बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज आसपासको क्षेत्रमा बाघको आक्रमणबाट एक सातामै तीन जना सर्वसाधारण मारिएका छन्। बाँके राष्ट्रिय निकुञ्ज आसपासको क्षेत्रमा दुई र बर्दिया राष्ट्रिय निकुञ्जको कार्यक्षेत्रमा एक जनाको मृत्यु भएको हो।
बाँके राष्ट्रिय निकुञ्ज अन्तर्गत राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ सौरी, बाँके निवासी ६१ वर्षीय मरिचमान भण्डारीको गत शनिबार (पुस १९ गते) मृत्यु भयो। गाई चराउन नजिकैको जंगलमा गएको समयमा बाघले आक्रमण गर्दा भण्डारीको घटनास्थलमै मृत्यु भएको थियो।
उक्त घटनाको चार दिनपछि बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्केको बाघले आक्रमण गर्दा सुर्खेतको भेरीगंगा नगरपालिका–५ की ५७ वर्षीया गंगा सारूको मृत्यु भयो। बाँसगढी नगरपालिका वडा नम्बर १ सँग सीमा जोडिएको सुर्खेतको शक्ति सामुदायिक वन क्षेत्रमा महिलाको शव भेटिएको थियो।
यस्तै, बाघले शुक्रबार (पुस २५ गते) पुनःबाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र पर्ने सल्यानको कालीमाटी–७ घुईयाबारी नजिक पर्सेनी गाउँमा पनि एक महिलालाई मार्यो।
दाउरा काट्न गएका बेला बाघको आक्रमणबाट ४२ वर्षीया धनसरी रावतको मृत्यु भएको हो। स्थानीयका अनुसार धनसरी शुक्रबार घरनजिकै रहेको हरियाली सामुदायिक वनमा दाउरा काट्न गएकी थिइन्। उनलाई दिउँसो साढे ३ बजेतिर बाघले आक्रमण गरेर जंगलतिर घिसार्दै लगेको थियो। घटना लगत्तै प्रहरी र निकुञ्ज सुरक्षार्थ नेपाली सेनाको टोलीले खोजी गर्दा घरदेखि ५ सय मिटर पर झाडीमा शव फेला परेको छ।

बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत बीरेन्द्रप्रसाद कँडेलले एक साताभित्रै तीन जना सर्वसाधारणले बाघको आक्रमणबाट ज्यान गुमाएको बताए। ‘बाँके राष्ट्रिय निकुञ्जको कार्यक्षेत्रमा एक साताभित्रै दुई जनाले अकालमा ज्यान गुमाउनु भयो, बर्दिया निकुञ्ज अन्तर्गत पर्ने सुर्खेतमा एक जनाले ज्यान गुमाउनु भएको छ,’ उनले नागरिकसँग भने, ‘सरकारले वन्यजन्तु संरक्षण सम्बन्धी नीतिलाई परिमार्जित गर्नुपर्ने अवस्था आइसकेको छ, बाघको उचित व्यवस्थापन गर्न सकिएन भने अझ विकराल समस्या निम्तिन सक्छ।’
सरकारी निकायको ध्यानाकर्षण
निकुञ्ज क्षेत्रमा दिनहुँ बाघको आक्रमणबाट मानव जीवन असुरक्षित बन्दै गइरहेको अवस्थालाई राज्यले यसलाई उच्च गम्भिरताका साथ लिनुपर्ने भन्दै सम्बद्ध निकायको ध्यानार्कषण गराइएको छ।
नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर १ को अगुवाइमा बाँके राष्ट्रिय निकुञ्ज कार्यालय र जिल्ला प्रशासन कार्यालय बाँकेमार्फत सरकारको ध्यानाकर्षण गराइएको हो। निर्दोष नागरिकहरूले बाघको आक्रमणबाट अकालमा ज्यान गुमाइसकेको अवस्था अत्यन्तै दुःखद, चिन्ताजनक र मानव सुरक्षाको दृष्टिकोणले गम्भीर विषय बनेको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ।
बाघको तत्काल पहिचान गरी नियन्त्रणमा लिई सुरक्षित स्थानमा स्थानान्तरण गर्न, साथै मानव क्षतिको न्यूनीकरणका लागि विशेष र प्रभावकारी पहल गर्न कांग्रेसले माग पनि गरेको छ। बाघको आक्रमणबाट अकालमा ज्यान गुमाउन पुगेका परिवारलाई प्रचलित कानुनबमोजिम तत्काल राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन सम्बन्धित निकायमार्फत आवश्यक पहल गरिदिन अनुरोध गरिएको छ।
'भविष्यमा यस्ता दुःखद घटनाहरू दोहोरिन नदिन बाघ लगायत अन्य जंगली जनावरबाट हुने मानवीय क्षतिको न्यूनीकरणका लागि वैज्ञानिक मापदण्ड अपनाइ, निकुञ्ज क्षेत्र वरपर बसोबास गर्ने नागरिकहरूलाई ढुक्क, सुरक्षित र निर्भिक रूपमा बाँच्न पाउने वातावरणको सुनिश्चितता गर्न दीर्घकालीन र प्रभावकारी व्यवस्थापन योजना कार्यान्वयन गरिनु अत्यावश्यक देखिन्छ,’ कांग्रेसले भनेको छ।
कांग्रेस क्षेत्र नम्बर १ का सभापति पोषणराज केसीले उपरोक्त विषयलाई गम्भिरता पूर्वक मनन गरी तत्काल आवश्यक कदम चाल्न आग्रह गरे। उनले मान्छे मार्दै हिँड्ने बाघलाई तत्काल नियन्त्रणमा लिनुपर्ने र मृतकका परिवारलाई राहत तथा क्षतिपूर्तिको व्यवस्थाका साथै भविष्यमा घटना दोहोरिन नदिन आवश्यक नीति अवलम्बन गर्न सुझाव दिए।
ध्यानाकर्षण पत्र बुझेपछि बाँकेका प्रमुख जिल्ला अधिकारी दिलबहादुर तामाङले मान्छे मार्ने बाघ नियन्त्र गर्नका लागि आफूले सम्बन्धित मन्त्रालय, विभाग र कार्यालयसँग आवश्यक समन्वय गर्ने बताए। ‘जिल्ला तहमा निकुञ्ज र डिभिजन वन कार्यालयसँग मैले तत्काल पहल गर्ने छु, हामी चाँडै समन्वय बैठक राखेर बाघको पहिचान गरेर नियन्त्रणमा लिनेछौं, बारम्बार हुने घटनालाई न्यूनीकरण गर्न नीतिगत रूपमा पनि पहल गर्ने छु,’ उनले भने।
बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत कँडेलले प्रकृति संरक्षण, जैविक विविधताको संरक्षण र वन्यजन्तु संरक्षणको काम निकै चुनौतीपूर्ण रहेको बताए। संरक्षित वन्यजन्तुबाट हुने क्षति रोक्न सबै निकायबीच हातेमालो जरुरी रहेको उनी बताउँछन्। मृतकका परिवारलाई राहत दिने प्रक्रिया अगाडि बढिसकेको प्रमुख संरक्षण अधिकृत कँडेलले बताए। ‘स्वर्गीय मरिचमान भण्डारीको आश्रित परिवारलाई तत्काल राहत कोषबाट काजकीरिया खर्च भनेर ५० हजार हामीले दिइसकेका छौं, निकट भविष्यमा १० लाख रुपैयाँ पनि दिनेछौं,’ उनले भने। भविष्यमा यस्ता घटना दोहोरिन नदिन नियमित गस्ती, पेट्रोलिङ, सचेतना अभियानलगायतका काम गरिने कँडेलले बताए।
प्रकाशित: २६ पुस २०८२ १६:२२ शनिबार





