सिराहाका बजार क्षेत्रमा मात्र नभै गाउँगाउँमा यस्ता एन्टेना राखेर भारतीय मोबाइल प्रयोग गर्नेको संख्या बढिरहेको छ। पाँचदेखि सातसय रुपैयाँमा पाइने एन्टेना घरको छत माथि राखिन्छ। एन्टेनाको अर्को छेउमा रहेको तारलाई मोबाइल सेटमा जोडने बितिकै यहाँका जुनसुकै स्थानमा भारतीय मोबाइलको नेटवर्क सजिलै टिप्छन्।
भारतीय मोबाइल कम्पनीहरु बिएसएनएल, एअरटेल र सेलवनका मोबाइलले सिराहा अधिकांश ठाउँमा सिग्नल टिप्छ। दूरसञ्चार क्षेत्रका विज्ञहरुका अनुसार, भारतीय कम्पनीहरुले आफ्नो भूमिमा राखेका मोबाइल टावर (बिटिएस)लाई टिल्ट नगरि टाढासम्म टिप्ने गरि सिग्नल छाडेकाले नेपालमा पनि सजिलै टिप्ने गरेको हो।
'यस्तो समस्यालाई दुई देशको सुरक्षा निकायको समन्वय नभै नियन्त्रण गर्न संभव छैन,' दूरसञ्चार प्राधिकरणका निर्देशक आनन्दराज खनालले भने। विगतमा यस्तो समस्याको विषयमा धेरै पटक छलफल भएपनि निष्कर्शमा नपुगेको हुँदा सिग्नल रोक्न समस्या देखिएको छ।
भारतीय मोबाइल प्रयोगले नेपाली मोबाइल कम्पनीलाई घाटा पुर्याएको छ। तर, यो भन्दा पनि ठूलो समस्या पछिल्लो समयमा शान्ति सुरक्षा विग्रनुमा भारतीय मोबाइलको प्रयोग बढ्नु देखिएको छ।
भारतीय मोबाइल कम्पनीका सिमकार्डबाट फोन गरेर धम्की, अपहरण, चन्दा माग्ने घटना बढिरहेका छन्। अचम्मको विषय त भारतीय मोबाइल प्रयोग गरेर सार्वजनिक टेलिफोन वुथ (पिसिओ) नै सञ्चालन गरिएका छन्।
नेपाल टेलिकम सिराहाका प्रमुख भजनलाल चौधरीले भारतीय मोबाइलको प्रयोगबाट नेपाली कम्पनीलाई घाटाको साथै सरकारी राजश्व समेत गुमिरहेको बताए।
भारतीय मोबाइल कम्पनीहरुको सिग्नल नेपाली सिमानाको १० किलोमिटरभित्रसम्म टिप्छ। कमजोर सिग्नल भएको ठाउँमा छतमा एन्टेना राख्दा स्पष्टसँग कुराकानी गर्न सकिने भएकोले व्यापारीदेखि लिएर सर्वसाधारणले समेत भारतीय मोबाइलको प्रयोग गरिरहेका छन्।
नेपाल टेलिकम, स्पाइस नेपालको मोबाइलको तुलनामा भारतीय कम्पनीको मोबाइलमा स्पष्ट सुनिने भएपछि नेपालभित्रै पनि एक आपसमा भारतीय मोबाइल लिएर कुराकानी गर्ने प्रवृत्ति बढेको छ। टेलिकमका कर्मचारीको अनुमानमा सिराहामा नेपाली मोबाइलको भन्दा पनि भारतीय मोबाइलका प्रयोगकर्ता धेरै छन्।
भारतीय मोबाइलबाट कुराकानी गर्दा प्रति मिनेट ३५ पैसामात्र खर्च लाग्छ। नेपाली कम्पनीहरुको मोबाइल प्रयोग गर्दा मिनेटको तीन रुपैयाँसम्म खर्च हुन्छ।
भारतीय मोबाइलबाट पिसिओ चलाएर बसेकाहरुले भारत फोन गर्दा मिनेटको तीनदेखि पाँच रुपैयाँ लिन्छन्। उनीहरुको कमाई सालाखाला दैनिक दुईदेखि पाँचहजार रुपैयाँसम्म हुन्छ।
गोलबजारका एक पिसिओ सञ्चालकका अनुसार, एन्टेना बेच्ने पसलहरुमा भारतीय मोबाइलको सिमकार्ड पनि खुलमखुल्ला बिक्री भैरहेका छन्। भारतीय मोबाइलका रिचार्ज कार्ड पनि पसल पसलमा पाइन्छ। जबकी नेपाल टेलिकम र स्पाइसका रिचार्ज कार्डहरु भनेको मूल्यमा ग्राहकले पाउन सक्दैनन्।
भारत लगायत खाडी मुलुक वैदेशिक रोजगारमा गएका आफन्तसँग कुराकानी गर्नेहरुले भारतीय मोबाइलनै बढी प्रयोग गरिरहेका छन्। भारतीय मोबाइलको पिसिओ गोलबजारमा हरेक मंगलबार र शनिबार खाडी मुलुक र भारतमा फोन गर्नेको भीड लाग्ने गरेको छ।
नेपाल टेलिकम लहानका प्रमुख चौधरीले भने, 'समस्या देखिएपछि २/३ वर्ष देखि लगातार केन्द्रिय कार्यालय र सरकारको ध्यानाकर्षण गरेपनि समाधान भएको छैन।' यो समस्या सिरहाको मात्र नभई देशव्यापी भएको उनले बताए।
प्रमुख जिल्ला अधिकारी बिरेन्द्र यादबले एक कार्यक्रममा यसको प्रयोगमा रोक लगाउने तयारी भईरहेको बतएको महिनौ भए पनि त्यो कार्यान्वयन भएको छैन।
प्रकाशित: ४ असार २०६७ २३:२८ शुक्रबार





