१८ फाल्गुन २०८२ सोमबार
image/svg+xml
समाज

जुम्लामा निर्वाचन प्रहरी मागभन्दा बढी, ४५३ वैकल्पिक

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षाका लागि जुम्लामा मागभन्दा बढी निर्वाचन प्रहरी उत्तीर्ण भएका छन्। ९ सय ७४ जनाको कोटा तोकिएको जुम्लामा १ हजार ४ सय २७ जना निर्वाचन प्रहरी उत्तीर्ण भएपछि ४ सय ५३ जनालाई वैकल्पिक (रिजर्भ) जनशक्तिका रूपमा राखिएको छ।

जिल्ला प्रहरी प्रमुख डिएसपी रबिनबाबु रेग्मीका अनुसार न्यूनतम पास अंक प्राप्त गरेका सबै उम्मेदवारलाई केन्द्रको निर्देशनअनुसार वैकल्पिक सूचीमा समावेश गरिएको हो। उनका अनुसार जुम्लाका लागि आवश्यक जनशक्ति पूरा भइसकेको छ र अन्य जिल्लाबाट माग आएमा पठाउन सकिने गरी तयारी अवस्थामा राखिएको छ।

कर्णाली प्रदेशका सबै १० जिल्लामा कोटाभन्दा बढी आवेदन परेकाले प्रदेशभित्र जनशक्ति अभाव नदेखिएको डिएसपी रेग्मीले बताए। तर गण्डकी र सुदूरपश्चिम प्रदेशका केही जिल्लामा कोटाअनुसार निर्वाचन प्रहरी नपुगेको जानकारी आएकाले जुम्लाबाट पनि जनशक्ति पठाउन सकिने सम्भावना रहेको उनले उल्लेख गरे।

हाल ४ सय ५३ जना वैकल्पिक जनशक्तिका रूपमा राखिएका छन्। केन्द्रबाट माग आउनेबित्तिकै रोलक्रमका आधारमा फोनमार्फत छनोट गरी पठाइने र यससम्बन्धी परिपत्रसमेत जारी भइसकेको डिएसपी रेग्मीले जानकारी दिए।

जुम्लाका लागि ३ सय ८६ महिला र ६ सय ६ जना पुरुष निर्वाचन प्रहरी छनोट भइसकेका छन्। यसका साथै ९६ जना सशस्त्र प्रहरी पनि निर्वाचन सुरक्षामा खटिने गरी छनोट भएका छन्। निर्वाचन प्रहरीका लागि कुल १ हजार ८ सय ९४ जनाले दरखास्त दिएका थिए।

जिल्लाका लागि आवश्यक जनशक्तिलाई माघ १५ गते नियुक्ति प्रदान गरी तालिममा परिचालन गर्ने तयारी छ। माघ २५ गतेसम्म तालिम सम्पन्न गरी उनीहरूलाई निर्वाचन सुरक्षामा खटाइने डिएसपी रेग्मीले बताए।

भौगोलिक रूपमा विकट मानिने जुम्लामा यसपटक निर्वाचन सुरक्षाका लागि पर्याप्तभन्दा बढी जनशक्ति तयारी अवस्थामा रहनुले निर्वाचन शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गर्न सहज हुने अपेक्षा गरिएको छ।

 

प्रकाशित: १२ माघ २०८२ २१:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App