशस्त्र विद्रोह फिल्म बनाउन उपयुक्त विषय हो भन्ने लाग्छ?
म यस्तो संवेदनशील विषयमा फिल्म बनाउन हतार नगरौं भन्छु। अहिले नै बनाइयो भने भावुकताले हस्तक्षेप गर्नसक्छ। तर, अलि पछि बनायौं भने बिस्तृत अध्ययन र विश्लेषणसहित बनाउन सकिन्छ र त्यसो गर्दा विषयप्रति न्याय पनि हुन्छ होला। भारत-पाकिस्तान विभाजनको विषयमा ४० वर्षपछि १९८७ मा फिल्म 'तमस' बनाउँदा म अलि क्रिटिकल पनि हुन सकेँ। तर, हिन्दु-मुसलमान द्वन्द्वमाथिको 'देव' बनाउँदा गुजरात दंगा भएको दुई वर्ष पनि बितेको थिएन, बढी भावुक हुनुपर्‍यो। नेपाल त अझै माओवादी विद्रोहको प्रभावमै छ।

समाजप्रति फिल्म निर्देशक किन जिम्मेवार हुनुपर्छ?
दुई कारण छन्। पहिलो, निर्देशकले समाजकै सदस्यलाई फिल्म देखाएर पैसा कमाउने हो। अर्को, नचाहँदा नचाहँदै पनि फिल्म निर्देशक कुनै न कुनै विचारबाट प्रेरित हुन्छ। समाजमा कस्तो विचार सम्प्रेषण गर्ने हो निर्देशक एकदम सचेत हुनुपर्छ।

निर्माता-निर्देशकले दर्शकको रुचि अनुसार फिल्म बनाउँछु भन्छन् तर उनीहरूका सबै फिल्म हिट हुँदैनन्। त्यस्तो किन हुन्छ?
वास्तवमा दर्शकको रुचि के हो कसैलाई ज्ञान छैन। रुचि थाहा भएको भए त हिन्दी फिल्म ८० प्रतिशत फ्लप नहुनु पर्ने हो। फिल्म बनाउनेले आफ्नो हृदयले जस्तो रुचाउँछ त्यस्तै बनाउनुपर्छ, अरूको रुचिको पछि लागेर साध्य हुँदैन। सरप्राइज, एक्साइटमेन्ट र गुड स्टोरी यी तीन तŒव भए भने फिल्म रोचक हुनसक्छ।

भारतले माओवादी र नक्सलिस्टविरुद्ध कडा कदम चाल्ने सम्भावना रहेको अवस्थामा कम्युनिस्ट फिल्मको आरोप लाग्दै आएको तपाईको 'हजार चौरासी की मा' भारतीय सांस्कृतिक केन्द्रले आयोजना गरेको महोत्सवमा समावेश नहुन पनि सक्थ्यो कि?
महास्वेता देवीको उपन्यासमा आधारित यो फिल्म न कम्युनिस्ट हो न त राजनीतिक। वास्तवमा यो एउटी बहादुर आमाको कथा हो, जसलाई आफ्नो छोरा नक्सलिस्ट भएकोले मारियो भन्ने धेरै पछिमात्र थाहा हुन्छ। संघर्षशील नारीपात्रको उठान गर्न नक्सलिस्ट अभियानलाई आधार बनाइएको मात्र हो। सत्तरीको दशकमा यो अभियान ग्रामीण क्षेत्रबाट सहर प्रवेश हुँदै गर्दाको चरणलाई समातेको छु। कसैले आपत्ति जनाउनुपर्ने कारण छ जस्तो लाग्दैन।

 

प्रकाशित: ४ वैशाख २०६७ २२:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App