‘झरना साहित्यिक परिवार मकवानपुर’ ले आफ्नो १३४ औं कार्यक्रमका सन्दर्भमा मुक्तक साँझ सम्पन्न गरेको छ। यस संस्थाले वि.सं. २०६४ देखि २०६८ सम्म त्रैमासिक रूपमा गरेको र २०६८ देखि वार्षिक रूपमा चैत्रको चौथो शनिवार मुक्तक विशेष कार्यक्रम गर्ने गरेको छ।
यस अवसरमा इलामका ७२ वर्षीय मुक्तककार शिव अधिकारी ‘इलामे जेठा’ लाई १५ हजार ५ सय ५५ /- रूपैयाँसहित शिवसावित्री अधिकारी स्मृति मुक्तक सम्मान समर्पण गरेको छ।
यसैगरी कक्षा ९-१२ का विद्यार्थीहरूमाझ गरिएको मुक्तक प्रतियोगिताका प्रतियोगीहरूमध्ये उत्कृष्ट बुद्ध माध्यमिक विद्यालय हात्तीसुँडे, बकैयाकी मोनिका नेगीलाई ५ हजार ५ सय ५५/- सहितको शिवसावित्री अधिकारी नवप्रतिभा पुरस्कार प्रदान गरेको छ।
यी सम्मान तथा पुरस्कारको स्थापना साहित्यकार रमेशमोहन अधिकारीले आफ्ना आमाबुबाको स्मृतिमा स्थापना गरेका हुन्।
यसै अवसरमा मुक्तक लेखनमा सक्रिय युवा पुस्ताका रोमा लम्साल, सागर तिमल्सिना, डी.बी. बर्तौला तथा गायत्री रुपाखेतीले आफ्ना छछ मुक्तक वाचन गरेका थिए।
यस कार्यक्रममा अर्पण पराजुली, भवानी तिमल्सिना, अजर फुयाँल र नीलहरि ढुङ्गेलले मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रमको सभाध्यक्षता झरना साहित्यिक परिवारका अध्यक्ष विश्वनाथ सञ्जेलले गरेका थिए भने प्रमुख आतिथ्य मुक्तककार शिव अधिकारीको रहेको थियो।
प्रकाशित: २४ चैत्र २०८१ १०:३३ आइतबार