१ चैत्र २०८२ आइतबार
image/svg+xml
राजनीति

एमाले नेता थापाको निधन प्रति ओली- ४० वर्ष पुरानो साथी गुमाएँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका केन्द्रीय सदस्य एवं कास्की जिल्लाका पूर्व अध्यक्ष कृष्ण थापाको निधनप्रति दुःख व्यक्त गरेका छन्।

पञ्चायती व्यवस्थाविरोधी आन्दोलनका क्रममा सँगै जेल जीवन बिताएका ४० वर्ष पुरानो साथी गुमाउँदा आफू मर्माहत भएको उनले बताए।

बिहीबार सामाजिक सञ्जालमार्फत शोक व्यक्त गर्दै ओलीले थापालाई एक असल कमरेडका रूपमा स्मरण गरेका छन्।

उनले लेखेका छन्, ‘पोखराका पूर्व मेयर कृष्ण थापाको निधनको दुःखद् खबर सुनेँ। उहाँ हाम्रो पार्टीको केन्द्रीय सदस्य हुनुहुन्थ्यो। मेरा लागि उहाँ पार्टीको केन्द्रीय सदस्य मात्रै होइन, २०३९ सालदेखिको साथी हुनुहुन्थ्यो।’

निरंकुश व्यवस्थाविरुद्ध जेल जीवनका क्रममा आफूलाई पोखरा कारागार सारिँदादेखि नै थापासँग मित्रता गाँसिएको उनले सुनाए। थापाको निधनले पार्टीलाई अपूरणीय क्षति पुगेको बताउँदै उनले थपे, ‘उहाँको निधनबाट हामीले असल कमरेड मात्र गुमाएका छैनौं, यसले पार्टीलाई क्षति पुर्‍याएको छ। दिवंगत कृष्ण थापाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु।’

एमालेको गढ मानिने कास्कीमा प्रतिनिधि सभा सदस्य निर्वाचन-२०८२ मा पार्टी ‘क्लिन स्विप’ भएपछि बिहीबार जिल्ला कमिटीको समीक्षा बैठक राखिएको थियो। सोही बैठक चलिरहेकै बेला हृदयघात भएर थापाको निधन भएको हो।

पार्टीको कास्की जिल्ला संयोजन गर्ने जिम्मेवारीमा रहेका उनी बैठकमा आफ्नो भनाइ राखेर बसिरहेका थिए। बैठकको अन्त्यतिर एक्कासि असहज महसुस गरेका उनी कुर्सीमा बसेकै बेला बेहोस भएका थिए।

एमाले कास्कीका अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीका अनुसार बेहोस भएलगत्तै उनलाई ९ मिनेटभित्रै कारमा राखेर मनिपाल शिक्षण अस्पताल पुर्‍याइएको थियो।

अध्यक्ष अधिकारीले भने, ‘समीक्षा बैठक सकिएर उठ्ने बेलामा असहज भयो भन्नुभएको थियो। कुर्सीमा बसेकै बेला उहाँ बेहोस हुनुभयो। अस्पताल लगेर चेकजाँच गर्दा रिपोर्ट नकारात्मक आयो र चिकित्सकले धेरै प्रयास गर्दा पनि बचाउन सकिएन।’

थापालाई ‘लो ब्लड प्रेसर’ को समस्या रहेको बताइए पनि उनले त्यसको नियमित औषधि प्रयोग गरे वा नगरेको भने खुल्न सकेको छैन।

प्रकाशित: २८ फाल्गुन २०८२ २२:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App