२५ असार २०८१ मंगलबार
image/svg+xml
खेल

एथ्लेटिक्सः चन्द्रकलाद्वारा नयाँ कीर्तिमान

दाङ - आठौं राष्ट्रिय खेलकूदअन्तर्गत ४४ औं राष्ट्रिय एथलेटिक्सको महिला ज्याभ्लिन थ्रो मा नेपाल पुलिस क्लबकी चन्द्रकला लाम्गाडेले शुक्रबार राष्ट्रिय कीर्तिमान कायम गरेकी छन्। दाङको बेल्झण्डीमा भएको स्पर्धामा चन्द्रकलाले ४४.०५ मिटर थ्रो गर्दै आफ्नै नाममा रहेको कीर्तिमानलाई सुधार गर्दै नयाँ कायम गरेकी हुन्। 

यस अघि राईले इटहरीमा भएको राखेप च्याम्पियनसिपमा चन्द्रकलाले ४३.९४ मिटरको कीर्तिमान बनाएकी थिइन्। पहिलो दिन बिहीबार चन्द्रकलाले सटपुटमा पनि कीर्तिमानी स्वर्ण जितेकी थिइन्। आर्मीकी लक्ष्मी थारु दोस्रो र एपिएफकी सीमाकुमार थारु तेस्रो भए। सोही स्पर्धाको पुरुष तर्फको खेलमा रोहित चौधरील ५६.५८ मिटर टाढा फाल्दै पहिलो बने। एपीएफका मनोज डगौरा दोस्रो तथा पुलिसका वीरेन्द्र चौधरी तेस्रो बने।

पुरुष १ हजार ५ सय मिटर दौडमा आर्मीका टंक कार्कीले ४ मिनेट १.९ सेकेन्डमा दूरी पार गर्दै स्वर्ण पदक हात पारे। आर्मीकै उमेश मगरले रजत तथा एपीएफका सन्तोष विष्टले कांस्य जिते। महिला तर्फ भने आर्मीकी सरस्वती भट्टराईले स्वर्ण पदक हात पार्दा प्रदेश ३ की सन्तोषी श्रेष्ठले रजत र एपीफकी फुलमती राणाले कास्य पदक हात पारे।

पुरुष लङजम्पमा आर्मीका डिल्ली खत्री ६.९६ मिटर पार गर्दै पहिलो प्रदेश ३ का भुवन महतो दोस्रो र पुलिसका गोपाल चौधरी तेस्रो बने। सोही स्पर्धाको महिलामा ५.२१ मिटर हाम्फालेर आर्मीकी कृष्णा चौधरी पहिलो, एपीएफकी शिला चौधरी दोस्रो तथा प्रदेश ५ की जयरानी चौधरी तेस्रो भए।

ब्याडमिन्टनः एपिएफको मिश्रित जोडी फाइनलमा
मिश्रित युगल स्पर्धामा विभागीय टोली एपिएफका दुबै जोडी आठौं राष्ट्रिय खेलकुद अन्तरगतको ४० औं राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा फाईनल प्रवेश गरेका छन्।

दाङको घोराही स्थित कभर्डहलमा शुक्रबार सम्पन्न खेलमा एपिएफका पुजा श्रेष्ठ र दिपेश धामीको जोडी तथा जेशिका र गौतम सिंह कठायतले आ–आफ्ना जोडीलाई हराउँदै फाइनलमा स्थान बनाउन सफल भएका हुन्।

पुजा र दिपेशले आर्मीका अमिता गिरी र नविन श्रेष्ठको जोडीमाथि १६–२१, २१–९,२१–११ को रोमाञ्चक जित निकाल्दा जेशिका र गौतमको जोडीले आर्मीका अनुमाया राई र रत्नजित तामाङको जोडी माथि १०–२१, २१–१९, २१–१७ संघर्ष पूर्ण जित निकाल्न सफल भएका हुन्।
शुक्रबारै सम्पन्न पुरुष एकल तर्फको खेलमा आर्मीका लागि रत्नजित तामाङले सुदूरपश्चिमाञ्चलका प्रिन्स दाहाललाई २१–११, २१–९ को सोझो सेटमा पराजित गर्दै फाइनलमा स्थान बनाए। एकल तर्फकै खेलमा दीपेश धामीले प्रदेश एक का विकास श्रेष्ठलाई २१–११, २१– १५ को सेटमा हराउँदै रत्नजितसँगको भेट पक्का गरे।

उता महिला एकलको फाईनलमा आर्मीकी खेलाडीद्वय नङशल देवी तामाङ र रशिला महर्जनले उपाधिका लागि भिड्ने भएका छन्। नङशलले प्रदेश १ की सिता राईलाई २१–१७, २१–९ तथा रशिलाले आफ्नै क्लबकी अनुमाया राईलाई २१–१७, २१– १८ ले हराउँदै अन्तिम दुईमा स्थान बनाउन सफल भएकी हुन्।

पुरुष जोडी तर्फ एपिएफका दिपेश धामी र विजित थापामगरको जोडीले एपिएफका सुरोज महर्जन र प्रफुल महर्जनको जोडीलाई २१–१३, २१–१२ ले पराजित गर्दै आर्मीका रत्नजित र नविन श्रेष्ठकोे भिडन्त पक्का गरे। यसै गरि महिला युगल तर्फ पनि आर्मीकी नङ्शल देवी तामाङ र अनुमायाको जोडीले प्रदेश १ का सिता राई र सिमा राजबंशीको जोडी माथि २१–१२, २१–१८ को जित निकाल्दै फाईनलमा एपिएफका पुजा श्रेष्ठ र जेशिका गुरुङसँगको भेट पक्का गरे। पुजा र जेशिकाको जोडीले आर्मीका अमिता गिरी र रशिला महर्जनको जोडीलाई २१– १६, २१–१८ हराए।

ह्यान्डबल: गण्डकीलाई सफलता
आठौंअन्तर्गत राष्ट्रिय ह्यान्डबलको पुरुषमा गण्डकीले सुदूरपश्चिम प्रदेशलाई ४३–१५, आर्मीले कर्णाली प्रदेशलाई ४७–१०, प्रदेश १ ले प्रदेश २ लाई २८–१४ र एपीएफले प्रदेश ३ लाई ३९–२३ ले पराजित गरे। महिलामा गण्डकीले प्रदेश ५ लाई २२–४ र प्रदेश ३ लाई १५–४, आर्मीले कर्णालीलाई ५४–२, सुदूरले प्रदेश २ लाई ७–२ तथा एपीएफले प्रदेश १ लाई २८–१० ले हराए। पुरुष÷महिला दुवैमा सातै प्रदेश, आर्मी र एपीएफ गरी ९ टिम सहभागी छन्।

सेपकताक्रो: प्रदेश ३ समूह विजेता
बर्दिया, वैशाख ६ (नागरिक)– सेपाकताक्रोको महिला रेगुमा प्रदेश ३ समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा पुगेको छ। दोहोरो जित हात पारेको प्रदेश ३ ले गण्डकीलाई २–० तथा प्रदेश ५ लाई २–० को सोझो सेटमा पराजित ग¥यो। तीन टिम रहेको यो समूहबाट प्रदेश ४ ले प्रदेश ५ लाई २–० को सीधा सेटमा हराउदै उपविजेताका रुपमा सेमिफाइनलमा स्थान बनायो। समूह ‘बी’ को लिगमा आर्मीले प्रदेश १ लाई २–० ले स्तब्ध बनायो। बर्दियाको गुलरियामा भइरहेको प्रतियोगिताको पुरुष रेगुमा सुदूरपश्चिम प्रदेशले प्रदेश ३ लाई र प्रदेश १ लाई समान २–१, प्रदेश ३ ले प्रदेश १ लाई २–० र आर्मीले प्रदेश ५ लाई २–० को सेटमा निराश पारे।

महिला क्रिकेट: एपीएफ सेमिफाइनलमा
आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटमा एपिएफले शुक्रवार प्रदेश नम्बर ३ लाई हराउँदै एफिएफ सेमिफाइनलमा स्थान बनाएको छ।

दाङको लमही क्रिकेट मैदानमा भएको महिला क्रिकेट प्रतियोगितामा एपिएफले प्रदेश नम्बर ३ लाई ९ विकेटले हराएको हो। टस जितेर पहिला ब्याटिङ गरेपछि दिएको ३५ रनको झिनो लक्ष्य विभागीय टोली एपिएफले मात्र ५.२ ओभरमा १ विकेट गुमाएर भेटाउँदा फराकिलो जित निकाल्न सफल भएको हो। यस्तै प्रदेश ५ ले गण्डकी प्रदेशलाई हराउँदै जारी प्रतियोगितामा पहिलो जित निकाल्न सफल भएको छ। निर्धारित २० ओभरको समाप्तिमा ४ विकेट गुमाएर प्रस्तुत गरेको १ सय ७० रनको लक्ष्य भेटाउने क्रममा गण्डकीले २० ओभरमा मात्र ६८ रन जोड्दा प्रदेश ५ १ सय १ रनले विजयी भएको हो।

महिला फुटबलः विभागीय टोलीलाई सफलता
आठौं राष्ट्रिय खेलकूद अन्र्तगत महिला फुटबलमा प्रदेश ३ ले दोस्रो जित निकाल्दा पुलिस, आर्मी र एपिएफले पनि सफलता हात पारेका छन्। शुक्रबार वेलझुण्डी रंगशालामा प्रदेश २ लाई ३–१ गोल अन्तरले पराजित गरेको हो। प्रदेश ३ को जीतमा पार्वती घलेले २ तथा मनिषा थापा मगरले एक गोल गरेकी थिइन्। प्रदेश २ की निकिता ठोकरले सान्त्वना गोल गरिन्। यसअघि शुक्रबार विहान भएको पहिलो खेलमा नेपाल पुलिस क्लव विजयी भयो। भरतपुर मैदानमा भएको खेलमा प्रदेश ५ लाई ६–० गोलले पुलिसले पराजित गरेको थियो। पुलिसकी निरु थापाले ह्याट्रिक गरिन भने अमृता जैशीले दुई तथा निर्मला बिकले एक गोल गरे। उता कपिलवस्तुको बाणगंगा नगरपालिका स्थि बुद्ध रंगशालामा भएको खेलमा त्रिभुवन आर्मी र एपीएफले जित निकाले। शुक्रवार भएको पहिलो खेलमा आर्मीले प्रदेश १ एक ८–० ले पराजित गर्दा दोस्रो खेलमा एपिएफले गण्डकी प्रदेशलाई ११–० ले हरायो।

प्रकाशित: ७ वैशाख २०७६ ०३:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App