टेलिकमले यो वर्ष काठमाडौंमा रहेका दुई सय टावरमा ब्याट्रीको ब्याकअप कम्तिमा १० र बढीमा १२ घण्टासम्म पुर्याएको छ। बिजुली बन्द हुनासाथ टावर बन्द हुने र त्यसले मोबाइल टेलिफोन नचल्ने, चलेपनि भनेको समयमा सम्पर्क नहुने र सम्पर्क भैहालेपनि स्पष्ट कुराकानी गर्न नसक्ने समस्या उपभोक्ताले भोग्दै आएका छन्।
'गत वर्ष यो समस्या बढी देखिएकोले मोबाइलको टावरमा लामो समयसम्म चल्ने ब्याट्री ब्याकअप राखिएको छ,' टेलिकमका प्रबन्ध निर्देशक अमरनाथ सिंहले भने। विद्युत प्राधिकरणले यो बर्ष बढीमा १२ घण्टासम्म मात्र लोडसेडिङ हुने बताएपछि टेलिकमले त्यसै अनुसार व्याकअप बढाएको हो।
टेलिकमले काठमाडौं उपत्यकाबाहिर र भित्रका दुई सय टावरमा सोलार प्रणालीले चलाउने योजना अघि बढाएको छ। 'अहिलेसम्म १० वटा टावर जेनेरेटरबाट चलाइएको छ,' टेलिकमका प्रवक्ता सुरेन्द्रप्रसाद थिकेले बताए।
पछिल्लो समयमा मोबाइलको आपूर्तिकर्ता जेडटीइलाई कडा गरेपछि अहिले सुधार भैरहेको दावी टेलिकमले गरेको छ। सुधारकै क्रममा 'रेडियो फ्रिक्वेन्सी अप्टिमाइजेसन,' प्रभावका बनाइएको थिकेले बताए।
चालु आवको साउनदेखि मंसिरसम्म टेलिकमले ५ लाख ८७ लाख ग्राहक थपेको छ। यसमध्ये ५ लाख १९ हजार जिएसएम मोबाइल थपिएको छ भने सिडिएमए मोबाइल ६० हजार र तारवाला फोन सात हजार थपिएको छ।
यो आबको मंसिरसम्ममा काठमाडौंमा मात्र सिमित रहेको द्रूतगतिको इन्टरनेट (एडिएसएल) लाई २४ जिल्लामा पुर्याएको छ। सगरमाथाको आधाशविर तेंगबोचेमा केयू ब्यान्डको भिस्याट राखेर तीनसय लाइन क्षमताको जिएसएम मोबाइल पनि चलाइएको थिकेले जानका दिए।
टेलिकमले यो आर्थिक वर्षभित्र ५० हजार तारवाला पिएसटिएन, २२ लाख जिएसएम मोबाइल र चारलाख सिडिएमए मोबाइल वितरण गर्ने योजना बनाएको छ।
फ्रिक्वेन्सी फिर्ता नगर्नेः
नेपाल दूरसञ्चार प्राधिकरणले टेलिकमको फ्रिक्वेन्सी खोस्ने निर्णय गरेपनि टेलिकमले भने नदिने भएको छ।
'हामीले पाएजति सबै फ्रिक्वेन्सी प्रयोग गरिरहेका छौं,' मोबाइल सेवा निर्देशनालयका निर्देशक जीवनरत्न शाक्यले भने। प्राधिकरणले फिर्ता लिदा मोबाइलको गुणस्तर झनै बिग्रने र टेलिकमको खर्च बढने दाबी टेलिकमको छ।
यही फ्रिक्वेन्सीको आधारमा टेलिकमले उपकरणको आयात गरिरहेको छ। स्रोतका अनुसार टेलिकमले जस्तो सुकै अवस्था आएपनि अस्थायी रुपमा प्रयोग गरिरहेको २ दशमलव ४ मेगाहर्जको फ्रिक्वेन्सी प्राधिकरणलाई फिर्ता नगर्ने जानका सञ्चार मन्त्रीलाई गराइसकेको छ।
फ्रिक्वेन्सी फिर्ता गर्न दवाव दिएमा टेलिकमका कर्मचा युनियनहरुले विरोध कार्यक्रम अघि बढाउने तया गरिरहेका छन्।
प्रकाशित: २८ पुस २०६६ १३:०५ मंगलबार





