‘रुईतोक्नोमी’का प्रतिपादक तथा ‘आँखाका भगवान’ भनेर परिचित डा. सन्दुक रुईतले चार सय बढीमा आँखाको ज्योति फर्काईदिएका छन् । उदयपुरमा फेला परेका मोतियाविन्दुका ४ सय ३८ विरामीको सफल अप्रेसनमार्फत ज्योति फकाईदिएर डा. रुईत बिहीबार संघीय राजधानी फर्केका हुन् ।
आँखा रोगीलाई लक्षित गरि जिल्लाको चौदण्डीगढी नगरपालिकाले आयोजना गरेको निःशूल्क आँखा परीक्षण तथा अप्रेसन शिविरमा सहभागी हुन डा. रुईत गत आईतबार साँझ उदयपुर आएका थिए । सदरमुकाम त्रियुगा, बेलका र चौदण्डीगढी नगरपालिकाका विभिन्न वडामा साताव्यापी सञ्चालन गरिएको शिविरमा फेला परेका मोतियाविन्दुका रोगीको अप्रेसन गर्न आएका डा. रुईतले सोमबार विहानदेखि बुधबार अवेर रातिसम्म अप्रेसन गरेका थिए ।
तिलगङ्गा आँखा अस्पतालका निर्देशकसमेत रहेका डा. रुईत भिजन हिमालय फाउन्डेसनको साझेदारीमा नगरपालिकाले आयोजना गरेको शिविरमा तिलगङगाकै प्राविधिक टोली लिएर आएका थिए । उनीसहित ३ जना विशेषज्ञ डा. को टोलीले पुस २८, २९ र ३० गते लगातार ३ दिनसम्म मोतियाविन्दुका रोगीको आँखा अप्रेसन गरेर गुमिसकेको ज्योति फर्काएका हुन् ।
डा. रुईतलाई बोलाउनेगरि उदयपुरका चौदण्डीगढी, त्रियुगा र बेलका नगरपालिकाका विभिन्न वडामा ७ दिन आँखा परीक्षण तथा ३ दिन अप्रेसन गरि १० दिने शिविर सञ्चालन गरिएको हो । पुस १९ गते चौदण्डीगढी १ र ८ बाट एकैचोटी सुरु शिविरमा ३ हजार ८ सय ९१ जनाको आँखा परीक्षण गर्दा ५ सय ५९ जनामा मोतियाविन्दु फेला परेको थियो ।
शिविरमा भेटिएका मोतियाविन्दुका रोगीलाई तिलगङ्गाको प्राविधिक टोलीले निशूल्क प्राविधिक तथा चौदण्डीगढी नगरले निःशूल्क औषधि र चश्मालगायत उपकरणको जोहो गरेको हो । चौदण्डीगढी ६ सातधारेस्थित साविक कोविड अस्पतालमा राखिएको अप्रेसन शिविरमा डा. रुइतसहितको टोलीले २८, २९ र ३० सम्मा ४ सय ३८ जनाको आँखाको सफल अप्रेसन गरेको छ ।
चौदण्डीगढी ४ का वडाध्यक्ष तथा शिविर आयोजक संयोजक लुङ्गराज राईका अनुसार परीक्षण गर्दा ५ सय ५९ जनामा मोतियाविन्दु भेटिए पनि अप्रेसन गर्दा १ सय २१ जना भने अनुपस्थित भए । उपस्थित भएका ४ सय ३८ जनाले भने अप्रेसन सफल भएर सबैले गुमेको ज्योति पाईसकेको राईले बताए ।
गुमेको आँखाको ज्योति फकाईदिएका डा. रुईतलगायत उनको टोली र हिमालय भिजनका सरोकारवालाहरुलाई मेयर, उपमेयर, वडाध्यक्षलगायत जनप्रतिनिधि तथा प्रमुख प्रशासकीय अधिकृत काजीमान राईलगायत कर्मचारी टोलीले ‘फेरि भेटौँला’ कार्यक्रममार्फत विदाई गरेको थियो ।
प्रकाशित: २ माघ २०८२ १६:०३ शुक्रबार





