'आधा भन्दा धेरै अन्तर्राष्ट्रिय कम्पनीहरुले म्याद थप्न आग्रह गरेका छन्,' टेलिकमका एक उच्च अधिकारीले भने। झण्डै दुई अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको एनजिएनको निम्ति अहिलेसम्म दुई चिनिया सहित नौ अन्तर्राष्ट्रिय कम्पनीहरुले बोलपत्र फर्म किनेका छन्।
चिनिया कम्पनीका अतिरिक्त टेलिफोन उपकरण बनाउन विश्वमा उत्कृष्ठ अल्काटेल, नोकिया सिमेन्स लगायतका कम्पनीले समेत फर्म किनेर लगेका छन्।
एनजिएन टेलिकमले ल्याउन लागेको सबैभन्दा आधुनिक प्रविधि हो। यसबाट एकैपटकमा टेलिफोन, इन्टरनेट र केबुल टिभी सेवाको प्रयोग गर्न सकिन्छ।
स्रोतका अनुसार एनजिएनको टेण्डर हात पार्न चिनिया हुवाई र जेडटिईका बीचमा निकै चलखेल बढेको छ। यी दुईबीच जति प्रतिस्पर्धा गरायो टेलिकमलाई उतिनै फाइदा हुनसक्ने हुँदा म्याद थपिएको स्रोतले बताएको छ।
विश्वस्त सुत्रका अनुसार यो टेण्डर हात पार्नको लागि सस्तो उपकरण भएर मात्र पनि हुँदैन। टेलिकमसँग विगतमा गरेको कामको लागि 'सन्तुष्ट भएको प्रमाणपत्र' पनि पेश गर्नुपर्छ। चिनिया हुवाईसँग यस्तो प्रमाणपत्र भएपनि जेडटिईसँग भने छैन। यी दुई कम्पनीहरुको बीचमा प्रतिस्पर्धा भएन भने टेलिकमलाई करोडौं रुपैयाँ बढी व्ययभार पर्ने हुँदा पनि म्याद थपिएको हो।
'जेडटिईले यो प्रमाणपत्र पाउन अहिले मोबाइल टेलिफोनमा सुधार गर्ने प्रतिवद्धता जनाउनुका साथै काम पनि अघि बढाइरहेको छ,' टेलिकमका एक उच्च अधिकारीले भने। अहिले सञ्चालनमा रहेको टेलिकमको मोबाइलको आपूर्तिकर्ता जेडटिईको उपकरण गुणस्तरीय नभएको विषयमा सबैतिरबाट आलोचना भैरहेको छ।
टेलिकमले जेडटिई र हुवाईका बीचमा ठूलो प्रतिस्पर्धा गराउनका लागि अहिले म्याद थपिएको हो। यी दुई कम्पनीबीच प्रतिस्पर्धा भयो भनेमात्र अरु युरोपिएन कम्पनीले सस्तोमा दिन प्रस्ताव गर्ने निष्कर्ष टेलिकमको छ।
स्रोतका अनुसार टेलिकमले सबैभन्दा कम रकम बोलकबोल गर्ने कम्पनीको मात्र उपकरण नलिने निर्णय गरेको छ। सबैभन्दा कम मूल्यमा उपकरण दिन प्रस्ताव गर्ने कम्पनीको ६० प्रतिशत र त्यही मूल्यमा उपकरण दिन तयार भए अन्य प्रतिस्पर्धी कम्पनीको ४० प्रतिशत उपकरण लिने निर्णय टेलिकमको व्यबस्थापनले गरेको छ।
प्रकाशित: २० मंसिर २०६६ ००:३९ शनिबार





