४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

राष्ट्रियसभाबाट पाँच विधेयक पारित

फाइल तस्बिर

काठमाडाैं- राष्ट्रियसभाको साेमवारको बैठकले पाँच विधेयक सर्वसम्मतिले पारित गरेको छ। सभाको बैठकले सार्वजनिक–निजी साझेदारी तथा लगानी विधेयक २०७५, नागरिक लगानी कोष (दोस्रो संशोधन) विधेयक २०७५, लेखापरीक्षण विधेयक २०७५, जीवनाशक विषादी व्यवस्थापन विधेयक २०७५ र विशेष आर्थिक क्षेत्र (पहिलो संशोधन) विधेयक २०७५ सर्वसम्मतिले पारित गरेको हो। 

यसैगरी प्रदेश लोकसेवा आयोग (आधार र मापदण्ड निर्धारण) विधेयक २०७५ लाई प्रतिनिधिसभाबाट भएको संशोधन स्वीकारसहित पुनःपारित गरिएको छ । बैठकले उक्त विधेयक सर्वसम्मतिले पुनःपारित गरेको हो। बैठकमा प्रधानमन्त्रीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले उक्त संशोधन स्वीकार गरी पुनःपारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेकाे थियो। 

बैठकमा प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री डा युवराज खतिवडाले ‘सार्वजनिक–निजी साझेदारी तथा लगानी विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए। उनले नै ‘नागरिक लगानी कोष (दोस्रो संशोधन) र ‘लेखापरीक्षण विधेयकसम्बन्धी प्रस्ताव प्रस्तुत गरेका थिए। कृषि तथा पशुपक्षी विकासमन्त्रीका तर्फबाट डा खतिवडाले नै ‘जीवनाशक विषादी व्यवस्थापन विधेयकसम्बन्धी प्रस्ताव प्रस्तुत गरेका थिए। 

त्यस्तै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले ‘विशेष आर्थिक क्षेत्र (पहिलो संशोधन) विधेयकसम्बन्धी प्रस्ताव प्रस्तुत गरेका थिए। 

सदस्यता हेरफेर 

विषयगत समितिका दुई सदस्यको सदस्यता हेरफेर गरिएको छ। सांसद प्रकाश पन्थ र बद्रीप्रसाद पाण्डेको सदस्यता हेरफेर गरिएको हो। सांसद पन्थ राष्ट्रिय सरोकार तथा समन्वय समितिबाट विधायन व्यवस्थापन समितिमा र सांसद पाण्डे विधायन व्यवस्थापन समितिबाट राष्ट्रिय सरोकार समितिका सदस्य बनेका छन्।

राष्ट्रियसभाको अर्को बैठक यही चैत ५ गते अपराह्न १ बजे बस्नेछ। रासस

प्रकाशित: ४ चैत्र २०७५ १०:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App