बुधवार(असार ११ गते) बिहान सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–५ कोल गाउँको एक भिरमा ११ वर्षिया बालिका निशा तामाङ मृत फेला परिन्। घरबाट करिब ४ मिटर तल रहेको छ्यादीखोला जंगलको भिरमा उनको शव भेटिएको थियो।
बिहान जंगलमा च्याउ खोज्न जाने गाउँलेले बीभत्स अवस्थामा निशाको शव भेटेका थिए। घटनाबारे प्रहरीलाई खबर भयो। त्यसपछि प्रहरीले अनुसन्धान थाल्यो।
‘घटना प्रथम दृष्टिमै हत्या थियो। सँगै बलात्कार पनि भएको हुनसक्ने अनुमान ग¥यौँ,’ जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख प्रहरी उपरीक्षक(एसपी) रामेश्वर कार्कीले भने। त्यतिन्जेल हत्यारा पत्ता लागेको थिएन।
एसपी कार्कीसहितको टोली अनुसन्धानमा जुट्यो। यस्तै प्रहरी प्रधान कार्यालयस्थित केनाइन कार्यालयका इन्स्पेक्टर कृष्ण बस्नेतको कमान्डमा दुई वटा तालिम प्राप्त कुकुर पनि घटनास्थलमा परिचालन भए।
कुकूर पुग्नुअघि नै प्रहरीले घटनास्थल पत्ता लगाइसकेको थियो। प्रहरीका अनुसार घर नजिकैको मकै बारीमा मकै भाँचिएका थिए, रगत लतपतिएको ढुंगा पाइएको थियो। त्यही ढुंगाले टाउकामा हानेर हत्या गरेको देखियो। त्यहाँ हत्या गरेपछि बोकेर भिरमा लगेर फालेको प्रहरीले आशंका गरिसकेको थियो।
सोही क्रममा दुई जना युवकलाई शंकाको दृष्टिमा लिइसकेका थिए। ‘दुई जना केटाहरूमाथि हामीले प्रस्ट शंका गरिसकेका थियौँ,’ एसपी कार्कीले भने, ‘उनीहरूको व्यवहार, शारीरिक हाउभाउ, शंका गर्ने खालका त्यही। घटनास्थलको अवस्था हेर्दा एक जनाको हातबाट त्यो सम्भव पनि देखिन्नथ्यो ।’
जब तालिमप्राप्त कुकूर पुग्यो, प्रहरीको शंका पुष्टि हुने गरी संकेत गर्यो। ‘कुकूरले हत्यामा प्रयोग भएको ढुंगा सुँघेपछि शंका गरेकै केटाको घरमा डोर्याएर लग्यो, घरमा घटनाका बेला लगाएका लुगा पनि भेटिए,’ एसपी कार्कीले भने।
त्यही संकेतका आधारमा थप अनुसन्धान गर्दै प्रहरीले पाँच जनालाई पक्राउ गरेर शुक्रवार सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा सोही ठाउँका २१ वर्षीय निमा तेन्जिङ तामाङ, २२ वर्षीय वाङनिमा तामाङ, ३२ वर्षीय नामग्याल शेर्पा, २० वर्षीय दावा तामाङ र २२ वर्षीय लाक्पा पासाङ तामाङ छन्।

स्वास्थ्य चौकीबाट कन्डम ल्याए, रक्सी खाएर बलात्कार गरे
प्रहरीका अनुसार पक्राउ परेका अभियुक्त सबैले प्रारम्भिक सोधपुछका क्रममा घटनामा आफ्नो संलग्नता स्वीकार गरेका छन्। सँगै योजना बनाएर बलात्कार गरेको पनि बताएको एसपी कार्कीले बताए।
‘उनीहरू सबै छिमेकी हुन्। सबैको मृतक बालिकासँग नजिकको नाता पनि लाग्छ,’ एसपी कार्कीले भने, ‘घटनाको प्रकृति र अभियुक्तको कुरा सुन्दा सबै योजनाबद्ध देखिन्छ।’
उनले त्यसको कारणका रूपमा अभियुक्तहरूले भनेको कुरा जानकारी दिए। घटना असार १० गते(मंगलवार) राति १० बजेको हो।
‘त्यो दिन उनीहरू दिउँसो स्वास्थ्य चौकी गएर कन्डम ल्याए। राति पाँचै जनाले रक्सी सेवन गरे,’ एसपी कार्कीले भने, ‘त्यसपछि मृतक बालिकालाई मकै बारीमा लगेर पालैपालो बलात्कार गरेको देखिन्छ।’
११ वर्षिया बालिकाले पाँच जनाको करणी सहन गर्न सकिनन्। ‘रुन/कराउन थालेपछि टाउकामा ढुंगाले हानेर हत्या गरेको स्वीकार गरेका छन्,’ एसपी कार्कीले भने।
हत्यापछि चार जनाले शव बोकेर भिरमा लगेर फाले। ‘एक जनाले बलात्कार गर्दा प्रयोग गरेको कन्डम खोलामा बगाउन गएको रहेछ,’ उनले भने।
पक्राउ परेका आरोपी विरुद्ध प्रहरीले सिन्धुपाल्चोक जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर थप अनुसन्धान गरिरहेको एसपी कार्कीले जानकारी दिए।
प्रकाशित: १३ असार २०८२ १७:३७ शुक्रबार





