चन्द्रनगर गाउँपालिकाका किसान विद्युतीकरणपछि मकैखेतीतर्फ आकर्षित भएका छन्। सिँचाइ सुविधा नहुँदा यहाँका किसानले आकाशे पानीको भरमा खेती गर्थे। केहीले डिपबोरिङ गरेर मकैखेती गर्थे।
यस्तो खेतीमा उत्पादनभन्दा लगानी बढी लाग्ने चन्द्रनगर–२ का पुनित महतोले बताए। तीस कठ्ठा जग्गामा वर्णशङ्कर जातको मकै लगाएका उनलाई विद्युतीय मोटरबाट मकैखेतमा पानी लगाउँदै गरेको अवस्थामा भेटियो। विद्युतीकरणपछि खेती गर्न सजिलो भएको उनको भनाइ छ।
‘पहिला खेतमा पानीको कुनै उपाय थिएन,’ उनले भने, ‘पोखरी वा नालामा जमेको पानी पम्पसेटबाट तान्थेँ।’ पम्पसेटबाट पानी तान्न महँगो पर्ने उनले बताए। ‘पहिला यही खेतमा एकपटक पानी तान्न तीन हजारदेखि चार हजार रुपैयाँसम्म डिजल खर्च लाग्थ्यो,’ महतोले भने, ‘अहिले त्यति पैसाले सिजनभरि (चारपटक) पानी तान्न पुग्छ।’
स्थानीय तहले दुई वर्षअघि खेत-खेतमा पोल गाडेर बिजुली पुर्याएको थियो। त्यसयता महतोसहित यहाँका एक हजार २३५ भन्दा बढी किसानले कृषि मिटर जडान गरेका छन्। सिँचाइको व्यवस्था नहुँदा आकाशे पानीको भरमा गहुँ, मसुरो, चना, उखुजस्ता खेती लगाउने गरेको चन्द्रनगर–६ बबरगन्जका किसान सुवोध साहले बताए। यस्तो खेतीमा लागत धेरै र उत्पादन कम हुने भएकाले लगानी पनि नउठ्ने उनको अनुभव छ।
‘यहाँका खेत प्राणबिनाको शरीरजस्तै थिए,’ साहले भने, ‘गाउँपालिकाले कृषि विद्युतीकरण गरेपछि खेत हरियाली बनेका छन्।’ अहिले प्रति कठ्ठामा चार क्विन्टलसम्म मकै उत्पादन हुने गरेको उनले बताए। उनले दुई वर्षदेखि आफ्नो र ठेक्काको गरी तीन बिघा खेतमा वर्णशङ्कर जातको मकैखेती गरेका छन्।
पानीको सुविधाले तरकारीखेती पनि फस्टाएको स्थानीय जितेन्द्र महतोले बताए। दुई कठ्ठा खेतमा लगाएको तरकारी बेचेर पाँच जनाको परिवार पाल्न सकेको उनको भनाइ छ। अहिले यो क्षेत्रमा ठूलो क्षेत्रफलमा व्यावसायिक तरकारीखेती भइरहेको छ। मौसमअनुसार काउली, बन्दा, सिमी, बोडी, खुर्सानी, भिण्डीजस्ता तरकारी प्रशस्त उत्पादन हुने गरेको उनले बताए।
विद्युत् महसुल गाउँपालिकाले तिर्छ
चन्द्रनगर गाउँपालिकाले किसानका खेतमा विद्युतीकरण गर्ने, निःशुल्क कृषि मिटर दिनेमात्र होइन, सिँचाइ गर्दा लागेको विद्युत् महसुल पनि आफैँ तिर्छ।
यहाँका धेरैजसो मानिस कृषिमा संलग्न भएकाले उनीहरूलाई सुविधा दिन यो योजना सुरु गरेको अध्यक्ष राजकुमार महतोले बताए। यसले नागरिकको जीवनस्तर सुधारमा सहयोग पुगेको उनको भनाइ छ। नजिकै खोला, नहरजस्ता सिँचाइ सुविधा नहुँदा किसान समस्यामा परेको उनले भने।
चालू आर्थिक वर्षको विद्युत् महसुल बिल सङ्कलन भइरहेकाले केही दिनमै भुक्तानी हुने अध्यक्ष महतोले बताए। कृषि विद्युतीकरणपछि किसानले बाँझो छाडेका खेतबाट पनि राम्रो उत्पादन लिन थालेका छन्। यस्तो कृषि मिटरबाट दुईदेखि १२ बिघासम्म खेतमा सिँचाइ गर्न सकिन्छ भन्ने कृषि प्रविधिकको भनाइ छ।
दुई वर्षमा यो पालिकाको नौ हजार बिघा खेत सिँचाइ भएको छ। आगामी दिनमा पानीका स्रोत संरक्षणका लागि अध्ययन भइरहेको अध्यक्ष महतोले बताए। पहिला यहाँ सिँचाइका लागि पोखरी बनाएर वर्षातको पानी प्रयोग गर्नुपर्ने बाध्यता थियो। रासस
प्रकाशित: २४ चैत्र २०८१ १०:५८ आइतबार