शैलुङ डाँडामा चुर्लुम्मै
छिनमै घाम, छिनमै बादल। कहिले कुहिरो र सिर्सिरे बतास। एकै छिनमा पानी नै बर्सिन पनि के बेर ! चिसो याममा बुरबुरती खस्ने हिउँको सौन्दर्य त अवर्णनीय छँदै छ। पहिलोचोटि शैलुङ पुग्दा मनमा लाग्यो, ‘सुन्दर चञ्चलतासहित प्रकृतिको उन्मत्त बैँस प्रदर्शित हुने कुनै दिव्य क्रीडास्थलमा पो छु कि म ?’ सय वटा थुम्काका लुङ शैलुङ, त्यो पनि मालाका लुङजस्तै लहरलहरमा मिलेका। कतै जोल्ठिएजस्ता, कतै अङ्कमाल गरेजस्ता र कतै आपसमा मिलेर टाँसिएजस्ता । अनेक बान्कीका थुम्काहरू। जता हे¥यो त्यतै कलात्मक परिदृश्य। हेरेर र घुमेर त, खै को पो अघाउला र यहाँ पुग्नेहरू जस्तो लाग्ने। मेरो मन पनि लुटपुटिनुसम्म लुटपुटिरह्यो। आँखाहरूले तनतनी सौन्दर्य पिई नै रहे, नथाकी।