संसदीय समितिमा विधेयकको चाङ
प्रतिनिधिसभा र राष्ट्रियसभामा आएका विधेयक संसदीय समितिमा थुप्रिन थालेका छन्। दोस्रो र तेस्रो अधिवेशनबाट समितिमा पठाइएका विधेयकहरू नै समितिबाट निर्णय गर्न बाँकी रहँदा थप विधेयक पठाउने तयारी भएको हो। प्रतिनिधिसभाको सोमबारको बैठकमा एकैपटक आठ विधेयक प्रस्तुत गर्ने सम्भावित कार्यसूची तय गरिएको छ। यी सबै विधेयकहरूलाई प्रक्रिया छलफल र संशोधन प्रक्रिया सकिएपछि थप छलफलका लागि समितिमा पठाइने तयारी भएको संसद् सचिवालयले जनाएको छ। अघिल्ला अधिवेशनबाटै रोकिदै आएका विभिन्न २३ विधेयक टुंगो लाग्न नपाउँदै थप विधेयक समितिमा जान लागेका हुन्।
