२६ पुस २०८२ शनिबार
image/svg+xml
प्रविधि

डिजिटल डिभाइड घटाउन स्मार्टफोन

काठमाडौँ- अमेरिका र कतिपय मुलुकमा स्मार्टफोनले डिजिटल डिभाइड घटाउन महत्वपूर्ण भूमिका खेलेको तथ्य सार्वजनिक भएको छ। के नेपालमा डिजिटल ग्याप घटाउन हातेफोनले काम गरेको छ?  

फेब्रुअरी १४ सम्मको तथ्यांकमात्र हेर्ने हो भने नेपालमा मोबाइल फोन चलाउनेको संख्या १ करोड ३८ लाख ४५ हजारभन्दा माथि पुगिसक्यो। नेपाल दुरसञ्चार प्राधिकरणको यो तथ्यांकले नेपालमा भएको मोबाइल फोनको विस्तार त देखाउँछ तर यी मध्ये कतिले स्मार्ट फोन चलाउँछन् कुनै आँकडा छैन। न त अनुमान नै। नेपालका मोबाइल सेवा प्रदायकले मापदण्डभित्रका फोनमात्र चलाउने व्यवस्था लागू गर्न सकेको छैन। थियो भने कति क्षमताका मोबाइल बोकिन्छन् खोज्न कठिन थिएन। एनसेलले स्मार्टफोन व्लाकवेरी बिक्री गरेपनि महँगो भएका कारण यसका ग्राहक धेरै छैनन्। बजारमा स्मार्टफोन छ्यासछ्यास्ती छन्। अमेरिकाबाट नेपाल छिरेका अनलक्ड आइफोन र अन्य स्मार्टफोनहरु यहाँ जेलब्रेक हुन्छन् र हात हातमा पुग्छन्। यसको त तथ्यांक खोज्नु पनि निरर्थक नै हुन्छ।

तथ्यांक नै हेर्ने हो भने नेपालमा एडिएसएलका ग्राहक ७८ हजार ७ सयभन्दा माथि पुगेको छ। एउटा ग्राहकबाट कम्तिमा पनि तीन जनाले इन्टरनेट चलाउँछन्। शहरी क्षेत्रमा सेयरिङ गरेर इन्टरनेट चलाउनेको संख्या पनि उत्तिकै छ। मोबाइलको जिपिआरएस चलाउनेको संख्या ३८ लाख ७० हजारको हाराहारीमा छन्। स्मार्टफोनका लागि यी सबै ग्राहक डिजिटल डिभाइड घटाउन योग्य हुन्। अन्य इन्टरनेट सेवाप्रयोग गर्नेसमेत जोड्ने हो भने ४२ लाख नेपाली डिजिटल डिभाइडबाट बच्नसक्नेमा पर्छन्।

पिउ स्टडिजले गतसाता सार्वजनिक गरेको रिपोर्टअनुसार इन्टरनेट चलाउन मिल्ने डिजिटल डिभाइसका कारण अमेरिकमा भने डिजिटल ग्याप हटाउन मद्दत मिलेको छ। अनलाइनसँग नजोडिएका परम्परावादी मानिसहरु पनि स्मार्टफोनका कारण यसमा आवद्ध हुन थालेको अध्ययनले देखाएको छ। मोबाइल फोनमा उपलव्ध भएका सुविधाहरुको प्रयोग बढ्दा डिजिटल डिभाइड कम हुनसक्ने अध्ययनले संकेत गरेको छ।

इन्टरनेट सुविधाभोगी वस्तुबाट क्रमश अतिआवश्यकीय वस्तुकारुपमा रुपान्तरित भइरहेको अवस्थामा नेपाली समाजमा पनि डिजिटल डिभाइड कम गर्न यसले भूमिका खेल्नसक्ने निश्चित छ। पिछडिएको समाज र आर्थिकरुपमा विपन्नहरु प्नि यसको प्रयोगबाट लाभान्वित हुने अवस्था आएको छ। इन्टरनेटको व्यापक प्रयोगले शिक्षा र स्वास्थ्यमा मात्र होइन आर्थिकोपार्जनलाई समेत सघाउन सक्छ। त्यसैले कतिपय युरोपेली मुलुकहरुमा गाँस बास कपासँगै ब्रोडव्यान्डलाई अति आवश्यकीय साधनका रुपमा स्विकार गरिसकेका छन्। नेपालका पनि सहरी क्षेत्रका रेस्टुँरा र क्याफेहरु फ्रि वाइफाइ जोनमा रुपान्तरित भइरहेका छन्।

अर्कोतिर इन्टरनेट चलाउन मिल्ने स्मार्टफोनहरु सस्तिनेक्रम जारी छ। इन्टरनेट सुविधा भएका मोबाइल सेटहरु ५ हजार रुपियाँ र वाइफाइ सुविधा भएका स्मार्टफोनहरु ८ हजार रुपियाँदेखि नै बजारमा उपलव्ध छन्। समाजिक सञ्जाललाई स्मार्टफोनले अभिन्न अंग नै बनाउन थालेकाले सूचना प्रवाहमा रहने ग्यापलाई यस्ता फोनसेटहरुले कम गर्नसक्छ।

'कुनै पनि जात वा आर्थिक अवस्थाका मानिस हुन् उनीहरुलाई इन्टरनेटको कन्टेन्टले कुनै असर पार्दैन,' अध्ययन रिपोर्टमा भनिएको छ, 'धेरै उमेर र कम आय भएका मानिसहरुले इन्टरनेट कम चलाउने वा चलाउँदै नचलाउने अवस्था थियो। तर स्मार्टफोनले त्यसलाई हटाएको छ।'

मोबाइलको प्रयोग पछि नेपालको कृषि बजार र कृषकबीचमा रहने विचौलियाको भूमिका केही कम भएको अनुभव धेरैले गरेका छन्। यस्तै अन्य क्षेत्रमा पनि सञ्चार क्रान्तिले सुधार ल्याएको छ।

स्मार्टफोन र इन्टरनेट माध्यममात्र हुन्। यी माध्यमको सही प्रयोगले नै डिजिटल डिभाइड कम गर्न सक्छ। इन्टरनेट अथवा समाजिक सञ्जालमा सक्रिय हुँदैमा समस्या समाधान हुन सक्दैन। समाधानका लागि त प्रयोगकर्तामा यसको पर्याप्त ज्ञान हुन आवश्यक छ। नेपाली समाज त्यसका लागि तयार त छ तर युवापुस्ता र शहरी जीवनबाट स्मार्टफोनको प्रयोग गाउँ-गाउँमा पुग्न आवश्यक छ।

प्रकाशित: १३ वैशाख २०६९ ०२:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App