नेपाली कांग्रेस विभाजनपछि दुवै पक्ष बारम्बार निर्वाचन आयोग धाएर दबाब दिन थालेका छन्। बिहीबार गगन थापा समूहले निर्वाचन आयोग पुगेर विशेष महाधिवेशनबाट आफूहरू निर्वाचित भएको भन्दै राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ५१ बमोजिम विवरण अद्यावधिक गरिदिन माग गरेको थियो।
त्यसपछि शुक्रबार बिहानै संस्थापन पक्षका कार्यवाहक सभापति पूर्णबहादुर खड्का नेतृत्वको टोली दलबलसहित आयोग पुगेको थियो। जसमा नेता डा. शेखर कोइरालासहित पदाधिकारी, पूर्व पदाधिकारीसहितको ठुलो संख्यामा नेता कार्यकर्ता सामेल थिए।
संस्थापन पक्षको टोलीले केन्द्रीय समितिबाहेक अन्य कोही व्यक्तिलाई महाधिवेशन गर्ने अधिकार नभएकाले भृकुटीमण्डपमा सम्पन्न कार्यक्रम विशेष महाधिवेशन नै नभएको कुरा आयोगसमक्ष भनेको थियो। अवैध कार्यक्रमबाट चुनिएको कार्यसमिति वैधानिक नै नभएकाले त्यससम्बन्धी आएका दबाबतिर ध्यान नदिन आग्रह गरेको थियो।
त्यसलगत्तै पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरेर अन्यथा निर्णय भए आफूहरू देशव्यापी आन्दोलनमा उत्रिने चेतावनी नै दिएको छ।
बिहान संस्थापन पक्ष आयोग पुगेको थाहा पाएपछि गगन पक्षधर उपसभापति विश्वप्रकाश शर्माको नेतृृत्वको समूह फेरि निर्वाचन आयोग पुगेको थियो। सुरुमा सुरक्षाकर्मीले उनीहरूलाई गेटमै रोकेको थियो। पछि भित्र पस्न दिएपछि केही बेर नेताहरू परिसरमै धर्ना समेत बसे। त्यसपछि आयोगका पदाधिकारीले उनीहरूका कुरा सुनेका थिए। त्यसमा पनि उनीहरू आफ्नो महाधिवेशन वैधानिक रहेको दाबी गरेका थिए।
उता गगन पक्षका नेताहरूले आयोगका पदाधिकारी छलफल गरिरहँदा संस्थापन पक्षधर नेताहरू फेरि आयोग पुगेका छन्।
प्रकाशित: २ माघ २०८२ १६:१३ शुक्रबार





