नेकपा एमालेका सचिव महेश बस्नेतले भदौ २३ गतेको घटनालाई लिएर लासको राजनीति नगर्न चेतावनी दिएका छन्।
सोमबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै बस्नेतले विदेशी शक्ति र तिनका दलालको उक्साहटमा लागेर समाजलाई उत्तेजित बनाउने काम भइरहेको दाबी गरेका हुन्।
देशमा भएका हिंसात्मक घटना र मानवीय क्षतिलाई लिएर भइरहेको टीकाटीप्पणीप्रति असन्तुष्टि जनाउँदै उनले भनेका छन्, ‘विदेशीको दलालको कुरा सुनेर लासको राजनीति नगरौँ।’
सचिव बस्नेतले घटनालाई योजनाबद्ध रूपमा भड्काइएको दाबी गरेका छन्। सामाजिक सञ्जालमा उत्तेजना फैलाउने स्टाटस लेख्ने, ‘पानी बाँड्छु’ भन्दै भीड जम्मा गर्ने र आगजनी हुँदा दमकल नपठाउने जस्ता कार्यहरू संयोग मात्र नभई सुनियोजित भएको उनको जिकिर छ।
‘कागले कान लग्यो भन्नुभन्दा पहिले आफ्नै कान छामौँ,’ बस्नेतले लेखेका छन्, ‘मानिस भड्काउने उद्देश्यले योजनाबद्ध रूपमा गतिविधि गराइएको छ। केही पत्रकार तथा कलाकारका भड्काउपूर्ण अभिव्यक्ति र प्रस्तुतिले पनि द्वन्द्व चर्काउन भूमिका खेलेका छन्।’
घटनाको दोष तत्कालीन सरकार र प्रहरीलाई मात्र थुपार्नुअघि संयमित हुन बस्नेतले आग्रह गरेका छन्। सत्यतथ्य बाहिर ल्याउन कार्की आयोगले छानबिन गरिरहेको भन्दै उनले आयोगको प्रतिवेदन कुर्न सुझाव दिए।
‘सहिद घोषणा जस्तो संवेदनशील विषयमा उचित र निष्पक्ष छानबिन आवश्यक छ,’ उनले भनेका छन्, ‘मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेको उपचार र पीडितलाई राहतको व्यवस्था चुनावपछिको सरकारले गर्नुपर्छ। साथै, घटनामा संलग्न दोषी जोसुकै भए पनि कारबाहीको दायरामा ल्याउनै पर्छ।’
प्रकाशित: १२ माघ २०८२ २१:३९ सोमबार





