प्रतिनिधिसभा निर्वाचनका लागि खटिएका कर्मचारी र सुरक्षाकर्मी सवार गाडी रामेछापमा भीरबाट खसेको छ। जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार रामेछाप नगरपालिका–२ सिरुबारीबाट करिब १०० मिटर तल ना ७ ख ६७६८ नम्बरको गाडी खसेको हो।
उक्त गाडीमा निर्वाचनमा खटिएका कर्मचारी, मतदान अधिकृत, सुरक्षाकर्मी सहित निर्वाचन सामग्री रहेको जनाइएको छ।
प्रहरीका अनुसार फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मतपेटिका तथा अन्य सामग्री लिएर मन्थलीबाट रामेछाप नगरपालिका–२ र ३ का मतदान केन्द्रतर्फ जाँदै गर्दा गाडी देउराली सिरुबारीको भिरबाट खसेको प्रारम्भिक जानकारी प्राप्त भएको हो।
दुर्घटनामा गाडीमा कति जना सवार थिए भन्ने यकिन हुन सकेको छैन। घटनास्थलमा उद्धार गर्न प्रहरी परिचालन गरिएको प्रहरीले जनाएको छ।
प्रकाशित: १८ फाल्गुन २०८२ १७:२९ सोमबार





