coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

‘मनु ब्राजाकीका रोज्जा गजल’ मा विषय सौन्दर्य

पाठक्यौली

किनकिन मनु ब्राजाकीसँग ज्यादै प्रभावित भएँ र नजिकिएँ। यद्यपि मैले उनलाई भौतिक रूपमा देखे/भेटे/चिनेको होइन। उनले परम यात्राको बाटो लिए पनि उनका अक्षरले नै मलाई सम्मोहन गरेका छन्। सम्मोहनको कारण विचारप्रधान अक्षर हुन्। मनु ब्राजाकीका आख्यानहरूको सशक्तता सम्मोहनका मन्त्र थिए। उनको गजल विधा कथा जत्तिकै सशक्त रहेको चर्चा सुने तर कृतिका रूपमा पढ्न पाएको थिइनँ। चासोको विषयचाहिं थियो। यही पृष्ठ फलकमा मेराअगाडि ‘मनु ब्राजाकीका रोज्जा गजलहरू’ कृति अमेरिकी हुलाकको पिठ्यूँमा चढी आइपुगेको छ।

‘मनु ब्राजाकीका रोज्जा गजलहरू’ कृतिको अग्रभागमा ब्राजाकीकै तस्बिर छ। गैरआवासीय नेपाली संघ, कोलोराडो अमेरिकाले २०७९ सालको वैशाखमा प्रकाशन गरेको यो पुस्तकको पश्च भागमा मनु ब्राजाकीकै केही भनाइ राखिएको छ। मूल गजलचाहिं १२५ पृष्ठमा रहेको छ। गजलइतर खण्डमा मनु ब्राजाकीको हस्तलिखित गजल एक पातो र केही पातामा वरिष्ठ गजलकार ज्ञानुवाकर पौडेलको भूमिका छ। भूमिकामा पौडेलले गजलकारका रूपमा मनु ब्राजाकीको व्यक्तित्वलाई चिनाएका छन्। र मनु ब्राजाकीले उर्दू तथा हिन्दी गजलको आत्मालाई नेपालीकरण गरिदिएको साथै जनसरोकारका विषयहरूलाई जनताकै भाषामा जनताकै लागि रोचक र स्तरीय गजलहरू लेखेको चर्चा गरेका छन्। त्यसपछि जीवनपानीको ‘गजलसंग्रह बल्ल छापियो’ शीर्षकको भूमिकामा कृतिको प्रकाशनका हण्डर तथा गर्भ उल्लेख गरिएको छ।

वर्तमान कालमा गजल निकै प्रसिद्ध भएको छ। अरबिक कविताका रूपमा सातौं शताब्दीमा गजलको जन्म भयो। फारसीमा लेखियो। १२ औं शताब्दीमा पूर्वी एसियामा सुफी मतका अनुयायीबाट प्रसार भयो। अरबिक, फारसी, उर्दू, हिन्दी हुँदै नेपालीमा पनि गजल विस्तार भयो। गजल अरबी शब्द हो र जसको शाब्दिक अर्थ हुन्छ महिलासँगको रमाइलोका बारे बोल्नु, लेख्नु। प्रारम्भमा रमाइलो, प्रेम, प्रियतमासँगको संयोग वा वियोग, प्रेमको सुन्दरतासँग सम्बन्धित थियो गजल। त्यसैले गजलका सेरहरूमा सुरासुन्दरीको बयान हुन्थ्यो। याने गजलको विषयवस्तु भन्नेबित्तिकै शृङ्गार तथा रतिको बयान भन्ने बुझिन्थ्यो।

बुनौटका हिसाबले गजलमा सेर (श्लोक), मतला (गजलको पहिलो सेर), रदिफ (एउटै शब्द दोहोरिने), काफिया-अनुप्रास, अर्थ अलगअलग भएका तर एउटै ध्वनिका शब्दहरू दोहोरिने), मकता (गजलको अन्तिम सेर), बहर (लम्बाइ), मिश्रा (सबै सेरको पहिलो हरफ), तखल्लुस (गजलकारले आफ्नो नाम प्रयोग गर्‍यो भने) आदि जस्ता अनेक शब्दावली हुन्छन्। कम्तीमा ५ जोडा सेर हुन जरुरी हुन्छ गजलमा।

यो आलेख लेखाइकाे लक्ष्य गजलको शास्त्रीय सिद्धान्तमाथि गमन होइन। बरु मनु ब्राजाकीले यस कृतिमा लेखेका गजलभित्रका विषय सौन्दर्यका अनुभूतिलाई आकारीकरण गर्नु हो। किनभने पछिल्लो कालखण्डमा गजलले आफ्नो विषयवस्तुमा फैलावट गरेको छ। अब शृङ्गार विषयभन्दा बाहेकमा पनि गजल लेखिन थालेको छ।

मनु यायावर थिए। यायावर हुनुको प्रयोजन अध्ययन थियो। उनले आफ्ना अन्तरवार्ताहरूमा ज्ञानको स्रोत वेश्यालय (वेश्यागमनका लागि होइन, महिलाको जीवन बुझ्न),पुस्तकालय, स्ल्म्स (मान्छेको जीवनको वदत्तर अवस्था बुझ्न) र धार्मिक स्थल (विभेद बुझ्न) लाई मानेका छन्। यही यायावरीय जिन्दगीका दौरान उनी उर्दू तथा हिन्दी गजलको मर्म बुझ्ने विशेष जानकार भए। त्यसैले उनले गजललाई नेपालीकरण (अनुवाद वा अनुकरण होइन) गरेर गजल लेखे।

विषयवस्तुका हिसाबबाट हेर्दा मनुका गजलमा शृङ्गारका विषयभन्दा अन्य विषय प्रयुक्त भएको देखिन्छ। नेपाली समाजलाई सूक्ष्म तथा इमानदार तरीकाले अध्ययन गरेकाले उनका गजलमा नेपाली समाजको यथार्थ चित्र देखिन्छ।

नेपाली समाजको चौतर्फी चित्र देखिनु मनु ब्राजाकीको विषय सौन्दर्य हो। त्यसैले उनका गजलमा नेपाली समाजको राजनीतिको अवस्था र त्यसमा पिल्सिएका जनता र देश दुवैको चित्रण मार्मिक ढंगले भएको छ।

मान्छे र मान्छेको जीवनलाई विविध कोणबाट सघन तरीकाले हेरिएको छ। मान्छेको जीवन र मृत्यका बिचमा रहेको धर्को र त्यसले जीवनमा पारिरहेको प्रभावलाई असाध्य दार्शनिक पारामा उजागर गरिएको छ। नश्वर जीवनबारे सांसारिक तत्त्वबोध भएको छ। विषयवस्तुका हिसाबमा नारीको अवस्था अन्धविश्वास तथा गति, विविध खाले प्रेम अभिव्यक्त भएको छ। गजलमा मनुको आफ्नै हरफनमौला जीवन र त्यसले पारेको प्रभावका संकेत मात्र होइन; विदेशका मान्छेको यन्त्रवत जीवन र नेपालमा साहित्यकारको अवस्थाबारे भित्री तहसम्म पुगेर जगल लेखिएको छ।

वास्तवमा नीतिमध्येको सबैभन्दा महत्त्वपूर्ण राजनीति हो। याने कि राज्य चलाउने नीति हो। यो राजनीति नै बिग्रियो भने समग्र देश रसातलमा पुग्न कुनै बेर नै लाग्दैन। मनुका गजलमा नेपालको बिग्रँदो राजनीतिक अवस्थाले प्राथमिकता पाएको छ।

वास्तवमा नेपालको भूराजनीतिक अवस्था, जातीय अवस्था तथा नेताहरूको क्रियाकलापले देश संकटमा छ। त्यसैले मनुका गजलमा देशप्रेम, कठोर व्यंग्य, विद्रोह, समानताको आवाज याने नेपालको वर्तमान राजनीतिक अवस्थाबारे विद्रोह लेखिएको छ। कृतिभित्र यस्ता राजनीतिक विसंगतिका विरुद्धमा धेरै गजल लेखिएका छन्। केही उदाहरण हेरौं-

लुटिंदै छ देश मेरो राष्ट्र गीत गाउनेबाट

दौरासुरुवाल, ढाकाटोपी मिलाएर लाउनेबाट (पृ.१)

दान दिन सिपालु छन् विदेशका प्रभु

नेपाली हुँ मलाई मेरै स्वाभिमान देऊ (१३)

लोकतन्त्र सँगसँगै भोकतन्त्र आयो,

हामीसँगै अतीतको लास बसेको छ (१६)

मिर्मिरेमै उज्यालो भो भन्ने नठान

अहिले नै आफूलाई धन्य नठान (७७)

मधेसी र पहाडी भो हाम्रो चिनारी

नेपाली हुँ भन्न पनि लाज लाग्दछ (८४)

उल्लिखित गजलहरूमा खाँटी नेपाली भन्नेहरूले नै दौरासुरुवाल लगाएर देश बेचेको अवस्थाप्रति चिन्ता व्यक्त गरिएको छ।

यसैगरी छिमेकीको हस्तक्षेप, नेपालको स्वतन्त्रताको कुरा तथा लोकतन्त्रको विदीर्ण अवस्था जस्ता विषय पनि गजलमा समेटिएका छन्। जनताले आन्दोलन गर्ने काम अझै सकिएको छैन। नेपालीलाई विभक्त गर्न पहाडी र मधेसी भन्ने गरिएको र तद्अनुसार नेपालको राजनीति चलेकोमा मनु दुःखी तथा विद्रोही देखिन्छन्।

मनु ब्राजाकीका गजलमा नेपाली समाजको यथार्थ चित्र देखिएको छ। त्यहाँ कुनै लप्पनछप्पन वा ढाकछोप छैन। सामाजिक यथार्थका विविध विषयलाई सौन्दर्यको पुट दिएर लेखिएका हुनाले गजल स्वाभाविक र सान्दर्भिक लाग्छन्। केही उदाहरण हेरौं-

भाग्य खोज्न ढुंगालाई ढोग्दाढोग्दा,

निधारकै बरु जाला खालो एक दिन (२०)

ज्योतिषीको आशीर्वाद लाग्ला जस्तो छाँट छैन

भाग्वादी नेपालीको भाग्य नै पो खोटो रै‘छ (२८)

नेपाली परम्परागत समाज मूलतः भाग्यवादी छ। कर्म (काम) मा भन्दा भाग्यप्रति भरोसा गर्छ। अझ कर्मलाई पनि भाग्यको अर्थमा बुझ्छ। वर्तमानभन्दा भविष्यबारे चिन्तन गर्छ। बाँचिरहेको समयभन्दा मरेपछिको समयलाई प्रमुख मान्छ। आफ्नो भूत, वर्तमान र भविष्य तथा भाग्य बुझ्न ज्यातिषकोमा धाउने गर्छ। यो अन्धभाग्यवादी नेपाली समाजिक प्रवृत्तिप्रति ब्राजाकीले प्रहार गरेका छन्।

नेपाली समाजमा व्याप्त रहेको गरिबीलाई दसैँसँग तुलना गरी अभिव्यक्त गरेका छन्। चोक्टा धनीको बिम्बमा आएको छ भने झोल गरिबीको बिम्बमा आएको छ। यो बिम्ब नेपालको आर्थिक अवस्थालाई बुझाउन सक्षम र सुन्दर भएको छ। नेपाली समाजमा विद्यमान जातप्रथा तथा विभेदप्रथामाथि प्रहार गरिएको छ। मान्छेको महत्ताभन्दा जातको महत्तालाई ठूलो मानेर नेपाली समाज हिंडिरहेको छ। यही कुरा ब्राजाकीका गजलमा विद्रोहात्मक स्वरमा उल्लेख भएका छन्। केही उदाहरण हेरौं-

नेपालीको दसैं अचम्मको हुन्छ,

कतै चोक्टा कतै झोलैझोल हुन्छ (४२)

बनाएछौ रुखभन्दा पात ठूलो

बनाएछौ मान्छेभन्दा जात ठूलो (५४)

मान्छेको जीवनको अर्थ एकदम जटिल विषय हो। जीवनको परिभाषाका लागि ज्ञानी तपस्वी आदिले अनेकन सूत्र पत्ता लगाएका छन्। तैपनि जीवनको अन्तर्य जिउँका तिउँ छ। ‘मनु ब्राजाकीका रोज्जा गजलहरू’ कृतिमा समेटिएका गजलहरू अधिकांशतः मान्छेको जीवनको अन्तर्यभित्र कुदेका छन्। जीवनलाई अनेक पाटाबाट हेर्नु कृतिको अभिध्येय रहेको छ। उनले आफूले बाँचेको जीवनलाई गुढ रहस्यका साथ अभिव्यक्त गरेका छन्। यो कृत्रिम तथा खोल ओडेर बाँच्न अभिशप्त बानी परेको समाजमा बाँच्दा देखिने र भोगिने विपर्यास जिन्दगीलाई गजलमा उतारेका छन्। बाँच्नु बाँचें भन्नु, मर्नु मरें भन्नु, रुनु र हाँस्नु बिचका तारतम्यहरू जीवनमा देखापरेका हुन्छन् मान्छेका। मनुलाई पनि आम मान्छेलाई जस्तै जीवनबोध भएको छ। यही कुरालाई उनले गजलमार्फत उद्घोष गरेका छन्। केही उदाहरण हेरौं-

कौडा हानी जुवा खेल्न जानिएन तर

खेलिएछ जिन्दगीको तास अलिअलि(६)

आगोले त पोल्छ पोल्छ पानीले झन् पोल्छ

बोल्नेले त बोल्छ बोल्छ नबोल्नेले झन् बोल्छ (७)

बाँचेजस्तो गर्न कहाँ सजिलो छ

काल पनि झर्किएका होस् गर (८)

बाँच्न भनी आएपछि मर्न कहाँ पाइन्छ र!

घाट कुर्नेले त खोला कहाँ तर्न पाइन्छ र!

चौबाटोमा उभिएर सोच्दै छु म

कुन बाटोमा खुट्टा आफ्ना टेकें मैले (११)

दुख्ख गरी हुर्काएको जीवन पनि,

सुख्ख मात्र खोज्दाखोज्दै मर्दो रै‘छ (२६)

जतिपल्ट छरे पनि अछेता खै उम्रिएको

अछेताझैँ आफूलाई कतिचोटि छर्ने होला! (४५)

मरेपछि पनि बाँच्ने मनु होला त्यो

बाँचेको छु म त यहाँ जिउँदै मरेर (८८)

मान्छेले मान्छेलाई चिनें भनेको हुन्छ जिन्दगीमा। एउटा जुनी बाँच्दा मान्छेले मान्छेकै संगत गर्छ र मान्छेसँगकै पीडा, विपर्यास सम्बन्ध आदिमा हुन्छ। तर, केही गरे कसै गरे मान्छे चिनिंदैन।

त्यही मान्छे नै आमाबाबु, श्रीमती, छोराछोरी, साथीभाइ लगायत समाजसँग जोडिन पुग्छ। तिनै आफ्ना हुन्छन्। तिनै बिराना हुन्छन्। तिनैले दिने माया तथा ठक्करहरू नै मान्छेको चिनारी हो। आफ्ना जीवनकालमा मनु ब्राजाकीले पनि मान्छेलाई विविध रूपमा चिने। तिनै चिनिएका मान्छेका रूपहरू उनका गजलमा पाइन्छन्। केही उदाहरण हेरौं-

हृदयको अँगेनीमा फेरि आगो बाले हुन्छ

हुन्छ साथी, अलि धेरै मटिटतेल हाले हुन्छ (१५)

हिजोसम्म सबैलाई माया गर्छु भन्ने,

आज किन भएको छ पीडाजन्य मान्छे (३६)

कालसामु देखेपछि आफूलाई चिन्न थाले,

हिजोसम्म जिन्दगीलाई उल्टो सान गर्नेहरू (६०)

मनु तिम्रो लायक यहाँ अब कुनै कर्म छैन

मानवता भन्ने यहाँ कुनै पनि धर्म छैन (७२)

आफैंलाई छल्नेहरू प्रभुभक्त रे,

शिवबुटी भने पनि गाँजा नै त हो (७४)

टन्न भोज खानेले नै भन्छ यहाँ भोकालाई,

हेर-हेर कस्ता रै‘छन् हन्तकाली भातेहरू (९०)

हृदयभित्र राखेको मान्छेले आगो सल्काउँछ। हिजोसम्मको आफन्त आज पीडादायक बन्छ। बलबैंस छउन्जेल मैमक्त मै हुँ भन्ने मान्छे जब अशक्त हुन्छ अनि आफूलाई चिनें भन्ने राग अलाप्न थाल्छ। मान्छेले मानवतालाई लत्याएको छ। मानवता नाम केवल भाषणमा मात्र सीमित छ। आफू को हुँ? आफ्नोबारे चिन्तन गर्न नसक्ने मान्छेहरू भगवानका शरणमा पुगेको भनिठान्छन् र गाँजा नामक शिव बुटी तान्न पुग्छन्। केही नजान्ने मान्छे सन्त कहलिन्छ र भोज खाएको मान्छे नै अर्कालाई हन्तकाली भन्छ। यो विपर्यास चित्र उनका गजलमा पाइन्छ।

मनुका गजलमा प्रेमलाई सुललित तरीकाले पनि प्रस्तुत भएको छ। प्रेमका नाममा हुने स्वार्थ, प्रेमको परिभाषा, अतृप्त प्रेम, वासनात्मक प्रेम, स्वार्थी प्रेम आदि विषयमा मनुले गजल लेखेको देखिन्छ। उदाहरण हेरौं-

अनौठो छ प्रेम गर्ने खेल पनि

बुझिंदैनन् नयाँनयाँ दाउहरू (१७)

मनुलाई आफूलाई, मायालाईसम्म पनि

जोखिहेर, तिमीसँग माया जोख्ने तुलो छ (२७)

माया गर्छु भन्ने धेरै पाइएलान्,

फिल्मी धुनमा मायाको गीत गाइँदैन (३१)

जन्म यहाँ मृत्युको नै सधैंसधैं हुने हुँदा

प्रेम गर्दा वासनाले अमृतजल धर्ने गर्छ (१०४)

प्रेम जस्तो स्वार्थलाई पूजा गर्ने मान्छेले नै

छोडिदिन्छ जिन्दगीमा मित्रताको साथ पनि (११२)

मनुका गजलमा नेपाली नारीकाे अवस्था अभिव्यक्त भएको छ। यद्यपि परम्परागत गजलमा जस्तो नारी सौन्दर्य, नारी शृंगार, संयोगरति, वियोग रति, सुरासुन्दरीका विषयमा भने मनुका गजल त्यति सारो छैनन्।

खासमा वर्तमान नेपाली समाजमा नारीको सामाजिक अवस्था, धार्मिक अवस्था तथा मनोवैज्ञानिक अवस्था, अन्धविश्वासले घेरिएका नेपाली महिलाको चिन्तनको अवस्थाबारे मनुले गजल लेखेका छन्।

उदाहरण हेरौं-

स्वस्थानी र तिजले नै नारीमुक्तिलाई अझै

बाँधेको छ हत्कडीझैं धागोपोते र चुराले (८३)

बलात्कार नगरेर फकाउने रावणभन्दा

सीतालाई शंका गर्ने राम नै अशुद्ध थियो (१०६)

तिमी भने सधैंभरि श्याम हुँदाखेरि,

आज किन मैले सीताजस्ती हुनुपर्ने? (३८)

उपर्युक्त गजलहरूमा नेपाली समाजमा विद्यमान चालचलन, सभ्यता, संस्कार तथा चाडपर्वले महिलाहरूलाई गाँजेको कुरा अभिव्यक्त भएको छ। स्वस्थानी, तिज, चुरा, धागो, पोते, सिंदुर जस्ता उपायद्वारा महिलालाई पूर्ण स्वतन्त्र हुन दिएको छैन। यो कटु यथार्थलाई मनुले आफ्ना गजलमा मार्मिक तरीकाले प्रक्षेपण गरेका छन्।

उनका गजलले नेपाली समाजको आदर्शभित्र एउटा प्रश्न उभ्याइदिएको छ। बिनाकारण संशय गरेर आफ्नी श्रीमतीलाई त्याग्ने राम आदर्शवादी कि मनपरेकी महिलालाई फकाउने तर हात नहाल्ने, बलात्कार नगर्ने रावण आदर्शवादी? यसैगरी नेपाली समाज श्याम याने कृष्णको असंख्य यौनलीलालाई प्रेम मान्ने तथा आदर्श मानेर पूजा गर्ने अनि त्यही समाजमा सीताजस्ती किन हुनुपर्ने महिला? यी प्रश्नहरू मनुका गजलमा छताछुल्ल भएर आएका छन्।

मनुले जिन्दगीभरि साहित्यको साधना गरे। यहाँसम्म सम्पन्न जमिनदार परिवारमा जन्मेर पनि त्यसको सदुपयोग गरेनन्। साहित्यका पछि लागेर यायावर जीवन यापन गरे। साहित्यका लागि आफ्नो परिवार भनेनन्, श्रीमती भनेनन्। छोराछोरी भनेनन। यस्तो अवस्थामा उनले आफ्नो सम्पूर्ण शक्ति साहित्यलाई दिए। जसबाट नेपाली साहित्य निकै पल्लवित भएको छ। यो कुरा कसैले नकार्न सक्दैन। यसो भएकाले नेपालका साहित्यकारहरूको अवस्थाको गुढ रहस्यबारे ज्ञान हासिल गरे। नेपाली साहित्यवृत्तमा स्रष्टालाई बाँचुन्जेल महत्त्व नदिने तर शरीरमा कात्रो परेपछि भने गुणगान गाउने चलन पुरानो नै हो। एकातिर स्रष्टाको सामाजिक अवस्था यस्तो छ भने अर्कोतिर स्रष्टा भन्नेले लेखेका पुस्तक पनि सतही तथा बिनाअध्ययन चिन्तनमननका हुन्छन्। साहित्यकारको यस्तो विपर्यास चित्र पनि मनु ब्राजाकीले आफ्ना गजलमा उतारेका छन्। उदाहरण हेरौं-

सम्झनाले धेरै चोटि मारिसकेछ

मरेपछि बल्ल मनु खास लाग्दछ (६३)

देखाउन छोपेपछि छोपेकोले देखाउँछ

किताप हो भन्नु पर्दा चिनाउने गातो हुन्छ (१२३)

मनु ब्राजाकी आफ्नी छोरीसँग अमेरिका पुगे। केही वर्ष बसे र विदेशमा नेपालीको अवस्थालाई आफैंले देखे। विदेशमा नेपालीलाई त्यहाँका स्वदेशीले हेर्ने दृष्टिकोणलाई अनुभूत गरे। वास्तवमा विदेशमा नेपालीलाई हेर्ने दृष्टिकोण गरिब माग्नेकै रूपमा छ।

अर्कातिर नेपाली वीरता भनेर नेपालीहरू आफ्नो गुणगान आफैं गाउँदै विदेशीका भाडाका सिपाही भएको कुरा पनि कतैबाट छिपेको छैन। संसारभरि श्रमिक कामदार निर्यात गर्ने यथार्थ पनि हामीसामु छ। यही कुरालाई उनी गजलमार्फत अभिव्यक्त गर्छन् यसरी-

विदेशमा भित्ताभरि नेपालीको फोटो रै‘छ,

तलतिर लगौंटी र माथि झुत्रे भोटो रै‘छ (२८)

नेपालीको वीरताले नेपालीलाई रुवाउँदै छ

आफ्ना आँखा भिजाएर छिमेकीलाई हँसाउँदै छ (३३)

मनुले आफ्ना अन्तिम दिनतिर आइपुग्दा लेखन क्षमतामा ह्रास भएको पाए। तसर्थ छोटाछाटा गजल र छोटाकथा लेख्न थाले। त्यो पनि धेरै दिन टिकेन। त्यसपछि उनमा मृत्युबोध र तत्त्वबोध हुन थाल्यो। आफ्ना जीवनलाई गम्भीर भएर हेर्न थाले। समयको यो जन्म र मृत्युको चक्रलाई मिहीन तरीकाले पर्गेल्न थाले। आखिर के रहेछ र जीवन? जन्मेपछि मृत्यु अपरिहार्य हो भन्ने कुरा सैद्धान्तिक तरीकाले बुझेको छु भन्नु र त्यसलाई अनुभूत गर्दा भने धेरै फरक हुने रहेछ। यो कुरा मनुका गजलहरूमा यत्रतत्र पाइन्छन्। त्यसैले उनी भन्छन्-

खाली हात आए पनि संसार नै किन्छु भन्ने

आज फर्किजाँदा हेर खाली हात मल्दो रै‘छ(१९)

जाने सबै बिदावारी भई गए,

यो मनुको पनि आउला पालो एक दिन (२०)

मनुलाई सोध तिमी मलाई केही थाहा छैन,

कस्तो हुन्छ आफूलाई, फूलैफूलले छेकेपछि (२३)

जीवनका अन्तिम अन्तिमतिर संसारको यो जरामरणको चक्रले तत्तबोध भएको देखिन्छ। मायालाई प्रतीक बनाएर, अज्ञानताको अदृश्यतामाथि दृष्टि दिएका छन्। र, भन्छन् माया भन्नु र अज्ञानता भन्नु सूक्ष्म कुरा हुन्। नदेखिने। समात्न नसकिने। अभौतिक वस्तु। तर, आफूले जति बल गरे पनि, जति साधना गरे पनि र जति प्रयत्न गरे पनि आफ्नो शरीर भने स्थूल याने कि भौतिकका भौतिक रहेको छ। भौतिक स्थूल शरीरले अभौतिक नेदेखिने सूक्ष्म शरीरबारे शतप्रतिशत बोध हुनुचाहिं सायद असम्भव हो। यही कुरालाई कति मिठोसँग ब्राजाकीले आफ्ना गजलमा लेखेका छन्। यसरी-

सुवाशझैं हुन्छ माया, अज्ञानझैं अदृश्य छ त्यो,

सूक्ष्म तिमी थियौ तर भएको छु अझै म स्थूल (२४)

सांसारिक मायामोहमा मान्छेहरू लट्ठ पर्छन्। सम्पूर्ण कुरा नै यही मायामोह हो भन्ने बुझ्छन्। मेरोमेरो भन्छन्। मेरो कुराका लागि जालझेल, प्रयन्त तथा समग्र जीवन लगाइदिन्छन्। तर, जब मान्छेको जीवन अन्त्यतिर पुग्छ ऊ आफ्नै जीवनलाई हेर्न थाल्छ र कल्पना गर्न थाल्छ। आफूले कमाएका सम्पत्तिका डंगुरहरूले अब कुनै काम गर्दैनन्। यी कुरा मनुका गजलमा यसरी अभिव्यक्त भएको छ-

मेरोमेरो भन्दाभन्दै मेरो रहेन

कसको होला यो जीवन, कहाँ छोडी आएँ?(८६)

कमाएर को पो यहाँ धनी भयो र?

मैले तिम्रो लुट्या धन, कहाँ छोडी आएँ?(८६)

बाँडी खाने सम्पत्तिको कत्ति धनी थिएँ म,

जोगाएन आज भने आफ्नै सिरिखुरीले (११०)

जगजाहिर छ, मनु असाध्य धेरै रक्सी खान्थे। रक्सी खान्थे र जीवनजगतप्रति चिन्तन गर्थे। चिन्तन गर्थे र लेख्थे। लेख्थे र ती पाठकका हृदयमा बस्थे। मनु आफू पनि मान्छे नै भएकाले उनमा हृदयका पत्रपत्रमा पीडा नहुने कुरै होइन। त्यसैले उनले गजलका माध्यमबाट भनेका छन्। यसरी-

हृदयका दागहरू मेटाउन

मदिरामा आँसु हाली बसेको छु। (११८)

पारि जान खोलाभित्र पसेको छु,

खुसी छु म भुमरीले ढुकेपछि (१२०)

र अब अन्त्यमा ब्राजाकीका जेठो छोरा अपूर्व सिंहको २०६३ साल मंसिर २३ मा अल्पायुमै निधन भएपछि विरहमा पनि त गजल लेखे। यसरी-

जानुपर्ने अभागी म बाँचिरहेछु

म पनि त बसेको छु काल पर्खेर (१२५)

आखिर संसार, मायामोह, चिन्ता, व्यथा, पीडा मान्छेभित्रका तत्त्व त हुन् जसले मान्छेलाई डोर्‍याइरहन्छ। एकदिन यस्तो आयो मनुको शरीरलाई नै उडाएर लग्यो। धुवाँका लप्काहरूमा। आर्यघाटमा।

अब आलेखको पुछारमा छु। मनु ब्राजाकीले लेखेका गजलहरूमा प्रविष्ट गरेर हेर्दा गजलभित्र उनको दिलको आवाज देखिन्छ। शृंगारिक साहित्यभन्दा पर बसेर जीवनजगत्को चर्तिकला, विभेद, विद्रोह तथा यथार्थ चित्रण गरिएको देखिन्छ। इस्लाम समाजमा महिला सौन्दर्यबारे लेखिने गजलभन्दा पर गएर नेपालसापेक्ष निर्माण गरिएको पाइन्छ। किनभने ब्राजाकी आफैं भारतका विविध ठाउँमा पुगेर, अध्ययन गरेर उर्दू साहित्यको गजललाई नेपाली लोक पारामा रूपान्तरण गर्ने गजल स्रष्टाका रूपमा स्थापित छन्। त्यसैले भूमिकाकार पौडेलले ब्राजाकीलाई ‘गजलको इतिहासको राम्रो अध्ययन गरेका कारण भाषिक संरचना र मिजाससँग परिचित’ स्रष्टा मानेका छन्।

त्यसैगरी भूमिकाकार पौडेल साहित्यकारहरूले साहित्यको रूढ मान्यता, परम्परा र प्रचलित ढर्रालाई नै पछ्याइरहनु सिर्जन कलाको धर्म होइन’ भन्छन्।

वास्तवमा विषयका सन्दर्भमा परम्परागत मान्यतामा सुधार गर्नु पर्ने वा नयाँ प्रयोग गर्नु एकदम सान्दर्भिक कुरा हो। तर, जहाँसम्म बुनौटको कुरा हो त्यसमा एक विधाबाट अर्को विधालाई छुट्याउने नै त्यसको बुनौट सन्दर्भ हो। यसो भएकाले ब्राजाकीले गजलको बुनौटको पुरानो मान्यतालाई सुन्दर तरीकाले अबलम्बन गर्दै विषयवस्तुमा भने नयाँ सिर्जनकलाको प्रक्षेपण गरेका छन्।

मनु हरफनमौला स्वभावका देखिन्छन्। जीवनलाई भित्रसम्म पसेर कुनै आडम्बरबिना सिर्जना गर्नु मनुको विशेषता हो। त्यसकारण मनुले गजल लेख्नुको तात्पर्य आफ्नो अन्तरआत्मासँग बोल्नु रहेको देखिन्छ। किनभने यो स्वार्थी संसारमा आफ्ना मनका कुरा पनि अक्षरलाई सुनाउन सक्यो भने मात्र हो नत्र कुनै मान्छेलाई सुन्ने फुर्सद छैन।

गजलमा बुनौटमा कलात्मकता, विषयमा विविधता तथा सौन्दर्य, शिल्प तथा गहनता ब्राजाकीका गजल लेखनका विशेषता हुन्। यद्यपि गजललाई शास्त्रीय तरीकाले पढेर मात्र गजल लेख्न सकिन्न। सो सैद्धान्तिक खुराकलाई पचाएर शिल्प तथा प्रतिभा अभ्यासका माध्यमबाट मात्र सुन्दर गजल सिर्जना गर्न सकिन्छ भन्ने हेक्का मनु ब्राजाकीलाई थियो। उनमा प्रगतिशील चेत तथा गजल प्रस्तुतीकरणमा सूक्ष्म अध्ययन र सीप देखिन्छ।

वस्तुतः मनुका गजलहरू मनुको जीवनचिन्तन तथा उनले सरदर बाँचेको जिन्दगीको सुन्दर पुलिन्दा हो। उनका विचारहरूको अग्गेठ हो, जसले लामो समयसम्म नेपाली समाजको अन्धविश्वासलाई पोलिरहन्छ । चेतनाको विगुल फुकिरहन्छ। विद्रोहको पुल्ठो झोसिरहन्छ।

अलमस्त उनको विचार उनी जस्तै यायावरीय भएर घुमिरहन्छ। र, मनु! तिमी जहाँ छौ-छौ। हामी यहाँ छौं र तिमीलाई पढ्दैछौं।

अप्रिल २, १९२३,

सान मार्कोस, अमेरिका

प्रकाशित: २० चैत्र २०७९ ०७:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App