१४ माघ २०८२ बुधबार
image/svg+xml
राजनीति

कांग्रेस हराउने शाही राष्ट्रिय सभामा

नेपाली कांग्रेसका कर्णाली प्रदेश सभापति ललितजंग शाही आइतबार राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका छन्। शाहीले ३ हजार २ सय ७८ मतभार प्राप्त गर्दै विजयी बनेका हुन्। उनका प्रतिद्वन्द्वी नेकपाका बुद्धीप्रसाद शर्माले १ हजार ६ सय ३९ मतभार मात्रै प्राप्त गरे।

महिलातर्फ एमालेकी मीना सिंह रखालले ३ हजार १ सय ४५ मतभारसहित जित हात पारिन्। उनकी प्रतिद्वन्द्वी नेकपाकी अन्जु महतरा शाहीले १ हजार ७ सय ३४ मतभार प्राप्त गरिन्।

जुम्लाको चन्दननाथ नगरपालिका–५ मा स्थायी घर भएका शाही २०७९ सालको प्रदेशसभा सदस्य निर्वाचनमा जुम्ला (१) बाट पराजित भएका थिए। तत्कालीन नेकपा माओवादी केन्द्र र कांग्रेसबीच गठबन्धन रहे पनि उनले आफ्नै बागी उम्मेदवार देवेन्द्रबहादुर शाहीसँग पराजय भोग्नुपरेको थियो।

तर राष्ट्रियसभा सदस्य निर्वाचनमा एमालेसँगको तालमेलका कारण उनी विजयी बने। थोरै संख्यामा मतदाता हुने र पार्टी नेतृत्वद्वारा निर्देशित मतदाताले मतदान गर्ने संरचनाले पनि उनको जित सहज बनेको टिप्पणी गरिन्छ। परिस्थितिको सही विश्लेषण गरेर चुनावी मैदानमा उत्रिएको रणनीतिले शाहीको राष्ट्रियसभाको यात्रा सफल भएको कतिपयको बुझाइ छ।

शाही कांग्रेसलाई पटकपटक धोका दिएको आरोप लाग्ने नेताका रूपमा पनि चिनिन्छन्। रामचन्द्र पौडेल समूहबाट देउवा समूहमा आएपछि उनको राजनीतिक यात्रामा सफलता थपिएको देखिन्छ। २०५१ सालमा उनले कांग्रेसका आधिकारिक उम्मेदवार लाल हमालविरुद्ध बागी उम्मेदवारी दिएका थिए। ‘हाँस’ चुनाव चिह्न लिएर कांग्रेसकै उम्मेदवारविरुद्ध चुनाव लडेपछि कांग्रेसले जित्न सक्ने चुनाव पनि हारेको कांग्रेसीहरू बताउने गर्छन्।

२०५६ सालको निर्वाचनमा पनि उनी कांग्रेसका उम्मेदवार दीनबन्धु श्रेष्ठविरुद्ध बागी बने। त्यो निर्वाचनमा पनि उनको चुनाव चिह्न ‘हाँस’ नै थियो। दीनबन्धु श्रेष्ठ झिनो मतले पराजित भएपछि शाहीलाई ‘कांग्रेस हराउने हाँस’ को रूपमा चिनिन थालिएको थियो। यही ‘हाँस’ चिन्हबाट चर्चित बनेका शाही अहिले भने राष्ट्रियसभाको सदस्यमा निर्वाचित भएका छन्।

शाहीले दुईपटक बागी उम्मेदवार बनेर कांग्रेसलाई धोका दिए पनि दुईपटक कांग्रेसको आधिकारिक उम्मेदवार बनेर विजयी हुने अवसरसमेत पाएका थिए। २०७० सालको संविधानसभा सदस्य निर्वाचनमा उनले तत्कालीन एमालेका पदमबहादुर रोकाया र माओवादी केन्द्रका गजेन्द्रबहादुर महतलाई पराजित गरेका थिए। एक कांग्रेस नेताका अनुसार, ‘उनले दुईपटक पार्टीलाई धोका दिए, तर पार्टीले नै दुईपटक जित्ने अवसर पनि दियो।’

केन्द्रीय नीतिअनुसार कर्णालीमा पनि कांग्रेस र एमालेबीच गठबन्धन भएको थियो। एमालेबाट मीना सिंह रखाल र कांग्रेसबाट ललितजंग शाही उम्मेदवार बनेका थिए। जुम्ला कांग्रेसका उपसभापति कार्मा बुढाले शाहीको जितसँगै जिल्लामा कांग्रेसजनमा उत्साह बढेको प्रतिक्रिया दिए।

शाही जुम्लाबाट नेपाली कांग्रेसको इतिहासमै पहिलो संविधानसभा निर्वाचन जित्ने नेता हुन्। प्रचारभन्दा काममा विश्वास गर्ने उनी संविधानसभामा रहँदा जुम्लाको दीर्घकालीन विकासका लागि ऊर्जा क्षेत्रलाई प्राथमिकतामा राखेका थिए। आर्थिक वर्ष २०७१ र ०७२ को बजेटमा जुम्लामा पाँच मेगावाट विद्युत् उत्पादनको व्यवस्था उनको पहलमा समावेश भएको थियो।

योजना कार्यान्वयनमा ढिलाइ भएपछि उनी सर्वोच्च अदालतसम्म पुगेका थिए। अदालतबाट विद्युत् उत्पादन गर्न सरकारलाई परमादेश जारी भएको थियो। उनका अनुसार जुम्लामा विद्युत् विकास नहुनु उद्योग, रोजगारी र समृद्धिको ढोका बन्द हुनु हो। राष्ट्रियसभा सदस्य बनेपछि पनि उनको प्राथमिकता ऊर्जा क्षेत्रमै रहने बताएका छन्।

‘म पद र भत्ताका लागि राजनीतिमा आएको होइन, अधुरा काम पूरा गर्न र जुम्ली जनतासँग गरेका प्रतिबद्धता पूरा गर्न आएको हुँ,’ शाहीले भने।

उनको पहलमा जुम्ला–रारा सडक खण्ड, उर्थु पुल, छिनासँगु पुल, ताम्ती जाने कुडारी पुलजस्ता पूर्वाधार आयोजना अघि बढेका छन्। गठबन्धन राजनीतिमा स्पष्ट र सन्तुलित दृष्टिकोण राख्ने शाहीले गठबन्धनलाई संस्थागत रूपमा सफल बनाउनु सबै दलको साझा दायित्व भएको बताए।

अनुभव, निरन्तरता र संस्थागत राजनीतिमा विश्वास गर्ने शाहीले राष्ट्रियसभा सदस्यका रूपमा कर्णालीका मुद्दा राष्ट्रिय तहमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रकाशित: १२ माघ २०८२ २१:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App